समाचारमा बालबालिका

बालबालिका र किशोरी बालविवाहविरुद्ध

रैनादेवी छहरा ७ बल्ढेङगढीका बालबालिकाले बालविवाहको विरोधमा एकजुट हुने प्रतिबद्धता जनाएका छन् । आउँदा दिनमा गाउँपालिका, वडा कार्यपालिका र विभिन्न संस्थाको सहयोगमा यसको विरोधमा जनचेतना अभिवृद्धि गरेका हुन् । किशोरी र बालबालिकाले बल्ढेङगढीका साथै छिमेकी जुठापौवा र सत्यवतीमा पनि बालविवाहलाई निरुत्साहित गर्न सक्रिय हुने बताए । रैनादेवी छहराको ६, ७ र ८ वडामा १३ देखि १६ वर्ष उमेर समूहका बालबालिका र किशोरीको सानैमा विवाह हुन्छ । पहिलोपटक दुई वर्षअघि बालविवाहविरुद्ध तालिम लिएपछि यस्तो अभियान अघि बढाएको १७ वर्षीया पूजा कार्कीले बताइन् । बालविवाहमुक्त वडा बनाउन तीनवटै गाउँमा अभियान चलाएको उनले जानकारी दिइन् । ‘अटेरी गर्ने धेरै छन्,’ उनले भनिन्, ‘त्यसैले समस्या छ । जुठापौवा, सत्यवती, बल्ढेङगढीमा १५ वर्ष नपुग्दै विवाह गर्ने चलन अत्यधिक छ । कक्षा ८ पढेपछि विवाह गर्ने अहिले पनि धेरै छन् । कक्षा १० सम्म आइपुग्दा धेरैले विवाह गर्ने र पढाइ छाड्ने गर्छन् । आदिवासी, जनजाति र दलित बस्तीमा यस्तो समस्या बढी भएको उनले बताइन् । ‘हाम्रो गाउँतिर १४ वर्षमै विवाह गर्ने चलन छ,’ उनले भनिन्, ‘दुई वर्षदेखि अभियान चलाउँदै आएको र यसलाई न्यूनीकरण गर्ने हामी सबैको दायित्व हो भन्ने बुझेका छौं ।’बालविवाह बढदै गएपछि मावि र माथिल्लो तहमा अध्ययन गर्ने मिलेर रोक्ने प्रतिबद्धता धेरै पटक गरेका छन् । अभिभावक र छोराछोरी दुवैलाई बुझाउन नसक्दा बालविवाह नरोकिएको हो । यसबाट पर्ने असरबारे विद्यालयदेखि गाउँटोल तहसम्म चेतना जगाउनुपर्ने हो तर सरकारी तहबाट सहयोग नपाएको १३ वर्षीय गौरी बगालेले बताइन् । १५ वर्ष नपुग्दै विवाह गरेकी मनु सिंजालीले चेतना अभावले नै सानो उमेरमा विवाह गरेको बताइन् । ‘हामीलाई यसबारे सिकाउन कोही पनि आएन,’ उनले भनिन्, ‘हामी आफैंले जानिएन र विवाह गरियो ।’ १८ वर्ष नपुगेकी उनको काखमा दुई वर्षको छोरा छ । हाम्रा गाउँघरमा चेतनाको अभाव धेरै छ,’ उनले भनिन्, ‘अझै पनि कतिपयले देखासिकी गर्दा पनि चाँडै विवाह गर्ने गर्छन् । हामी पनि साथीभाइको संगतले गर्दा नै छिट्टै विवाह गरियो ।’ उनले सानो उमेरमा विवाह गर्दा हुने समस्याबारे जानकारी गराउन सक्नुपर्ने सुझाव दिइन् । आगामी दिनमा गाउँका विद्यालयमा विद्यार्थीलाई बालविवाह नगर्न सिकाउन पर्ने उनले बताइन् । कलिलो उमेरमा विवाह गर्दा शारीरिक, मानसिक र शैक्षिक अवस्था बिग्रने बुझाउन सकियो भने कमी हुँदै जानेमा उनी विश्वस्त छिन् ।

सामाजिक रूपमा समेत इज्जत र प्रतिष्ठा गुम्छ भन्ने चेतना फैलाउन जरुरी रहेको स्थानीय विष्णु विकले बताइन् । उनका अनुसार गाउँटोल र विद्यालयमा अब अभियान नै चलाउनुपर्ने छ । जिल्लामा हुने बालबालिकासम्बन्धी भेला, बैठक, कार्यक्रममा आफूहरूको सहभागिता हुनुपर्नेसमेत उनको माग छ । विवाहपछि पढाइ छाड्ने भएकाले बालबालिकाको भविष्य बर्बाद भइरहेको स्थानीय मोहनीलाल खडकाले बताए । धेरै बालबालिकाले पढापढदै विवाह गरिरहेका छन्,’ उनले भने, ‘विवाहपछि पढाइ छाडा झनै भविष्य बिग्रँदै गएको छ ।’ यस भेगमा कतिपयको अभिभावकले नै छिटो विवाह गरिदिने गर्छन् । कतिपय भने आफैं विवाह गरिरहेको पाइन्छ । धेरैजसोले समान उमेर र कक्षाका साथीसँग विवाह गर्छन् । बल्ढेङगढीस्थित गहते माविका प्रधानाध्यापक भोजबहादुर खडकाका अनुसार कक्षा ५ पढेदेखि नै विवाह हुन थाल्ने समस्या अझै हटेको छैन । ‘धेरैपटक बालबालिका र अभिभावकलाई सानो उमेरमा विवाह गर्नु हुँदैन भनेर सम्झाउने गरिन्छ,’ उनले भने, ‘तर उनीहरू आफ्नो सुर छाडदैनन् । त्यसैले समस्या छ ।’ जसका कारण उनीहरूलाई अध्ययनमा निरन्तरता दिन र घरव्यवहार चलाउन कठिन भएको प्रअ खडकाले बताए । उमेर नपुग्दै विवाह गर्ने र पछि पछुताउने पनि छन् । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बालविवाहको समस्या रहेका वडामा यसविरुद्ध जनचेतामूलक कार्यक्रम गर्ने योजना रहेको बताए । उनका अनुसार बालबालिकासम्बन्धी कार्यक्रम गर्ने र विद्यालयबाट नै यस विषयमा जनचेतना जगाउने अभियान थालिने छ । ०६८ को जनगणनाअनुसार १५ देखि १९ वर्ष उमेरभित्र जिल्लाका ५१ प्रतिशत किशोरकिशोरीको विवाह हुने गरेको छ । जिल्लामा १४ वर्षमुनिको उमेरमा पहिलो विवाह हुने १० दशमलव ७३ प्रतिशत रहेका छन् । पुरुष ३ दशमलव ४६ प्रतिशत र महिला १५ दशमलव १५ प्रतिशत रहेको छ । कुल २ लाख ६१ हजार १ सय ८० जनसंख्यामध्ये मगरको मात्र १ लाख ३६ हजार ७ सय ५० रहेको छ । जिल्लामा १४ देखि १९ वर्षसम्मका ३१ हजार ६ सय ९६ किशोरकिशोरी छन् ।

सक्रियता देखाउँदै छात्रछात्रा
दाङ– घोराही उपमहानगरपालिका २ मोतिपुरकी २० वर्षीया शिवा परियारले १५ वर्षको उमेरमा विवाह गरिन् । सानोमा पढ्न नपाउँदा उनी उमेर नपुग्दै विवाह गर्न बाध्य भइन् । चाडो बिहे गरेका अहिले भने उनलाई पश्चाताप लागिरहेको छ । त्यसकारण उनी बालविवाह नगर्ने सन्देश दिँदै गाउँगाउँ हिँडिरहेकी छन् । आफूजस्तै अन्य साथीसित बालविवाहविरुद्ध घरदैलो अभियानमा उनी सक्रिय छिन् । उनी बालबालिकालाई उमेर नपुगी विवाह नगर्ने सन्देश दिन्छिन्, यसतर्फ लागेकालाई सम्झाइ९बुझाई गर्छिन् । सानोमा केही थाहा नहुने रहेछ । लहैलहैमा लागेर या बाध्यताले बिहे भइरहेको छ,’ उनले भनिन्, ‘बीस वर्ष नपुगी विवाह गर्नु कानुनविपरीतको काम रहेछ । अहिलेमात्रै थाहा भयो । त्यसकारण म अरूलाई यो कुरा सिकाउँदै हिँडेकी छु ।’ बुबाआमा सिलाइकटाइ गरेर जीविका चलाउँथे । आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नपाएको उनले गुनासो गरिन् । सानो उमेरमा विवाह गर्दा शारीरिक र मानसिक समस्या हुने उनको बुझाइ छ । बालविवाह बढ्न थालेपछि विवाहित बालबालिकासमेत यसविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् । बालविवाहले बालबालिकाको भविष्य बर्बाद पार्ने भएकाले यसतर्फ समयमै सचेत हुनुपर्ने रामपुर बाल क्लबकी सदस्य प्रेरणा डिसीले बताइन् । उमेर नपुगी विवाह गर्दा पढाइ छुट्छ । बच्चा जन्माउन थाल्दा ज्यान नै जोखिममा पर्छ,’ उनले भनिन्, ‘परिपक्व नभई हुने विवाहले जीवन नै अस्तव्यस्त हुनसक्छ । धेरै बालबालिका सानोमा विवाह गरेर दुस्ख पाइरहेका छन् । त्यसकारण यो गलत प्रवृत्ति रोक्न हामी गाउँघरमा चेतना फैलाउँदै हिँडेका छौं ।

बालविवाहविरुद्ध अभियानमा बयस्कले पनि साथ दिइरहेको घोराही २ रामपुरकी सरिता नेपालीले बताइन् । ‘बालविवाहविरुद्ध चेतना जगाउन बालबालिका नै घरदैलो हिँडेपछि हामीले पनि साथ दिएका हौं । यो अभियानले समाजमा राम्रो प्रभाव पारेको छ,’ उनले भनिन्, ‘बालबालिकाको भविष्य बचाउन बालविवाह रोक्नैपर्छ । समयमै सबैलाई सचेत बनाउनुपर्छ । बालबालिकाको बिहे रोक्ने अभियानमा प्रहरीले पनि सक्रियतापूर्वक साथ दिइरहेको प्रहरी चौकी रामपुरका इन्चार्ज केशवसिंह धामीले बताए । ‘बालबालिका आफंै अग्रसर भएपछि हामीलाई सजिलो भएको छ । अधिकांश अभिभावक अशिक्षित छन् । जबर्जस्ती विवाह गरिदिन खोज्छन्,’ उनले भने, ‘केटाकेटी मन पराएर विवाह गर्ने क्रम पनि कमी छैन । यस्ता घटना रोक्न हाम्रो एक्लो प्रयासले सम्भव हुँदैन । बाक्लबहरू नै सक्रिय भएपछि हामीलाई काम गर्न झन सजिलो भएको छ ।’बालविवाह न्यूनीकरण गरी वडालाई बालविवाहमुक्त बनाउने योजना बनाइरहेको घोराही उपमहानगरपालिका २ का अध्यक्ष केशव आचार्यले बताए । ‘बालविवाह समाजमा विकृतिका रूपमा बढिरहेको छ । बालबालिका आफैं भाग्ने क्रम बढ्दो छ,’ उनले भने, ‘घरघरमै पुगेर बालबालिका र अभिभावकलाई यसतर्फ सचेत गराइरहेका छौं । बालबालिकालाई गलत बाटोमा जानबाट रोक्न सबै अभिभावक समयमै सजग हुनुपर्छ ।’बालविवाह समस्याका रूपमा देखा परेपछि स्थानीय तहले पनि यसलाई गम्भीरतासाथ लिएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । बालविवाहमुक्त समाज बनाई बालमैत्री उपमहानगर बनाउने योजना रहेको उनले जनाए । म आफैं पनि विभिन्न गाउँमा घरदैलो पुगेर बालविवाह नगर्न नगराउन अनुरोध गरेको छु । ठाउँठाउँमा बाल क्लब र अभिभावकहरू पनि घरदैलो अभियानमा छन्, उनले भने, ‘सबैको प्रयास भयो भने बालबालिकालाई जोखिमबाट बचाउन सकिन्छ । बालअधिकार संरक्षणमा बालविवाह नै मुख्य चुनौती बनेको छ ।

 २०७५ जेठ ९ गते ११:३६ मा प्रकाशित