समाचारमा बालबालिका

बालिकालाई यौनधन्दामा जबर्जस्ती लगाइँदै

झापा बिर्तामोडका होटलहरूमा अखाद्य वस्तु बिक्री भएको तथा सरसफाईमा ध्यान नदिएको गुनासोपछि एउटा टोली जेठ तेस्रो साता अनुगमनमा निस्केको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बिर्तामोड नगरपालिका, होटल व्यवसायी संघ, वाणिज्य संघलगायतका प्रतिनिधिले होटलहरूको अनुगमन गरिरहेको थियो । उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न निर्देशन दिइरहेको उक्त टोलीले होटलमा बालिका राखेर यौनधन्दा चलाएको फेला पार्‍यो । होटलमा बालिकाहरू देखेपछि टोलीका प्रतिनिधिले उनीहरूसँग सोधीखोजी गर्‍यो । बालिकाहरूले ग्राहक आए बस्ने गरेको भन्ने जवाफ दिए । यो घटनासंगै बिर्तामोडका होटलहरूमा बालिका राखेर यौनधन्दा सञ्चालन गर्ने गरेको पाइएको खुलेको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले जेठ २२ मा प्रतिक्षा होटल एण्ड लज, मनसान्त होटल र मनिका होटल एण्ड लजबाट ५ बालिकालाई उद्धार गर्‍यो । उनीहरूसँगै तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकालाई यौनधन्दामा संलग्न गराउनेमध्येका दुईजना फरार छन् । बालिकालाई यौनधन्दामा लगाएको आरोपमा धरान उपमहानगरपालिका १६ सोरसखुवा घर भई बिर्तामोड ५ को प्रतीक्षा होटलका स्टार्फ २० वर्षीय अभिषेक तामाङ, मनसान्त होटलका सञ्चालक किरण भनिने श्याककुमार तामाङ र बिर्तामोड १ का २१ बर्षीय नबीनभनिने रत्नबहादुर विश्वकर्मा पुर्पक्षका लागि कारागार चलान भएको बिर्तामोडका डीएसपी मोहन थापाले बताए । बुद्धशान्ति गाउँपालिका २ जयपुरका २५ वर्षीय विमल गहतराज र जयपुरकै ४० बर्षीय निश्चल भनिने राम पोर्तेल फरार छन् ।बिर्तामोडमा यौनधन्दा बढ्दो रहेको भन्दै सामाजिक अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । प्रहरीले विभिन्न समयमा छापा मारेर संलग्नहरूलाई नियन्त्रणमा लिएपनि यौनधन्दा नघटेको ओबीसी नेपाल जिल्ला शाखाकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् । तथ्यांकअनुसार बिर्तामोडमा मात्र होटल एण्ड लज तीन सयभन्दा बढी छन् ।तीमध्ये ७० प्रतिशत होटलमा यौनधन्दा हुने गरेको विभिन्न समयमा गरिएका अनुगमनहरूबाट पाइएको छ । बिर्तामोडको बसपार्कमा रहेका ८० प्रतिशतबढी होटलमा यौनधन्दा हुने गरेको स्थानीयको दाबी छ । बिर्तामोडमा काठमाडौं, पोखरा, धरान, धनगढी, इटहरीलगायतका स्थानबाट आएका युवतीहरू अनैतिक गतिविधिमा संलग्न हुने गरेको प्रहरीको भनाई छ । छिमेकी राष्ट्र भारतको दार्जिलिङ र सिलिगुडीबाट समेत यौनकर्मीहरू आउने गरेको प्रहरीको दाबी छ । ‘बढ्दो सहरीकरण र विभिन्न क्षेत्रको सेन्टर हो बिर्तामोड । भारतीय नाका पनि नजिकै छ । यस कारणले पनि यहाँ अनैतिक गतिविधि हुने गरेको हामीले पाएका छौ’डीएसपी मोहन थापाले भने, ‘तर, हामी यसतर्फ सजग छौं । ’ उनका अनुसार बिर्तामोडमा गत वर्ष मात्र अनैतिक क्रियाकलापमा संलग्न ५९ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ । होटल एसोसिएसनका जिल्ला अध्यक्ष भोलानाथ उप्रेतीले यौनधन्दा नियन्त्रणमा लिन चुनौती भएको बताए।

२०७६ साउन १३ गते १०:४६ मा प्रकाशित