समाचारमा बालबालिका

हराएको साढे ४ महिनापछि विद्यार्थीको कंकाल फेला

हराएको साढे ४ महिनापछि घना जंगलको बीचमा दुइ स्कुले विद्यार्थी (छात्रा) को कंकाल एकै ठाउँमा भेटिएको छ । सुन्दरबजार नगरपालिका ५, खहरेको विद्याज्योति मावि कक्षा ९ मा पढ्ने १६ बर्षीया प्रीति गुरुङ र १५ बर्षीया कृति गुरुङको शवका कंकाल भेटिएको हो । सुन्दरबजार नगरपालिका ५, स्थित थाक्ले सामुदायिक बनको हुँडखोलाको जंगलमा फेला परेको कंकाललाई लुगा, चप्पल लगायतको माध्ययमबाट स्थानीयले पहिचान गरेका थिए । उक्त कंकालको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम हुन नसकी आइतबार शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन्दरबजारस्थित ईलाका प्रहरी कार्यालयबाट ५ किलोमीटरको दुरीको जंगलमा कंकाल फेला परेको हो । स्थानीयले हराएका २ जना विद्यार्थीको कंकाल रहेको पहिचान गरेका छन् । 

विद्यालयका शिक्षक हस्तबहादुर गुरुङका अनुसार यी दुई विद्यार्थी मिल्ने साथी हुन् । लमजुङको मालिङ घर भएका प्रीति सुन्दरबजार ७, सुन्दरबजारको मामा घर बसेर पढ्दै आएकी थिइन् । पुख्यौली घर सुन्दरबजार पारीपट्टी तनहुँको भानु नगरपालिका १०, रुपाकोट घर भएका कृति परिवारका साथ सुन्दरबजारमा बसेर पढ्दै आएकी थिइन् । शनिबारको दिन साउन २० गते बेंसीसहर नजिकैको आकाशे झरना घुम्न निस्किएका उनीहरु त्यसयता घर फर्केका थिएनन् । स्थानीय र प्रहरीले खोजी गर्दा पनि उनीहरु भेटिएका थिएनन् । घर परिवारसंग उनीहरुले मोवाइल लगेको विषयमा सामान्य भनाभन भएपछि सुन्दरबजार फर्केपनि घर नगई उनीहरु जंगलतर्फ गएको हुनसक्ने स्थानीयले बताएका छन् । शुक्रबार घाँसदाउरा गर्न गएका स्थानीयले उक्त कंकाल देखेपछि गाउँलेलाई खबर गरेका थिए । गाउँले सवै गएर हेरेपछि उनीहरुको पहिचान भएको स्थानीयले बताएका छन् । त्यसपछि प्रहरीलाई शनिबार बिहान खबर गरिएको थियो । कटुसको रुखमा खदा गाँठो परेर झुण्डिरहेकाले उनीहरुले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीले उनीहरुले आत्महत्या गरेको हुनसक्ने बताएपछि अनुसन्धान थालिएको बताएको छ । ‘हामीले अनुसन्धान थालेका छौं । पोष्टमार्टम रिपोर्टले के भन्छ हेरौं’ एक प्रहरी अधिकृतले भने । 

२०७४ पुस ३ गते प्रकाशित