समाचारमा बालबालिका

यार्चाले पढाइ अधुरो

मुगमकार्मारोङ गाउँपालिकाका २६ सामुदायिक विद्यालय अहिले सुनसान छन् । बालबालिका यार्चा टिप्न पाटनतिर लागे । पढाउन नपर्ने भएपछि शिक्षकलाई पनि हाइसन्चो छ । उनीहरू यार्चा सिजनको दुई महिना नपढाएरै तलब थाप्छन् । यसको असरले विद्यार्थीहरू ‘कोर्स’ नसकीकनै परीक्षामा बस्न बाध्य हुन्छन् ।आधारभूत विद्यालय रोवाका प्रधानाध्यापक चन्द्रप्रकाश बडुवालका अनुसार यस क्षेत्रका करिब पाँच सय विद्यार्थी पाटनतिर गएका छन् । ‘हामीले यसअघि पटक–पटक बालबालिकालाई पाटन नलैजान अभिभावकलाई आग्रह गर्‍यौं तर कसैले मानेनन्,’ उनले भने, ‘यसले गर्दा बर्सेनि बालबालिकाको शिक्षामा असर पर्ने गरेको छ । यार्चा यात्राका कारण विद्यालय सुनसान भएपछि डोल्पाका शिक्षक पनि घाम तापेर घर फर्किन्छन् । यार्चा सिजन सुरु हुनु केहीअघि गरिएको विद्यालय अनुगमनमा करिब ९५ प्रतिशत अनुपस्थित भेटिएका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख डोलराज काफ्लेका अनुसार विद्यार्थी पाटन गएपछि धेरैजसो शिक्षक विद्यालय खोलेर एकरडेढ घण्टा घाम ताप्ने र फर्कने गरेका छन् । शुक्रबार दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा ६ शिक्षक कार्यालयअगाडि घाम तापेर बसेका भेटिए । प्रधानाध्यापक सत्यनारायण सिंहले ‘यार्चा संकलनको समयमा पढाउँछौं, कोही पनि विद्यार्थी पाटन नजानू’ भनिए पनि विद्यार्थीले अटेर गरेको बताए । उपल्लो दुनैको ध्रुवतारा आधारभूत विद्यालयमा शुक्रबार पाँचजना मात्र विद्यार्थी आएको शिक्षक लक्ष्मण कार्कीले बताए । विद्यालयमा ५७ विद्यार्थी अध्ययनरत छन् ।

नपढाएरै तलब
मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले अधिकांश समय नपढाएरै तलब लिने गरेका छन् । जेठमा यार्चा सिजन, जाडोमा तीन महिना बिदा र दसैंरतिहारमा डेढ महिना बिदा हुने गरेकाले शिक्षकले करिब ६ महिना नपढाएरै तलब बुझ्छन् । स्थानीयले यार्चाका कारण खेर जाने समयलाई अन्य बिदा छोट्याएर सदुपयोग गर्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले यार्चाको कारण विद्यालय बन्द हुने विडम्बना अन्त्य गर्न पहल भइरहेको बताए । उक्त गाउँपालिकामा १५ विद्यालय छन् ।

कोर्स नसकेरै परीक्षामा
यार्चाका कारण विद्यालय बन्द हुँदा शिक्षकले नपढाए पनि तलब खान्छन्, अर्कोतिर विद्यार्थी नपढेरै परीक्षामा बस्न बाध्य हुन्छन् । हिउँदे बिदा, पर्व बिदा र यार्चाको कारण विद्यालय बन्द हुँदा झन्डै ६ महिना पढाइ हुँदैन । यसको असर कोर्समा पर्छ । विद्यार्थी आधा कोर्स पढेर परीक्षामा सहभागी हुन्छन् । मुगुगाउँका छिरिङतोर्चे लामा यस्तै अवस्थाले विद्यार्थीको शैक्षिक अवस्था दयनीय रहेको बताउँछन् । अधुरो पढाइकै कारण ५ कक्षामा अध्ययनरत विद्यार्थीले राम्ररी शब्द उच्चारण गर्न सक्दैन,’ उनले भने, ‘विभिन्न बहानाले पढाइ नभएपछि कसरी राम्रो होस् शिक्षा एसईई नतिजा केलाउँदासमेत कहालीलाग्दो चित्र देखिन्छ । डोल्फु, चितै र मुगुगाउँमा स्थानीय विद्यालयबाट कसैले पनि एसईई उत्तीर्ण गर्न सकेका छैनन् । बुद्ध मावि माग्रीका प्रधानाध्यापक गंगाराम जीसीले जाडो र यार्चा सिजनले पठनपाठनमा अवरोध आएको बताए । उनका अनुसार यार्चा टिप्ने समयमा वर्षे बिदा दिनुपर्छ । यसो गर्दा बर्खामा कक्षा सञ्चालन गर्न सकिन्छ । यसो गर्दा केही राहत हुन सक्छ,’ उनले भने, अब यतातिर सोच्ने कि ? विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउन बिदामा एकरूपता हुनुपर्ने उनले बताए ।जिल्ला शिक्षा कार्यालय यार्चाका कारण जिल्लाभरको पठनपाठन प्रभावित हुने गरेको तथ्यबाट बेखबर छैन । तर, उक्त कार्यालयले पठनपाठन नहुने यो समयबारे उचित विकल्प निकाल्न सकेको छैन । ‘पैसाको आसमा सबै पाटनतिर जान्छन्, अनि शिक्षकले कसलाई पढाउन् ? मुगुका जिल्ला शिक्षा अधिकारी धनसुधन चौलागाईं भन्छन्, ‘यसले गर्दा  विद्यालय शिक्षामा निकै असर पारेको छ ।

२०७५ जेठ १३ गते  ७:१० मा प्रकाशित