समाचारमा बालबालिका

मेयर–उपमेरको लडाइँमा बालबालिकालाई सास्ती स् दिवाखाजा कार्यक्रम प्रभावित

रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख र उपप्रमुखको लडाइँका कारण कर्मचारी र बालबालिकाले सास्ती खेप्नुपरेको छ । नगरप्रमुख गोपालप्रसाद यादव र उपप्रमुख कान्तिदेवी महतोबीचको विवादका कारण अषाढ मसान्तभित्र सम्पन्न हुनुपर्ने तेस्रो नगरसभा माघको पहिलो सातासम्म पनि बस्न सकेको छैन । नगरसभाबाट बजेट पारित भइ कोष तथा लेखा नियन्त्रण कार्यालय गौरसम्म नपुगेका कारण यस आर्थिक वर्षको गत साउन महिनादेखि नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारीले तलब पाउन सकेका छैनन् । त्यतिमात्र नभइ रकम निकासा नभएकै कारण फतुआ विजयपुरअन्तर्गत डेढ दर्जन विद्यालयमा बालबालिकाहरु ‘दिवा खाजा’बाट समेत बञ्चित भएका छन् । नगरपालिकामा रहेका तीनवटा मावि, सात निमावि, १९ प्रावि र एक मदरसाका शिक्षक, स्वास्थ, कृषि, करार सेवाका कर्मचारीले साउनदेखि हालसम्म तलब पाउन नसकेको मावि दुधिअवाका प्रधानाध्यापक रवीन्द्रप्रसाद साहले बताए । मावि र निमाविले बजारका पसलबाट उधारो लिएर जसोतसो बालबालिकालाई खाजा खुवाउन सके पनि प्राथमिक विद्यालयले त्यो व्यवस्था गर्न नसकेको उनको भनाइ छ । समयमा तलब नपाउँदा कतिपय शिक्षकले अध्यापन गराउन आलटाल गरिरहेको र प्राथमिक विद्यालयमा खाजा नपाउँदा अधिकांश बालबालिका विद्यालय आउन छाडेको प्रधानाध्यापक साहको दुखेसो छ । वडा ११ प्राथमिक विद्यालय राँगीका प्रधानाध्यापक रामसेवक गोसाँईले नगरपालिकाबाट रकम नपाए पनि केही समय उधारोमा ल्याएर बालबालिकालाई खाजा खुवाइएको तर हाल त्यो पनि बन्द रहेको बताए ।तेस्रो नगरसभा समयमा नहुँदा नगरक्षेत्र अन्तर्गत ३० वटा विद्यालयका झण्डै दुईहजार ६ सय बालबालिका प्रभावित बनेका छन् भने ३० वटा विद्यालयका एकसय ८६ जना शिक्षकले गत साउनदेखि हालसम्मको तलब खान नसकेको निमित्त शिक्षा संयोजक सुवोध यादवले बताए ।तलबका लागि शिक्षक तथा कर्मचारी पटक–पटक आन्दोलित हुँदै आएका थिए । उनीहरुले नगरपालिकामा तालाबन्दी नै गरेका थिए । मेयर गोपालप्रसाद यादवले माघ १० गतेभित्र सबै कर्मचारीको सम्पूर्ण तलब निकासा गराउने लिखित सहमति गरेपछि ताला खुलेको थियो ।गत ११ गते फतुवा विजयपुरका मेयर यादवद्वारा सम्पन्न भएको भनिएको तेस्रो नगरसभाको सम्पूर्ण निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ ।नगरप्रमुख यादवले विना कार्यपालिकाको निर्णय, बिना विकास योजनाको करोडौं रकमको हिसाबै नगरी अनियमितता गर्ने मनसायले बलपूर्वक नगरसभा गरेको भनि दिएको उजुरीको आधारमा अदालतले उक्त आदेशका साथै मेलमिलापको लागि यही माघ ९ गते दुबै पक्षलाई ईजलासमा पेस गर्न आदेश दिएको छ । अदालतको आदेशपछि शिक्षक कर्मचारीको तलव निकासा भने फेरि अन्यौलमा परेको छ ।

२०७६ माघ २ गते प्रकाशित