विद्यालयमा दिवाखाजा
पैयुँ गाउँपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँसभाले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ । सबै २८ वटै सामुदायिकमा कक्षा ५ सम्म खाजा कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । पैयुँका २८ सामुदायिक विद्यालयमध्ये केहीमा खाजा कार्यक्रम सुरु भएको छ भने केहीमा सञ्चालनको तयारी थालिएको छ । विद्यार्थीहरू कक्षामा नियमित हुने र विद्यालय समयसम्म ढुक्कले बस्ने निष्कर्षसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए । विद्यार्थी उपस्थिति र शैक्षिक अवस्थाबारे अध्ययन गर्न लगायौं,’ उनले भने, ‘सामुदायिकका धेरैजसो विद्यार्थी भोक लागेरै कक्षा छोड्ने निष्कर्ष आयो । कतिपय बिहान भोकभोकै स्कुल आउँदारहेछन् । सबैजसो विद्यालयमा गरिएको अध्ययनले १२ वर्षमुनिका धेरैजसो बालबालिका विद्यालय समयअगावै कक्षा छोड्ने देखिएको उनले बताए । गाउँपालिकाले सबै विद्यालयबाट विद्यार्थी संख्या पठाउन निर्देशन दिइसकेको छ । विद्यार्थी संख्याका आधारमा विद्यालयमा रकम पठाइने प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल भुसालले बताए । ‘विद्यार्थी संख्याका आधारमा विद्यालयको खातामा रकम जम्मा गरिन्छ,’ उनले भने, ‘विद्यालयले गाउँमै उत्पादित अन्नको खाजा खुवाउनुपर्छ ।
गाउँपालिकाले खाजा कार्यक्रमका लागि छुट्टै मापदण्ड बनाएको छ । खाजामा गेडागुडी र किन्नैपर्ने बाहेक बजार र प्याकेटका खाजामा प्रतिबन्ध छ । गाउँमा उत्पादन हुने धान, गहुँ, मकै, कोदो, भटमास, आलुको खाजा बनाउनुपर्छ । त्यसमा चना, मैदा, आटा, नुन तेल, चिनीलगायत अत्यावश्यकबाहेक बजारको खाद्यान्न किन्न पाइँदैन । बजारमा पाइने प्याकेटका खानेकुरा पूर्णरूपमा निषेध गर्नुपर्छ । गाउँपालिकाले गरेको निर्णय विद्यालय व्यवस्थापन समितिले पास गरेर विद्यार्थीसंख्यासहित गाउँपालिकामा विवरण पठाउनुपर्छ । यसरी पठाएको विवरणका आधारमा गाउँसभाको निर्णयअनुसार विद्यालयमा खाजाखर्च बापतको रकम पठाइन्छ । विद्यालयले मासिक रूपमा खाजाखर्च रकमको हिसाब गाउँपालिकामा पठाउनुपर्छ । गाउँकै खाद्यान्न खुवाउँदा विद्यार्थी र स्थानीय सबैलाई फाइदा पुग्ने भन्दै व्यवस्थापन समितिले यो निर्णयको स्वागत गरेका छन् । ‘यो निकै राम्रो निर्णय हो,’ हुवासको जनसेवा संस्कृत माविका अभिभावक लालबहादुर प्रधानले भने, ‘गाउँमै फलेको अन्न पोसिलो र स्वस्थकर हुन्छ, फलाउनेले दुई–चार पैसा कमाउँछन् ।’पैयुँका सबैजसो सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ । खर्च हालेरै पनि सन्तानलाई बोर्डिङ स्कुलमा पढाउने अभिभावकको चाहनाले गाउँगाउँमा निजी विद्यालयको प्रभाव बढ्दो छ । यही प्रभावले सामुदायिकमा विद्यार्थी घटेको विद्यालयले जनाएका छन् । सामुदायिकमा सुरु गरिएको खाजा कार्यक्रमले विद्यार्थी बढ्ने अनुमान गरिएको पैयुँका विद्यालय स्रोतव्यक्ति रामप्रसाद काफ्लेले बताए । सामुदायिक विद्यालयमा अधिकांश विपन्न मजदुर र कमजोर आर्थिक अवस्थाका परिवारका केटाकेटी भर्ना हुने गरेका छन् । कतिपय परिवार खाद्यान्नकै लागि सानै उमेरका बालबालिकालाई काममा पठाउने चलन छ । घरमा भरपेट खान नपाएका बालबालिकाको कक्षा छोड्ने दरसमेत बढ्दो छ । यही समस्या हटाउन गाउँपालिकाले परीक्षणका रूपमा भदौ १ देखि ‘दिवा खाजा’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमको प्रभावकारिता भए कार्यक्रम निरन्तर गरिने अध्यक्ष तिवारीले बताए । ‘खाजाको व्यवस्थापनले विपन्न परिवारका छोराछोरी विद्यालयमा टिकाउने अपेक्षा हो,’ उनले भने, ‘यो वर्षको प्रभावकारिता अध्ययन गरेर निरन्तर गर्छौं । गाउँपालिकाले दिवा खाजा कार्यक्रम टिकाउन आन्तरिक स्रोतबाटै बजेट व्यवस्थापन गर्ने तयारी गरेको छ । जसका लागि विभिन्न सिफारिस शुल्क, एकीकृत सम्पत्ति कर लगायतको आन्तरिक आम्दानीको केही प्रतिशत रकम यो कार्यक्रमलाई छुट्याउन गाउँसभाको बैठकले निर्णय गरेको छ । यसअघि पर्वतकै महाशिला गाउँपालिकाका सबै विद्यालय र कुश्मा नगरपालिकाका केही विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालित छ । यो कार्यक्रम सञ्चालन गरेका विद्यालयहरूले विद्यार्थी नियमित र पढाइको स्तरमा समेत सुधार आएको दाबी गरेका छन् ।
२०७५ भदौ १७ गते १०:२८ मा प्रकाशित