उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टायो
बालक अपहरण तथा हत्यामा संलग्न पाँच जना मध्ये जिल्ला अदालतले १५ बैशाख २०७४ मा तीन जनालाई सजाय तथा दुई जनालाई सफाई दिएको थियो । जिल्ला अदालतको फैसला उल्टाउदै उच्च अदालत जनकपुरले १८ भदौ बुधबार सवै आरोपीलाई दोषी ठहर गरेको छ । जसमा चार जनालाई आजिवन कारावास र एक जनालाई एघार वर्ष कैद सजाय सुनाएको छ । साथै पाँचैजनालाई जनही पचास हजार रुपैयाँको दरले जरिवानासमेत तोकेको छ । जिल्ला अदालतले गरेको फैसलाविरुद्ध मृतकका अभिभावकले असन्तुष्टी जनाउँदै उच्च अदालत जनकपुरमा न्यायको लागि पहल गरेका थिए । पीडित परिवारले जिल्ला अदालतका न्यायाधीश अनिल कुमार शर्माले आर्थिक प्रलोभनमा परि दुई मुख्य दोषीलाई सफाई दिएको भन्दै न्याय परिषदमा उजुरीसमेत दर्ता गराएका थिए । पीडितको पक्षमा फैसला गर्दै उच्च अदालत जनकपुरका वेन्च नं. १ बाट मुख्यन्यायाधीश हरि कुमार पोखरेल र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासले जिल्ला अदालतबाट सफाई पाएका अभियुक्तलाई सजाए तथा जरिवाना तोकेको हो । जसमा जलेश्वर नगरपालिका ३ का सरोज कुमार पाण्डेय र सोही ठाउँका संजिव कुमार मिश्रलाई आजिवन कारावासको सजाय सुनाएको छ । बाँकी तीनजनाको हकमा जिल्ला अदालतकै फैसला सदर भएको छ।
२०७६ भदौ १९ गते १२:२८ मा प्रकाशित