समाचारमा बालबालिका

दिवा खाजाले घटायो पत्रु खाना

सोलुखुम्बूका विभिन्न विद्यालयमा खुवाउन थालिएको दिवा खाजा विद्यार्थीको नियमितता, पत्रु खाना (जंकफुड)उपभोग न्यूनीकरण र स्वास्थ्य सुधारमा सहायक बन्दै गएको छ। कतिपय स्कुलले विद्यार्थीको नियमित उपस्थितिका लागि दिवा खाजा सुरु गरे पनि कतिपयले पत्रु खाना न्यूनीकरणका लागि सुरु गरेका छन्। गत वर्ष स्थानीय सरकारको आर्थिक सहयोगमा थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमस्थित जनता माविमा सुरु गरिएको दिवा खाजाले चालु शैक्षिक सत्रमा पनि निरन्तरता पाएको छ। अभिभावकसँगको सहकार्यमा सुरु दिवा खाजाले स्कुल समयमा विद्यार्थी कक्षाकोठामै रहने वातावरण बनेको प्रध्यानाध्यापक हस्तबहादुर राईले बताए। उनले भने, ‘घरायसी बाध्यताले भोको पेट विद्यालय आउने र बीचमै कक्षा छाडेर जाने विद्यार्थीलाई ध्यानमा राखी दिवा खाजा सुरु गर्‍यौं, यसले कक्षा छाड्ने छाड्ने विद्यार्थी नियमित हुन थालेका छन्। अर्को कुरा, यसले पत्रु खानाको उपभोग पनि निकै घटाएको महसुस गराएको छ।’यो अभ्यासको प्रभाव दृष्टिगत गरी यस वर्षदेखि थुलुङ दूधकोसी गाउँपालिका–८ देउसाले बजेट व्यवस्थापन गरेर तीन वटा आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम थालिएको छ। ससाना विद्यार्थीलाई स्कुल र पढाइमा आकर्षित गर्न दिवा खाजा सहायक बनेको शिशुकल्याण आविका निमित्त प्रध्यानाध्यापक तारादेवी राईको भनाइ छ। ‘खाजा खुवाउन सुरु गरेपछि विद्यार्थी उत्साहित भएका छन्। ३५ जना विद्यार्थी रहेकाले उनीहरूको सिकाइ उपलब्धिमा समेत वृद्धि हुने अपेक्षा राखेका छौं,’ उनले भनिन्।

‘गाँउघरमा अभिभावकहरू आफ्ना बालबच्चालाई खाजा बनाएर पठाउनुभन्दा पैसा दिएर पठाउन सजिलो मान्छन्। विद्यार्थी पनि घरको खाजाभन्दा बजारको प्याकेटमा पाइने खानेकुरामा बढी आकर्षित देखिन्छन्,’ देउसास्थित कालिका आविका शिक्षक चुडामणि केसीले भने, ‘दिवा खाजाले पत्रु खानाको बढ्दो प्रयोगलाई पनि रोक्न सक्छ, हामी आशावादी छौं।’ अर्गानिक उत्पादनलाई खाजामा प्रयोग गरिने भएकाले बालबालिकाको स्वास्थ्यमा फाइदा पुग्ने शिक्षक केसीको बुझाइ छ। सरस्वती आविकी धनकुमारी राईले दिवा खाजाले सिकाइको उपयुक्त वातावरण बन्ने भएकाले सिकाइ उपलब्धिमा पनि टेवा पुग्ने बताइन्। उनले भनिन्, ‘पहिलो पटक दिवा खाजाको अभ्यास गर्दैछौं। नियमित खाजा खुवाउने वातावरण बने, स्कुलमा विद्यार्थीको आकर्षण त बढिहाल्छ, सिकाइको वातावरण पनि बन्नेमा ढुक्क छु।’ वडा कार्यालयले विनियोजन गरेको ३ लाख रुपैयाँबाट दिवा खाजा सुरु गरिएको हो। खाजा दिगो बनाउन अभिभावकसँग दैनिक १० रुपैयाँ र शिक्षकसँग २० रुपैयाँ संकलन गरिनेछ। थुलुङ दूधकोसी गाउँपालिकाले पत्रु खानाको उपभोग घटाउँदै माविहरूमा ०७५ सालदेखि स्कुल नर्स कार्यक्रम कार्यान्वयन गरेको छ। जिल्लाका विभिन्न स्कुलमा गैरसरकारी संस्थाबाट पनि दिवा खाजाका लागि सहयोग हुँदै आएको छ। एक दशकयता हिमाली जिल्ला सोलुखुम्बूको शैक्षिक सुधारका लागि सक्रिय संस्था रीड नेपालले विभिन्न ४ आधारभूत विद्यालयमा दिवा खाजाका लागि आर्थिक सहयोग गर्दै आएको छ। सोताङ गाउँपालिकाको पाथीभरा आविको प्रभावकारितापछि महाकुलुङ गाउँपालिकाको चामोलोङमा आवि, माप्य दूधकोसी गाउँपालिकाको शिशुकल्याण र जनचेतना आविमा पनि दिवा खाजा सुरु गरिएको छ। दिवा खाजाको प्रभाव मूल्यांकनपछि खाजामा सहयोग बढाएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले बताए। बालबालिकालाई नियमित गराउन नेचासल्यान गाउँपालिकाले पनि दिवा खाजा खुवाउन थालेको छ। ३१ वटा विद्यालयका बालकक्षाका ३ सय २४ बालबालिकालाई पुस १ देखि दिवाखाजा खुवाउन सुरु गरिएको छ। यसका लागि गाउँपालिकाले यस वर्ष १० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ।

२०७६ पुष १३ गते ११:४५ मा प्रकाशित