खोपबिना हुर्किन्छन् बालबालिका
जुगल हिमालको काख , मुटु कपाउने सिरेटो । बल्ल लागेको पातलो झुल्के घाम । जुगल गाउँपालिका ३ स्थित अन्तिम गाउँ दिपुकी ३० वर्षीया डोल्मा शेर्पा छोरी लाक्पाडोमालाई तेल लगाउँदै थिइन् । चार वर्ष टेकिसकेकी लाक्पा डोमाको कलिलो शरीर केही बिरामीजस्तो देखिन्थ्यो । अझैसम्म कुनै खोप र औषधिबिना हुर्किएकी कलिली छोरीबारे भनिरहँदा डोल्मा एकदमै भावुक देखिइन् । ‘यहाँ त स्वास्थ्यकर्मी आउँदैनन्, दिपुबाट पांगर्पूस्थित स्वास्थ्य चौकी पुग्न झण्डै दुई दिन हिँड्नुपर्छ, कसरी खोप लगाउनु र औषधि खुवाउनु र रु,’ उनले भनिन् । नजिकै स्वास्थ्य चौकी नभएकै कारणले ज्वरो निमोनियाले गर्दा चारवर्षे छोरा फुटेल गुमाउनुपरेको पीडा सुनाउँदै उनी रोइन् । ‘छोरी लाक्पाडोमासहित ७ वर्षकी दावासाङ्मो र १० वर्षीया निमायाङ्जीले पनि खोप लगाएको छैन्, हामी दुर्गमको यो नियतीजस्तै बनेको छ,’ उनले भनिन् । बालबालिकालाई खोप लगाउन दिपु र तेगाबाट गुम्बाथानस्थित स्वास्थ्य चौकी पुग्न तीन दिन लाग्ने गर्छ । ‘त्यहाँ जान नसक्ने भएपछि यत्तिकै हुर्किन्छन्, हाम्ले पनि खोप लगाएको छैन्, औषधि खाएको छैन्, यत्तिकै मरिने भइयो,’ ४३ वर्षीया ओङ्दी शेर्पाले भनिन् । ५ वर्षे छोरा पेम्बाजाङ्बु च्यापेर काममा व्यस्त शेर्पाले खोप र उपचार पाउनकै लागि दुई दिन जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता भोग्नुपरेको दुःखेसो गरिन् ।दिपु र तेगाको जंगली बाटो कटाउन लगभग एक दिन लाग्छ । त्यसपछिको तेम्बाथान, लाक्याप, निमाडोमा भीर र निमाडोमाको घनघोर लेकाली जंगल छिचोल्नमै दुई दिन बित्ने गर्छ । ३ दिनको थकानपूर्ण यात्रापछि मात्रै गुम्बाथानको स्वास्थ्य चौकी पुगिन्छ । ‘स्वास्थ्य संस्थासम्म पुग्दा आमा शिशु दुवै बिरामी हुन्छन्, त्यहाँसम्म पुग्न अधिकांश घना जंगल कटाउनुपर्छ, कसरी जोखिम मोल्ने त्यसैले हतपत जाने आट गर्दैनन्,’ उनले भनिन् ।चार वर्षकी पासाङ डोमा र छोरालाई आहिलेसम्म एउटा पनि खोप नलगाएकी उनले केही बिरामी भएमा झारफुक र जडिबुटीमा भरपर्नुपर्ने जनाइन् । जंगली जनावर घुमिरहने विकट क्षेत्रमा नजिकै स्वास्थ्य संस्था नभएको कारणले बालबालिका बिनाखोप औषधि उपचार हुर्किनुपरेको पीडा सुनाइन् । बिनाखोप र उपचारमा हुर्किएकी दिपु गाउँकी ३ वर्षका साङ्मु शेर्पालाई ज्वरो ठिक नभएपछि उपचार गर्न बोकेरै राजधानी जान कस्सिरहेका निफुर्पा एकदमै हतारमा भेटिए ।‘दुई वर्षकी फुर्पाले पनि खोप र औषधि लगाएकी छैन्, यहाँ लेक गाउँमा यस्तै हो, स्वास्थ्य चौकी छैन्, बिरामी भएपछि बोकेरै काठमाडौं कुद्नुपर्छ, हेलिकप्टर बोलाउनुपर्छ अरु विकल्प नै छैन,’ उनले भने । अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिकाको दिपु, तेगा गाउँका खोप र उपचारबिना हुर्किरहेका बालबालिकाका यी केही प्रतिनिधि पात्र मात्रै हुन् । भौगोलिक विकटताकै कारणले यहाँका ३० भन्दाबढी बालबालिका खोप र औषधि उपचारको अभावमा अनेक रोगको जोखिममा हुर्किरहेका छन् । ‘बाउबाजे खोप नलगाईकन हुर्के, कति उपचार नपाएकाले मरे, तर अहिलेसम्म हाम्रो अवस्था बदलिएको छैन, धेरै दुःख लाग्छ गर्ने पनि के रु,’ तेम्बाथानका अगुवा साइला शेर्पाले भने ।सरकारले सडक, बिजुलीदेखि विद्यालय र स्वास्थ्य संस्था सहज नगराउँदा तेम्बाथान, दिपु र तेगाका बासिन्दाले नरकजस्तै दुःख भोग्नुपरेको उनले उदाहरण दिए । ‘दिपु र तेगामा १५ , तेम्बाथानमा झन्डै दुई सय घरको हालत आदिम युगझै छ,’ उनले थपे । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार शिशुलाई जन्मेदेखि १५ महिनाको उमेरसम्म सरकारले रोगविरुद्ध लड्ने १२ खोप निःशुल्क उपलब्ध गराउँछ । तत्कालीन गाविस हुँदा खोप केन्द्र बनाएर स्वाथ्यकर्मीबाट शिशुका लागि खोप केन्द्र स्थापना गरिएको हुन्थ्यो । ‘हालै स्थानीय तहमा विभाजन भएपछि त्यो अभिभारा स्थानीय सरकारको जिम्मामा छ, हामीले आवश्यक औषधि र भ्याक्सिन उपलब्ध, शिविर गराउँछौं,’ उनले भने । जुगल गाउँपालिकाले ७ वटै वडामा आमा र शिशुदेखि अन्यका लागि प्रत्येक वडामा ३ जना स्वास्थ्यकर्मी सक्रिय रूपमा खटाइरहेको जनाएको छ । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने तेम्बाथानमै स्वास्थ्यकर्मी खोपका लागि प्रत्येक महिना एक पटक खटाइरहेको दाबी गरे । ‘सूचनाको कमीले यस्तो भएको हुन सक्छ, गुम्बाथान, पांगर्पूमा भौतिक संरचनाको खोप केन्द्र राखेका छौं, त्यहाँ स्वास्थ्यकर्मी बस्छन् भने तेम्बाथानमा बनाउँदै छौँ,’ उनले भने ।जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले भने स्वाथ्यकर्मी गाउँमै खटाइरहेको जानकारी दिइन् । स्थानीयले भने दुर्गम भएकै कारणले स्वास्थ्यकर्मी गाउँ नियमित नआउने गरेको बताउँदै आएका छन् ।
२०७६ माघ ७ गते ७:४२ मा प्रकाशित