समाचारमा बालबालिका

कोरोना आशंकामा उपचारमा लापरवाही गर्दा वीरगञ्जमा बालकको मृत्यु

२७ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणको आशंकामा उपचारमा लापरवाही गर्दा एक बालकको मृत्यु भएको छ ।

झाडापखाला, ज्वरो र वान्ता आउने समस्या देखिएका बाराको बारागढी गाउँपालिका–२ का ९ वर्षीय सुशीलकुमार साहको मृत्यु भएको हो ।

आइतबार राति वीरगञ्जको नेशनल मेडिकल कलेजम लैजाँदा भर्ना लिन मानेन, त्यसपछि उनलाई वीरगञ्जको विभिन्न अस्पताल डुलाउँदै नारायणी अस्पताल लगियो ।

नारायणीले चेकजाँच पछि बालकको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान सल्लाह दियो ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तलाई समस्याबारे जानकारी गराएपछि उनले नेशनल मेडिकल कलेजमा भर्ना गर्नका लागि पहल गरिदिइन् । एसपीको आग्रहपछि नेशनल सोमबार विहान ९ बजे भर्ना गर्‍यो । मेडिकल कलेजले सोमबार बिहान ९ बजेतिर भर्ना लियो । तर उनको मंगलबार मृत्यु भयो ।

प्रहरीको दवावपछि नेशनल मेडिकल कलेजले भर्ना लिएपनि राम्रोसँग उपचार नगरेको मृतकका भिनाजु उपेन्द्र साह बताउँछन् ।

‘बिरामीलाई आईसीयुमा राख्नुपर्छ भनेर चिकित्सकले भनेका थिए । तर नेशनलमा पीसीआर रिपोर्ट नआएसम्म तपाईको बिरामीलाई कुनै पनि डाक्टरले छुँदैन । भनेर अक्सिजन लगाएर कुनामा राखिदियो । नभन्दै कसैले पनि आएर हेरेन’ उनले भने ‘राम्रो उपचार पाएको भए बाबु बाँच्थ्यो भन्ने लाग्छ ।’

बालकको मृत्यु भइसकेपछि उनको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।