समाचारमा बालबालिका

कक्षा रित्याएर धान काट्न

मंसिर लागेपछि सीमावर्ती जहदा–४ को सार्वजनिक विद्यालयमा मावि तहका विद्यार्थी घटेका छन् । कात्तिकको अन्तिम दिनसम्म खचाखच देखिएका विद्यार्थी भोलिपल्टै आउन छाडेका हुन् । कक्षा ८ मा ८२ विद्यार्थी भनाए भएका थिए । तीमध्ये सरदर ७५ जना दिनदिनै आउँथे । कक्षा नौमा दैनिक १४० र १० मा १४५ विद्यार्थी नियमितजसो आउँथे । तर मंसिरयता ती कक्षामा १२–१५ जनाभन्दा छैनन् । यस्तो अवस्था देखेर रनभुल्ल परेका प्राचार्य अजयकुमार सिंह आफैं विद्यार्थी खोज्दै घरघर पुगे । अभिभावकलाई छोराछोरी विद्यालय नपठाउनुको कारण सोधे । अभिभावकले अझै एक साता छोराछोरी विद्यालय जाने अवस्था नरहेको जवाफ दिए । कारण थियो– पाकेको धान काट्ने र मकै रोप्ने मजदुरको अभाव । ‘धान थन्क्याउने र हिउँदै मकै रोप्ने चटारोका कारण सातादेखि विद्यार्थी विद्यालय नआएका रहेछन्,’ सिंहले भने, ‘खेतमा पुग्दा विद्यार्थी कोही धान काट्न त कोही मकै रोप्नमा व्यस्त भेटिए ।’विगतका वर्ष पनि धान थन्क्याउने र मकै रोप्ने सिजनमा मावि तहका केही विद्यार्थी विद्यालय आउँदैनथे । ‘यसपालि त कक्षाकोठा नै खालीजस्तो भएपछि खोज्दै घरघर पुगेका हौं,’ सिंहले भने, ‘धान थन्क्याउने र मकै रोपिसकेपछि विद्यार्थीलाई विद्यालय पठाउने अविभावकले आश्वासन दिएका छन् ।’जहदाकै लक्ष्मी आधारभूत निमाविको कक्षा ७ र ८ मा पनि सातादेखि विद्यार्थी सख्या थोरै छ । प्रचार्य चन्द्र मण्डलका अनुसार यहाँ पनि विद्यार्थी धान काट्न र मकै रोप्ने चटारो भएकाले विद्यालय नआएका हुन । उक्त विद्यालयमा ४५० जना विद्यार्थी छन् । तीमध्ये सय जनाभन्दा बढी सातायता कक्षाकोठा पसेका छैनन् । त्यहीँको बाललक्ष्मी आधारभूत विद्यालयमा पनि कक्षा ६ देखि ८ सम्मका विद्यार्थी पढ्न आएका छैनन् । प्राचार्य रन्जनकुमार राजवंशीले भने, ‘अहिले बालकक्षाका बालबालिका मात्र छन् ।’ जहदा–१ बुधनगरको जनता बाल निमाविमा पनि कक्षा ७ मा १० र कक्षा ८ मा आठ विद्यार्थी मात्र उपस्थित छन् । खेतीपातीमा मजदुर अभावका कारण अझै एकसाता विद्यालय खाली हुने अवस्था रहेको प्राधानाध्यापक वीरेन्द्र मण्डलले बताए । जहदा गाउँपालिकाका आधा दर्जनभन्दा बढी सार्वजनिक विद्यालयका विद्यार्थी अहिले खेतमा भेटिने स्थानीय पवनलाल राजवंशीको भनाइ छ । विगतमा धान काट्न र मकै रोप्न प्रसस्त मजदुर पाइन्थ्यो । कुनै पनि अभिभावकले बालबालिकालाई विद्यालय छुटाएर काममा लगउनुपर्दैनथ्यो । ‘अहिले मजदुर पाइन छाडेपछि केटाकेटीको पढाइ छुटाएर भए पनि पाकेको वाली थन्क्याउने र नयाँ फसल लगाउने गरिन्छ,’ राजवंशीले भने, ‘त्यसो नगरिए फसल लगाउनै पाइँदैन ।

२०७६ मङ्सिर १० गते १२:०५ मा प्रकाशित