समाचारमा बालबालिका

यौन हिंसाको जोखिममा बालबालिका

प्रहरीले बाल यौन दुराचार आरोपमा नेदरल्यान्डका एक बाल चिकित्सकलाई बिहीबार ठमेलस्थित होटलबाट पक्राउ गर्‍यो । ६६ वर्षीय पिट हेन भान तेरविस्गा नेपाली बालकसँगै ठमेल, सातघुम्तीको होटलबाट पक्राउ परेका हुन् । प्रहरीले उनलाई बाल यौन दुराचार (पेडोफिल) आरोपमा जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उनले यौन दुराचार गर्ने गरेको एक बालकलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको छ । ती बालकले आफू ४ वर्षदेखि पीडित रहेको बताएका छन् । यसैगरी, हेनरिकस एड्रिनस जोसेफस क्रुजस्सन पनि यौन दुराचार आरोपमै गत वर्ष कात्तिक २४ गते कोटेश्वरबाट पक्राउ परे । उनी बसेको स्थानबाट दुई बालकलाई उद्धार गरियो भने थप दुई बालकमाथि उनले यौनशोषण गर्ने गरेको अनुसन्धानका क्रममा देखियो । नेदरल्यान्ड्स टिलबर्ग निवासी ७५ वर्षीय उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जगन्नाथ देवल थुनामा पठाएको छ । यी केही प्रतिनिधि घटनासँगै बाल यौन दुराचार आरोपमा पक्राउ पर्नेमा सबैजसो विदेशी देखिएका छन्, र पीडित सबै बालक । विदेशी नागरिकहरू समाज सेवा र सहयोगको आवरणमा नेपाली बालबालिकामाथि यौनशोषण गर्ने गरेको पछिल्लो केही घटनाले प्रमाणित गर्छ । उनीहरूले केही न केही लोभलालच देखाएर बालकको यौनशोषण गर्ने गरेको देखिन्छ । केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकअनुसार यौनशोषणको सिकार भएका बालकको संख्या बालिकाको भन्दा निकै न्यून हो । यसलाई प्रतिनिधि घटना मान्दै गम्भीर हुनुपर्ने अवस्था रहेको प्रहरी अधिकारी बताउँछन् । यस विषयमा जागरूकताको निकै खाँचो रहेकोले प्रहरीसामु आउने घटनाको संख्या उल्लेख्य नभएको उनीहरूको भनाइ छ ।

ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि हालसम्म ७ वटा पेडोफिलका घटनामा ७ विदेशी र एक जना नेपाली सहयोगी पक्राउ परिसकेका छन् । यस अवधिमा पक्राउ परेकाबाट पीडित बालकको संख्या २३ छ । पीडकमा सबै नै ४५ वर्ष माथिका छन् भने पीडित किशोर र १६ वर्षसम्मका बालक रहेको प्रहरीले जनाएको छ । ब्युरोको तथ्यांक हेर्दा ४५ देखि ७५ वर्षका वृद्ध विदेशी पक्राउ परेको देखिन्छ, धेरैजसो ६० वर्ष नाघेका छन् । दर्ता भएका ७ वटै मुद्दामा विदेशी नागरिक मुख्य अभियुक्त हुनु प्रतिनिधि घटना मात्र रहेको र प्रहरीको आँखा छलेर यस्ता घटना थुप्रै भइरहेको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ बताउँछन् ।  ‘हामीलाई बालक कोही विदेशी वा पुरुषसँग हिमचिम बढेको, बसेको देखे नयाँ लाग्दैन,’ गुरुङले भने, ‘त्यसकै फाइदा उठाउँदै बिस्तारै सम्बन्ध बढाएर बालकलाई यौन दुराचार गर्ने गरेको देखिएको छ । उनीहरूले परिवारलाई विश्वासमा लिने, बच्चालाई पढाइदिने, आर्थिक सहयोग गर्ने, नयाँ कपडा र सामान किनिदिने, घुम्न लैजाने र त्यही निकटताको फाइदा उठाउँदै शोषण गर्ने गरेको गुरुङको भनाइ छ । प्रायस पीडित बालक विपन्न परिवार र आमाबुवाले समय दिन नसक्ने किसिमको हुने गरेको उनको अनुभव छ । प्रहरी प्रवक्ता शैलेश थापाको भनाइमा सडक बालबालिका पनि यस्ता विदेशीको सिकार भइरहेका छन् । सडकमै बस्ने, लागूपदार्थ सेवन गर्ने, घरपरिवारबाट टाढा रहेका बालक झन् बढी जोखिममा रहेको उनको भनाइ छ । ‘कति अवस्थामा त उद्धार गरिएका बालकको अभिभावक भेट्नै कठिनाइ हुन्छ,’ थापाले अनुभव सुनाए । बालकलाई सुरुमा खानेकुरा, मोबाइल आदि उपहार देखाएर उनीहरूसँग निकटता बढाउने, नुहाइदिने, लुगा फेरिदिनेजस्ता कार्य गर्छन् । सम्बन्धको दायरा फराकिलो बनाउँदै उनीहरूलाई गुप्तांग खेलाउन लगाउने, मुखमैथुन गराउने, गुद्वार मैथुन गर्नेजस्ता कार्य गर्नरगराउन थाल्छन् । ‘सडक बालकहरूको हकमा एक किसिमको नेटवर्क हुने गरेको देखिएको छ । एउटा बालकलाई शोषण गरिसकेपछि त्यसैमार्फत अरूलाई पनि बोलाउन लगाउने र शोषण गर्ने गरेको देखिएको घटना पनि छन्,’ प्रवक्ता थापाले भने । धेरैजसो घटना विदेशीको बढीजसो बसाइ र चहलपहल हुने ठमेल क्षेत्रमा भएका छन् । कुल ८ घटनामा ५ घटना ठमेलको होटलमा छापा मार्दा खुलेको देखिन्छ । प्रहरीले सूचना पाएपछि छापा मार्दा कोही अर्धनग्न त कोही बालकलाई कोठाभित्रै लुकाएर राखेको अवस्थामा पक्राउ पर्छन् । उद्धार गरिएका बालकहरूमा मानसिक विचलन देखिने गरेको उपरीक्षक गुरुङको भनाइ छ । कलिलो उमेरमा भएको यस्ता घटनाले उनीहरूको व्यक्तित्व विकासमा बाधा पुर्‍याउने र समय क्रमसँगै दीर्घकालीन असर देखिने गरेको उनले बताए । मनोविज्ञ करुणा कुँवर त्यस्ता घटनाका पीडित बालकहरूमा शारीरिक र मानसिक समस्या देखिने बताउँछिन् । ‘यदि बच्चालाई डर, धम्की देखाई यौनजन्य दुव्र्यवहार गरिएको हो भने निद्रामा डराउने, तर्सिने हुनुका साथै आत्मविश्वासमा कमी हुने हुन्छ । पेडोफिल हुनुको वास्तविक कारण खुल्न सकेको छैन,’ कुँवरले भनिन्, ‘केही अध्ययनले जसलाई कम उमेरमा त्यस्तो दुव्र्यवहार भएको हुन्छ उसले नै पछि गएर अन्य बालबालिकाको यौन दुराचार गर्ने गरेको देखाएको छ । यसलाई निको पार्ने उपचार पनि पत्ता लागेको छैन तर मानसिक उपचारका क्रममा कामेच्छा घटाउने औषधि प्रयोग गरेर रोगीलाई नियन्त्रण राखिने गरिएको छ ।

बेपर्वाह अभिभावक
नेपाली समाजमा बालिका किशोरावस्थामा प्रवेश गर्ने बित्तिकैदेखि उनी कोसँग डुलिरहेकी छन्, कहाँ जान्छिन्, के–के गर्छिन् अभिभावकले ती सबैको ख्याल राख्ने गर्छन् । छोरी वा बालिका यौनशोषणमा पर्ने हो कि भन्ने डर हुन्छ । अभिभावकसँगै उनीमाथि आफन्त, छरछिमेक सबैको ध्यान हुन्छ । तर बालकमाथि अभिभावकको खासै ध्यान जाँदैन, पुरुषसँग देखे भने सामान्य लिन्छन् । यसकै फाइदा विदेशी अपराधीहरूले उठाइरहेको देखिन्छ । धेरैजसो बालिकाहरू आफूमाथि हुन सक्ने यौनशोषणका विषयमा धेरथोर जान्ने भए पनि बालकको हकमा अभिभावक र स्वयं बालकसमेत सम्भावित हिंसाबारे बेखबर देखिन्छन् । बालकलाई यस्ता विषयमा परिवार वा विद्यालयमा सिकाइन्न । प्रहरी उपरीक्षक गुरुङको भनाइमा, ‘परिवारलाई सामान्यतस् बालकमाथि भएको हिंसाको जानकारी भएको देखिन्न । उनीहरूका लागि बालकमाथि पनि यौनहिंसा हुन्छ भन्नु सोचभन्दा परको कुरा हो । बालक उपलब्ध गराउन नेपालीको संलग्नता केवल एक घटनामा देखिए पनि यस्ता कार्यमा सहयोग गर्ने नेपाली धेरै हुन सक्ने प्रहरीको अनुमान छ । अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस २०७३ भदौमा ठमेलबाट पक्राउ परेपछि उनका सहयोगी स्वयम्भूका बुद्ध पुतवारलाई पनि सोही समय पक्राउ गरिएको थियो । ४८ वर्षीय केनेथलाई विभिन्न जिल्लाबाट यौनशोषणका लागि पुतवारले नै बालक उपलब्ध गराउँथे । उनले अन्य विदेशीलाई पनि नेपाल बोलाएर यौनसम्बन्धका लागि बालक उपलब्ध गराउने गरेको खुलेको थियो । त्यस समय होटलबाट उद्धार गरिएका ४ सँगै केनेथबाट १० बालक पीडित भएको खुलेको थियो । अनुसन्धानका क्रममा अमेरिकामा समेत उनीविरुद्ध बाल यौन दुराचारको रेकर्ड भेटिएको थियो ।

केनेथ र पुतवार दुवैमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारका साथै बाल यौन दुराचारको मुद्दा चलाएको थियो । हाल २०७४ वैशाखमा काठमाडौं जिल्ला अदालतको फैसलाले केनेथलाई ९ वर्ष कैद र दुई बालकलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । पुतवारलाई चार वर्ष कैदसजाय सुनाइएको छ । टुरिस्ट भिसामा आएका जर्मन नागरिक ६३ वर्षीय अल्बर्ट फ्रेड क्लिनिकेलाई पनि २०७४ असारमा पक्राउ गरिएकोमा अदालतले ९ वर्ष कैद र उद्धार गरिएका बालकलाई १ लाख क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ । तर बालिकाको हकमा जस्तो समाजमा पुनस्र्थापनाका लागि जति संघर्ष बालकको हकमा गर्नु पर्दैन । बालिका करणी भए घरपरिवारले त्यागिदिने, विभिन्न संस्थाको शरणमा जानुपर्ने स्थिति भए पनि बालकको हकमा समाजमा स्थापना गर्न खासै जटिल हुन्न । अभिभावक दुस्खी भए पनि परिवारमा पुनस्र्थापना गराउन गाह्रो नहुने उपरीक्षक गुरुङको अनुभव छ । मुलुकी ऐनको जबरजस्ती करणीको महलअन्तर्गत बालयौन दुराचार पुष्टि भएको खण्डमा अधिकतम ११ वर्षसम्मको जेलसजाय र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने हुन सक्छ । मुलुकी ऐन ११ औं संशोधन ९२०५८० ले बाल यौन दुराचारलाई कानुनी रूपमा स्थान दिएको पाइन्छ । यस ऐनको प्रयोग गर्दै तीन विदेशीलाई अदालतले सजाय सुनाइसकेको छ । तर विदेशी मात्र नभई यस्ता घटना नेपालमा पनि हुने गरेको भन्छिन्, मनोविद् कुँवर । पेडोफिलिया एक मानसिक रोग हो, जसमा व्यक्तिलाई आफूभन्दा कम उमेरका व्यक्तिसँग यौनसम्बन्ध राख्न मन लाग्छ। अहिलेसम्मका घटनामा बालक मात्र प्रताडित देखिए पनि बालिका पनि पेडोफिलको सिकार हुने गरेका छन् । बालिका करणी हुनु पनि बाल यौन दुराचारकै स्वरूप हो । पक्राउ पर्नेमा धेरैजसो अधवैंसे र वृद्ध देखिए पनि पेडोफिल युवामा हुन्न भन्नु सही नहुने मनोविद्को भनाइ छ। पक्राउ परेको उमेरका आधारमा वृद्धमा मात्र हुने भन्नु उचित हुन्न । उनीहरू लामो समयदेखि त्यस्ता गतिविधि गरिरहेको हुने तर पछि पक्राउ परेको भरमा पेडोफाइल केवल अधवैंसे वा वृद्धमा हुन्छ भन्नु गलत हुन्छ । यसैगरी विदेशी मात्र पेडोफिल हुन्छन् भन्नु पनि भ्रम मात्र हुने उनी बताउँछिन् । नेपालमा बालिकामाथि भइरहेको यौन हिंसा पनि पेडोफिलियाकै उदाहरण हुन् । पेडोफिलको न्यूनतम उमेर १६ वर्ष हुन्छ र उसले सिकार बनाउने बच्चा ऊभन्दा कम्तीमा पनि ५ वर्ष कान्छो हुन्छ । अर्थात् आफूभन्दा कम्तीमा पनि ५ वर्ष कान्छोसँग यौनसम्बन्धको इच्छा हुनु पेडोफिलिया हो । तर यसो भन्दैमा ५ वर्ष फरकको सबै शारीरिक सम्बन्ध पेडोफिलिया होइनन् । यसो हुन सिकार बालक वा बालिका किशोरावस्थाको हुनुपर्छ । नेपालमा पछिल्लो वर्षमा बालिका करणीका घटनामा पनि निकै वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा कुल ९ सय ८१ महिलामाथि बलात्कार भएको देखिन्छ जसमा ५८ प्रतिशतभन्दा बढी १६ वर्षमुनिका बालिका छन् । आर्थिक वर्ष २०७२/७३ मा जबरजस्ती करणीको संख्या बढेर १ हजार ८९ भएको छ जसमा बालिका झन्डै ५२ प्रतिशत रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । त्यपछिको वर्षमा यो संख्या १ हजार १ सय ३१ भएको छ । जसमा पीडित बालिका झन्डै ५८ प्रतिशत देखिन्छन् । यस आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक हेर्दा ९ सय ७० जना १६ महिलामाथि बलात्कार भएको छ, ४ सय ८५ माथि बलात्कार प्रयास भएको छ । प्रहरी प्रवक्ता थापा भन्छन्, ‘७०–८० प्रतिशत बालिका करणीका घटनामा उनीहरूले चिनेजानेको मान्छे नै संलग्न छन् । यस्तोमा उनीहरूले परिवारको इज्जत जोगाउने नाममा प्रतिकूल बकपत्र गरिदिने डर रहन्छ ।’ धेरैजसो घटनामा बालिकाका बुवा, दाइ, उनका साथी, पारिवारिक मित्र, ब्वाइफ्रेन्ड र उनका साथीजस्ता चिनेजानेकैको नाममा उजुरी परेको हुन्छ । थापाका अनुसार आफन्तलाई नै सजाय दिलाउनेमा परिवारमा एकमत हुन सक्दैन र बालिकालाई बयान फेर्न लगाइन्छ । यसले अभियुक्त सजिलै उम्किन्छ । सामाजिक र पारिवारिक दबाबले बालिकाले बयान फेर्ने गरेका घटना थुप्रै रहेको उनको अनुभव छ ।

२०७५ असार ६ गते ७:३३ मा प्रकाशित