समाचारमा बालबालिका

पढाएकै बुझ्दैनन् विद्यार्थी

कक्षाकोठामा धेरै कोचिएर पढदा होहल्ला बढी हुन्छ । हावाहुरी चल्दा पनि पढाइमा अवरोध हुन्छ । पानी पर्दा टहराबाट चुहिन्छ । जस्तामा पानीको आवाजले पढाएकै सुनिँदैन । नीलकण्ठ नमुना माध्यमिक विद्यालयका छात्रछात्राहरूले महाभूकम्पपछि नै यस्तो समस्या झेल्दै आएका छन् । यो स्कुलको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारले लिएको छ । चिनियाँ टोली आएर विद्यालयको नापजाँच गर्‍यो । परीक्षणका लागि माटो नि लिएर गयो,विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले भने, त्यसपछि चिनियाँहरू पनि फर्केर आएका छैनन् ।’ भूकम्प गएको ४४ महिना बितिसक्दा पनि विद्यार्थी अझै टहरामुनि पठनपाठन गरिरहेका छन् । कालिका गाउपालिका–५ पर्ने यो विद्यालयका छात्रछात्राहरू जीर्ण विद्यालय र अस्थायी टहरामै बसेर पढन बाध्य भएका हुन् । बालविकास केन्द्रका स–साना विद्यार्थीसमेत जीर्ण बनेको भवनमा पढिरहेका छन् । भूकम्पले विद्यालय भवन भत्किएपछि १० वटा जस्तापाताको अस्थायी टहरा निर्माण गरी कक्षा सञ्चालन हुँदै आएको छ ।

उक्त विद्यालयमा ५ सय १७ जना विद्यार्थी अध्ययनरत छन् । नीलकण्ठ नमुना माध्यमिक विद्यालय भवन चीन सरकारले निर्माण गर्ने भनेर जिम्मेवारी लिएको देवकोटाले जानकारी दिए । नेपाल सरकार र चीन सरकारबीच २०६८ सालमै चीनसँग सीमा जोडिएका १० जिल्लाका १० नमुना विद्यालय भवन निर्माण गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतामा यो विद्यालय पनि परेको थियो । पहिलो पटक भने २०६८ सालमा चिनियाँ टोली आएर विद्यालयको नापजाँच र माटो परीक्षण गरेको थियो । खै किन हो, टोलीले परीक्षण मात्र गरेका छन् । पुनर्निर्माण काम हुन सकेको छैन,’ उनको गुनासो छ । भूकम्पपछि पनि दोस्रो पटक चिनियाँ टोली आएर विद्यालयको नापजाँच र माटो परीक्षण गरेको हो । आफूले सरोकारवाला निकायसँग पटकपटक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको देवकोटाले गुनासो पोखे । जस्तापाताको अस्थायी टहरामा बसेर पठनपाठन गर्दा गाह्रो भएको कक्षा १० का विद्यार्थी वासुदेव पौडेलले बताए । एउटै कक्षा कोठामा धेरैजना विद्यार्थी हुँदा होहल्ला हुन्छ । पढाएको बुझिँदैन, उनले भने । ठूलो पानी पर्दा पढाइ नै बन्द गर्नुपर्ने अवस्था आउने शिक्षकको कथन छ ।

२०७५ पुस १३ गते ७:४३ मा प्रकाशित