समाचारमा बालबालिका

सुध्रिँदै सहरका स्कुल

कुनै बेला सामुदायिक स्कुलमा घण्टी बजेको १०र१५ मिनेटमा शिक्षक आउँथे । कालोपाटीमा सेतो चकले लेख्थे । एकजना विद्यार्थीको किताब लिन्थे। सरसर्ती पढाउँथे । घण्टी नबज्दै कक्षाकोठाबाट बाहिरिन्थे ।विद्यालय शिक्षकको नियमन गर्न प्रधानाध्यापकलाई धौधौ पर्थ्यो । शिक्षकका नेता विभिन्न बहाना बनाएर राजनीतिक क्रियाकलापमा सक्रिय हुने । महिनादिनको हाजिरी एकै दिन गर्ने वा एकै दिनमा हाजिर गरेर बाहिरिने समस्या थियो । प्रधानाध्यापकलाई नजिक बनाएर रिझाउन सक्ने शिक्षकले कम कक्षा लिन्थे । विभिन्न बहानाबाजीमा स्कुलबाहिर जान्थे । वार्षिक परीक्षा नजिकिएपछि हतारहतार कोर्स सक्थे । विद्यार्थीले बुझ्थेनन् । स्थानीय तह गठनपछि यस्ता समस्या केही हदसम्म हटेका छन् । स्कुल सुध्रिँदै गएको छ । अंग्रेजी माध्यमबाट पढाउन थालिएको छ । केही स्कुलले ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङको पठनपाठन थालेका छन् । केहीले सीसी क्यामरासमेत जडान गरेका छन् । बेंसीसहर नगरपालिकाको शिक्षा शाखा प्रमुख गोविन्दराज पोखरेलका अनुसार बेंसीसहर नगरपालिकाले शिक्षा नियमावली ०७४ निर्माण गरी शैक्षिक क्षेत्रमा आफ्ना योजना तथा कार्यक्रम अघि बढाएको छ । ‘मावि र निमावि आधारभूत स्कुलमा विद्युतीय हाजिरी छ । यसले शिक्षकमा नियमितता हुने विश्वास गरिएको छ,’ उनले भने, ‘समय–समयमा प्रमुख, उपप्रमुख साथै हामीले पनि छडके गरेका छौं ।’ इन्टरनेटबाट नयाँनयाँ विषयवस्तुको खोजी गरी पढाउन थालिएको उनले बताए । बालविकास र कक्षा १ का विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको छ । बालमैत्री फर्निचरको व्यवस्था गरिएको छ । सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रका अनुसार परीक्षा प्रणाली,मूल्यांकन पद्धति र पठनपाठनका शैलीमा परिवर्तन गरिएको बताए । प्रधानाध्यापकलाई विशेष बैठक बोलाएर समय–समयमा स्कुलका समस्या र समाधानबारे छलफल चलाएको उनले बताए । सबै मावि र निमावि आधारभूतमा विद्युतीय हाजिरी संकलन गरिएको उनले सुनाए ।

साना कक्षामा बालबालिकामा फोषण कार्यक्रम सञ्चालन गरिएको छ । चर्चित विद्यालयका शिक्षक ल्याएर अन्तरत्रिया गरिन्छ । ‘हामी बालमैत्री विद्यालय बनाउने तयारीमा छौं,’ उनले भने । शिक्षा शाखा अधिकृत वीरबहादुर गुरुङका अनुसार शिक्षा नियमावली २०७४ निर्माण गरी कार्यक्रम तथा योजना अघि बढाइएको छ। स्कुलमा इन्टरनेट जडान थालिएको छ । विद्याज्योति र आदर्श बाल माविमा सीसी क्यामरा जडानसाथै स्मार्ट बोर्डका माध्यमबाट पठनपाठन थालिएको छ । समय–समयमा शैक्षिक मेला सञ्चालन गरिन्छ । स्कुलमा शैक्षिक सामग्री सहयोग गरिएको छ । ‘लमजुङमै सुरु सुरुमा बनेका स्कुल सुन्दरबजार नगरपालिकामा छन् । सुन्दरबजारलाई शैक्षिक क्षेत्रको गन्तव्य बनाउने सोचले अघि बढेका छौं,’ उनले भने । राइनास नगरपालिकाका शिक्षा शाखाका विद्यालय निरीक्षक पूर्णबहादुर नेपालीका अनुसार शिक्षक तथा विद्यार्थीको कार्यविधि निर्माण गरी अघि बढेको छ । राम्रा काम गर्ने शिक्षक तथा विद्यार्थीलाई पुरस्कृत गर्न थालिएको छ । माविमा विद्युतीय हाजिरी छ । नगरपालिकाभित्रका ९ विद्यालयमा १ देखि ३ कक्षाका विद्यार्थीलाई दिवा खाजा व्यवस्था छ । बालविकास शिक्षिका (सहजकर्ता) ले सरकारबाट खाइपाइ आएको तलबमा नगरपालिकाले मासिक ३ हजार थपेको छ । २६ विद्यालयमा २५ वटा बालविकास केन्द्र छन् । कार्यालय सहयोगीलाई १ हजार रुपैयाँ मासिक तलबमा थप गरिएको छ । प्रमुखरउपप्रमुखले बेलाबेला छडके गर्छन्, उनले भने, अनियमित हुने शिक्षकलाई स्पष्टीकरण सोधिन्छ, चेतावनी दिने काम भएको छ ।’ समय–समयमा शैक्षिक मेला आयोजना गरिएको उनले बताए।मध्यनेपाल नगरपालिकाको शिक्षा कार्यालयका स्रोतव्यक्ति दीपक पौडेलका अनुसार माध्यमिक शिक्षा कार्यविधि, आधारभूत शिक्षा उत्तीर्ण परीक्षा निर्देशिका ०७४ बनाएर अघि बढेको बताए । बालबालिकालाई जाउलो कार्यक्रम सञ्चालन गरिएको छ । माविमा विद्युतीय हाजिरी सुरु भएको छ । इन्टरनेटको व्यवस्थापन थालिएको छ । सबै माविमा कम्प्युटर शिक्षा लागू गरिन्छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नारायण रेग्मीका अनुसार स्थानीय तह गठनपछि विद्यालयको व्यवस्थापकीय जिम्मा स्थानीय तहमा गएको छ । पहिले हामी मात्रै हुन्थ्यौं । अहिले जनप्रतिनिधिले चासो दिन थालेका छन्,उनले भने, आफ्ना तहको स्कुल राम्रो होस् भन्ने सबैले चाहेको छ । केही स्कुलले स्मार्ट बोर्डका माध्यमबाट पठनपाठन थालिएकामा यसलाई सकारात्मक र विकासको रूपमा लिनुपर्ने उनले बताए।

२०७५ चैत २५ गते ८:५३ मा प्रकाशित