समाचारमा बालबालिका

शितलहरको कहरमा नाङ्गै खुट्टा विद्यालय जान्छन् बालबालिका

महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ५ की ७ वर्षकी अमृताकुमारी साह चप्पल बिना नै नियमित विद्यालय जान्छिन् । बाक्लो हुस्सु र शितलहरले कहर मच्चाएको समयमा अमृता पैदल १ किलोमिटर दूरी पार गरी गौशालामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा पढ्न पुग्छिन् । श्रीराम प्रावि गौशालामा गृहकार्य जाँच गराउने क्रममा भेटिएका कक्षा १ मा अध्ययनरत अनिश राम च्यातिएको कपडा र खुट्टामा चप्पलसमेत नलगाइकन पढ्दै आएका छन् । उहाँका बुबा ठेला चलाउनुहुन्छ । अमृता र अनिशजस्तै चप्पल नलगाइकन विद्यालय आउने अर्की विद्यार्थी हुन् कक्षा १ मा पढ्ने ८ वर्षीया सीमाकुमारी पासवान । अमृता, अनिश र सीमाजस्तै अरु धेरै विद्यार्थी यहाँका सामुदायिक विद्यालयमा चिसोको प्रवाह नगरिकन नियमित रुपमा पढ्न आउने गरेका छन् । नेपाल राष्ट्रिय आधारभुत विद्यालयकी शिक्षिका सुनिताकुमारी महतोले सामुदायिक विद्यालयमा धेरैजसो गरिब र दलित समुदायका बालबालिका पढ्न आउने  भए पनि चिसोका कारण विद्यार्थीको संख्यामा कमी आउँदै गएको बताउनुभयो । विद्यालयमा दाउराको व्यवस्था गर्नसके विद्यार्थीको संख्यामा पनि वृद्धि हुने उहाँको धारणा छ । प्रधानाध्यापक सिंहले नगरपालिका कार्यालयसँग दाउराको माग गर्नुभएको छ । पुसको पहिलो हप्तादेखि तराइमा शितलहरसँगै बाक्लो मात्रामा लागेको हुस्सुको कारण ५० प्रतिशतको हाराहारीमा विद्यार्थीहरु अनुपस्थित हुँदै गएको त्रिभुवन माध्यमिक विद्यालय गौशालाका शिक्षक भोगेन्द्रप्रसाद महतोले बताउनुभयो ।

२०७४ पुस ३ गते १४:६ मा प्रकाशित