बालबालिका भोकभोकै विद्यालय
हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स–साना बालबालिका भोकभाकै स्कुल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका–१४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् ।स्कुलनजिकैको पसलमा खानेकुरा खान बाबुआमाले ५र१० रुपैयाँ दिने गरेका छन् । बिहानै त्यही पैसाले स्कुलसँगै जोडिएको पसलमा जंकफुड किनेर खाने गरेका छन् । विद्यालय आएका अधिकांश बालबालिका बिहान विद्यालय परिसरमा जंकफुड खाइरहेका थिए । ‘भात खाएको छैन,’ एक कक्षामा अध्ययन गर्ने ८ वर्षीय नीरज लामाले लजाउँदै भने, ‘हाफ टाइम भएपछि घर गएर खाने ।’ ‘स्कुलमा नियमित दिवाखाजाको व्यवस्था गर्न सके बालबालिका भागेर जाँदैनथे,’ प्रधानाध्यापक अच्युतकृष्ण रिजालले भने, ‘दिवाखाजाको व्यवस्था गर्न दाताको खोजीमा छौं ।’ उनले अभिभावकसँग रकम उठाएर दिवाखाजाको व्यवस्था गर्न सक्ने अवस्था नभएको जनाए । ‘यहाँ ४र५ कक्षाका अधिकांश बालबालिका बिहान भोकै आउने गरेका छन्,’ रिजालले भने, ‘गरिबीका कारण उनीहरू भोकै आउन बाध्य भएका हुन् ।’ हेटौंडा उपमहानगरको दुर्गम क्षेत्रमा पर्ने उक्त बस्तीका अभिभावकको जीवन निर्वाहको मुख्य बाटो नै चुरेको खहरेमा बालुवा चालेर बिक्री गर्नु हो । बिहान उज्यालो हुनेबित्तिकै यहाँका अधिकांश काम गर्न सक्ने महिला–पुरुष चुरेस्थित खहरेको बगरमा पुगिसकेका हुन्छन् ।
आमाबाबुहरू खहरेमा पुग्दा छोराछोरी उठेका पनि हुँदैनन् । बालुवा चालेर उनीहरू दिउँसो खाना खान घर फर्कन्छन् । त्यति बेला छोराछोरी पनि स्कुलबाट घर आइसकेका हुन्छन् । स्कुलमा हाफटाइम भएपछि उनी घर जाने गर्छन् । ‘भोकभाकै आएकाले उनीहरूलाई स्कुलमा रोक्न सकिन्न,’ एक शिक्षकले भने, ‘घर जान दिएन भने भोक लाग्यो भनेर कक्षाकोठामा नै रुने गर्छन् ।’ हाफ टाइममा घर गएपछि उनीहरू स्कुल आउँदैनन् । भोलिपल्ट मात्र आउँछन् । तामाङ समुदायको मात्र बसोबास रहेको क्षेत्रका अधिकांश बासिन्दाको आर्थिक अवस्था अत्यन्त कमजोर छ । ‘अधिकांश बालबालिकाको अभिभावक बिहान सबेरै काममा जाने भएकाले सासाना बालबालिका भोकै स्कुल आउने गरेको’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारा लामाले भनिन्, ‘स्कुलमा दिवाखाजाको व्यवस्था गर्न नसकेकाले बिहान भोकभोकै आएका विद्यार्थी भागेर भए पनि हाफ टाइमपछि घर जाने गरेका छन् । उक्त क्षेत्रका अधिकांश बासिन्दालाई आफ्नो उत्पादनले वर्ष दिन पनि खान पुग्दैन । सिँचाइ समस्याले बारीमा मकै र कोदो मात्र उत्पादन हुन्छ । विद्यालयमा ३०१ छात्रछात्रा अध्ययन गर्छन् । त्यसमध्ये १७१ जना छात्रा छन् । तामाङ बाहुल्य क्षेत्र भएकाले गाउँमा बालविवाह व्याप्त छ । त्यसको प्रभाव विद्यालयमा पनि छ । बर्सेनि १० देखि १२ जोडीको विवाह हुने गर्छ । विवाह भएपछि अधिकांशले स्कुल छाड्ने गरेका छन् ।
२०७५ साउन ४ गते ८:४२ मा प्रकाशित