समाचारमा बालबालिका

बालबालिकाको खोपमा वार्षिक सवा २ अर्ब खर्च

सरकारले बालबालिकालाई दिने अत्यावश्यक मानिएका ११ खोपमा वार्षिक सवा २ अर्ब खर्च गर्ने गरेको छ । जन्मेदेखि १ वर्षसम्मका ६ लाख ४० हजार बालबालिकाका लागि आर्थिक वर्ष ०७४/०७५ मा २ अर्ब ११ करोड १७ लाख तीन हजार रुपैयाँ खर्च भएको छ । स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाअन्तर्गतको खोप शाखाका जनस्वास्थ्य प्रशासक राजेन्द्रप्रसाद घिमिरेले गत वर्षको तुलनामा यस वर्ष कम खर्च भएको बताए । नेपालमा प्रयोग हुने अघिकांश खोप वैदेशिक सहायताका भरमा सञ्चालन हुने गरेको छ । घिमिरेका अनुसार अधिकांश सहयोग अन्तर्राष्ट्रिय संस्था ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड इमिनाइजेसन ९गाभी० ले गर्दै आएको छ । नेपाल सरकारबाट भने २३ प्रतिशत मात्रै खोपमा आर्थिक सहयोग हुँदै आएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । 

गाभीको मात्रै ७० प्रतिशत सहयोग 

गाभीले नेपालका ६ लाख ४० हजार बालबालिकालाई लगाइने ११ प्रकारका खोपमा ७० प्रतिशत आर्थिक सहयोग गर्दै आएको छ । युनिसेफ र विश्व स्वास्थ्य संगठन बाट ७ प्रतिशत सहयोग रहेको छ । गत वर्षको तुलनामा यस वर्ष १५ करोड कम खर्च भएको छ । महाशाखाका अनुसार गत वर्ष अभियानका कारण दुई अर्ब २६ करोड १७ लाख तीन हजार खर्च भएको थियो । 

खोप कभरेजमा प्रश्न 

बाल स्वास्थ्य महाशाखाका निर्देशक डा। विकास लामिछानेले ३३ वटा पूर्ण खोप सुरक्षित जिल्ला घोषणा गरे पनि कभरेजमा प्रश्न उठेको बताए । ‘स्वास्थ्य मन्त्रालयले एक किसिमको टार्गेट दिन्छ,’ लामिछानेले भने, ‘तर, विभिन्न कारणले गर्दा मन्त्रालयले दिएको टाग्रेट पूरा भएको छैन ।’ उनले यसपटक खोप कभरेजमा केही प्रश्न उठेको पनि स्पष्ट पारे ।  उनले नेपाल पोलियो उन्मुलनको नजिक पुगेको समेत जनाए । प्रदेश २ र ५ मा नाकाबन्दी, आन्दोलन, बन्दजस्ता गतिविधिले गर्दा समयमा खोप चल्न नसक्दा कभरेजमा गिरावट आएको उनको भनाइ छ ।

२०७४ पुस २३ गते प्रकाशित