समाचारमा बालबालिका

खाजाले विद्यार्थी नियमित

आइतबार जाउलो, सोमबार खीर/अन्डा, भुजा, मंगलबार हलुवा, बुधबार अन्डा, चना, बिहीबार भुजा–दालमोट साथै फलफूल । यो हो, रम्भा मावि ताहुँका कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीको खाजा तालिका । शुक्रबारबाहेक सातामा पाँच दिन विद्यालयमै खाजा बनाएर खुवाउने गर्छन् । सहायक प्रधानाध्यापक कमल बस्यालका अनुसार दैनिक फरक–फरक शिक्षकलाई खाजा व्यवस्थापनका लागि संयोजक तोकिएको छ । खाजाका लागि शिक्षक र कर्मचारीले सहयोग गर्छन् । ‘खाजा तयारी गर्न खासै समस्या छैन,’ शिक्षक शारदा श्रेष्ठले भनिन्, ‘कहिलेकाहीं खीर खुवाउन दूधको अभाव हुन्छ । रम्भा गाउँपालिका–५, ताहुँस्थित रम्भा माध्यमिक विद्यालयमा गत वैशाखबाट सुरु दिवा खाजा कार्यक्रम यतिबेला प्रभावकारी बनेको छ । परीक्षणका रूपमा तीन महिनाका लागि सुरु गरेको दिवा खाजाले राम्रो प्रभाव देखिएको शिक्षक रजिता थापाले बताइन् । यसका लागि गाउँपालिकाले बजेट व्यवस्थापनमा सहयोग गरेको छ । रम्भा गाउँपालिकाको सहयोगमा विद्यार्थी खाजा कार्यक्रम सुरु गरेको विद्यालयले जनाएको छ । ‘हरेक बार फरक खाजा खुवाउँदा विद्यार्थीमा दिउँसो खाजा खाने समयमा घर जाने बानी हटेको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । बाल कक्षादेखि कक्षा ५ सम्म २९ बालबालिकाले दैनिक खाजा खान्छन् । सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउन मुस्किल छ । ल्याए टिकाउन मुस्किल हुने शिक्षक बताउँछन् । बालबालिकाले पनि विद्यालयमा खाजा खान पाएपछि नियमित भएको बताए । अभिभावकले पनि छोराछोरीलाई ढुक्कसँग विद्यालय पठाउन थालेका छन् । दिउँसोको समयमा खाजा खाने व्यवस्था भएपछि बालबालिकालाई विद्यालय पठाउन कुनै समस्या नभएको अभिभावकको प्रतिक्रिया छ । आगामी वर्षमा पनि पोषणयुक्त खाजाको व्यवस्था मिलाउने गरी गाउँ कार्यपालिकामा छलफल चलिरहेको गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार ताँहुको रम्भा मावि र जनता प्राविमा यसरी खाजा खुवाउने गरिएको छ । अन्य विद्यालयमा पनि यसरी विद्यालयमै खाजा खुवाउन निर्देशन दिएको उनले बताइन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार रम्भाका रम्भा माविबाहेक पनि ३५ विद्यालयमा यो कार्यक्रम लागू भएको छ । यसबाट १ हजार ८ सय ४४ विद्यार्थी लाभान्वित भएका छन् । दैनिक प्रतिविद्यार्थी १५ रुपैयाँ खाजा खर्चका लागि छुट्याइएको छ । ‘आवश्यक परेमा रकम थप गर्न पनि तयार छौं,’ उनले भने, तर, खाजाको रकम सदुपयोग हुनुपर्छ । विद्यार्थीले नै खाजा खान पाउनुपर्छ ।

२०७६ भदौ २ गते ९:४१ मा प्रकाशित