बिहेको निम्तोमै जन्ममिति
बिहेका कार्डमा वरवधु, तिनका अभिभावक र दर्शनाभिलाषीका नामसँगै समारोह हुने मिति उल्लेख हुन्छन् । तराइमा धेरैले कार्डमा डाक्टर र इन्जिनियरजस्ता वरवधुका पेसा पनि उल्लेख गर्दा नौलो मानिँदैन । सिरहामा विवाहको निम्तो कार्डमा वरवधुका जन्ममिति पनि लेख्न सुरु भएको छ । थुप्रैका लागि जन्ममिति लेख्नु यतिबेला चर्चाको विषय बनेको छ । आगामी बुधबारका लागि तय भएको भतिजा–भतिजी सन्जोग र नीशाको विवाहको निम्तोकार्डमा लहान–१० का सामाजिक अभियन्तासमेत रहेका अधिवक्ता सुनिल साहले जन्ममिति नै छाप्न लगाएका छन् । आखिर किन जन्ममिति रु ‘बालविवाह निरुत्साहित गर्न यस्तो गरेको हो,’ उनले भने, ‘सुरुवात कसै न कसैले गर्नैपर्ने हो । हामीले गयौं । पहिलोपटक बालविवाह कानुनी रुपमा अपराध हो भन्ने सन्देश दिन भतिजा सन्जोग र भतिजी निशाको विवाह कार्डमा जन्म मिति उल्लेख गरेर निम्तो बाँडेका हुन् । आगामी असार ११ मा हुन लागेको विवाह निम्तो कार्डमा उनले बर र बधुको जन्म मिति उल्लेख गरेर यो अभियानको सुरुवात गरेका हुन् । ‘कानुनी रुपमा बालविवाह अपराध हो भन्ने स्पष्ट छ, तर पनि तराई मधेसमा बालविवाह गर्ने प्रचलन कायमैं छ’ अधिवक्ता समेत रहेका साहले भने ‘कानुनी मात्र होइन, शारीरिक र मानसिक रुपमा परिवर्तन हुने उमेरमा बालबालिका वैवाहिक सम्बन्धमा बाँधिन पुग्दा यसको असर किशोरीमा प्रत्यक्ष रुपमा देखिएको छ ।’उनले सानो उमेरमा विवाह गर्नाले यौन दुर्व्यवहार, आमा तथा बच्चाको अकालमै मृत्यु, पाठेघरको समस्या, अशिक्षा, कमजोर स्वास्थ्य, जनसंख्या वृद्धिजस्ता समस्या देखिने भएकाले पनि बालविवाहविरुद्ध अभियानका लागि विवाह कार्डमा जन्ममिति उल्लेख गरेको सुनाए । विवाह कार्डमै जन्ममिति लेखिदिएपछि बालविवाहमा सचेत नागरिकले आवाज उठाउन सक्ने र बहिष्कार गर्न सहज हुने उनको भनाइ छ ।
बालविवाहविरुद्धको अभियानलाई सहयोग पुर्याउन उनले आफ्नो भतिजा २४ वर्षीय संजोगको गत मंसिर २४ को विवाह निमन्त्रणा कार्डमा समेत जन्ममिति लेखेर पठाएका थिए । उनले अरुले समेत आफ्नाछोराछोरीको विवाहको निम्तो कार्डमा जन्ममिति लेखेर भइरहेको विवाह बालविवाह हैन भनी सन्देश दिन अति आवश्यक रहेको बताए । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले केटाकेटीको विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । २० वर्ष नपुगी विवाह गरेमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । सोही ऐनले मन्जुरीबिना विवाह गर्न नहुने भन्ने प्रावधान गरेको छ । यदि कसैले गरे वा गराएमा विवाह स्वतस् बदर हुने र त्यस्तो विवाह गर्ने र गराउनेलाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । इन्सेक र जिल्ला प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७५/७६ मा सिरहामा ३ बालविवाह घटना भएका छन् । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार तर यस वर्ष अधिकारकर्मी र प्रहरीको सक्रियतामा जिल्लामा हुन लागेको ४ बालविवाह रोकिएका छन् । धनगढीमाई नगरपालिका १३ कि १४ वर्षीया बालिका सविता कुमारी कामतीको गत माघ ११ मा हुन लागेको बालबिबाह इलाका प्रहरी कार्यालय लहानको सक्रियतामा रोकिएको थियो । सविताको विवाह सुखीपुर नगरपालिका ८ का जितेन्द्रसँग विवाह तय गरिएको थियो । त्यसैगरी सिरहा १० कि १६ वर्षीया तारा कुमारी महराको गत बैशाख १३ मा हुन लागेको बालबिवाह रोकिएको थियो । लहान २४ कि १४ वर्षीया सिया कुमारी कामतीको गत वैशाख १६ मा हुन लागेको बालविवाह रोकिएको थियो ।अधिकारकर्मी र प्रहरीको सक्रियतामा बालविवाह रोकिएपनि यसलाई स्थानीय तहले बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक रहेको इन्सेक प्रतिनिधि परियारको भनाइ छ । मधेसमा अझ दलित डोम समुदायमा बालविवाह प्रचलन अझै कायम रहेको अधिकारकर्मी राजकुमार राउत कुर्मी बताउँछन् ।‘तराई मधेसको समाजमा छोरीका लागि पर्याप्त दाइजो दिनुपर्ने ‘बाध्यता’ भएकाले पनि किशोरी उमेरमै विवाह गरिदिन पुग्छन्,’ कुर्मी भन्छन्, ‘छोरी जति नै पढे पनि दाइजो पर्याप्त मात्रामा लिनुदिनुपर्छ भन्ने मान्यता र दाइजो नदिएमा छोरीले यातना, हिंसा भोग्नुपर्ला भन्ने मानसिकताले पनि बालविवाहले बढावा पाएको छ, तर बालविवाह बिस्तारै न्यूनीकरण हुँदै गएको छ ।’अधिकारकर्मी राउतका अनुसार विक्रम सम्वत १९१० को मुलुकी ऐनमा पनि विवाहका लागि कन्याको न्यूनतम उमेर ५ वर्ष तोकिएको, २०२० को मुलुकी ऐनमा विवाह गर्न स्त्रीको १४ र पुरुषको १८ वर्षको उमेर तोकिएको थियो । तर, अहिले कानुनले विवाह उमेर २० वर्ष उमेर तोकिसके पनि पुरानै मानसिकताका कारण बालविवाह रोकिन नसकेको कुर्मीले सुनाए ।केही बालविवाहलाई रोक्न प्रहरी प्रशासन तथा सामाजिक संघसंस्थाहरूले अभियानै चलाइरहे पनि यसलाई नियन्त्रण गर्न नसकिएको र यसका लागि अभिभावक र युवा आफैं बालविवाह विरुद्ध सजक र प्रतिबद्ध हुन जरुरी रहेको अधिकारकर्मीको कुर्मीको भनाइ छ ।
२०७६ असार १० गते १०:२६ मा प्रकाशित