समाचारमा बालबालिका

बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

भीरकोट नगरभित्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । नगरपालिका र सामुदायिक विद्यालयको सहकार्यमा दिवा खाजाको व्यवस्था गरिएको हो । कुनै पनि बालबालिका शिक्षाबाट बंचित नहोऊन भन्ने उदेश्यले नगरपालिकाले दिवा खाजाको व्यवस्था मिलाएको जनाएको छ । अन्र्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर मंसिर १ गतेदेखि नगरभित्रका ४२ वटा बालविकास कक्षामा अध्ययरत ५ सय ५४ बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको नगरप्रमुख छायाराम खनालले जानकारी दिए । बालविकासमा अध्ययरत स-साना बालबालिका खाजाको अभावका विद्यालयमा नियमित आउन सकेका थिएनन्, प्रमुख खनालले थपे, उनीहरुलाई खाजाको व्यवस्था गरेमा नियमित उपस्थिति हुनसक्ने देखिएकाले खाजाको व्यवस्था गरिएको हो । विद्यालयमै खाजाको व्यवस्था भएपछि बालबालिका खुशी देखिएका छन् । विद्यालयमै बनाउने गरी घरेलु खाजा दिइने शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । विद्यालयमै उपलब्ध खाजाले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै बालबालिका नियमित बिद्यालय आउनेमा नगरपालिका विश्वस्त छ । भीरकोट नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रै बालमैत्री नगर घोषणाको तयारीमा जुटिरहेको उपप्रमुख सीमा कर्माचार्य केसीले जानकारी दिइन । अन्तराष्ट्रिय बालदिवस नोभेम्बर २० तारेखका दिन मनाइँदै आएको छ । विश्वभरीका बालबालिकाको आधारभूत आवश्यकता पूरा गरी बालबालिकालाई खुशी बनाउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

२०७६ मङ्सिर ४ गते १:२२ मा प्रकाशित