समाचारमा बालबालिका

सानैमा विवाह, पछि हिंसा

महाकाली नगरपालिका ९, आम्भोजकी कृष्णा खड्का मगर अहिले २२ वर्षकी भइन् । ५ वर्षअघि गाउँकै तोपबहादुर मगरसँग विवाह गरेकी उनको घरबार १ वर्षसम्म राम्रै चल्यो । घरमा सासू–ससुरा कोही नभएपछि सबै जिम्मेवारी उनकै काँधमा थियो । तर पति तोपबहादुर अर्कै महिला लिएर भारततिर हिँडेपछि यतिबेला उनलाई पीडासँगै पछुतो पनि लागेको छ । पढाइ गर्ने उमेरमा आफैंले मन पराएर विवाह गरेकी उनी समस्यामा छिन् । घरबार चलाउनेदेखि छोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ । ‘विवाह गर्ने उमेर त बल्ल हुन लाग्यो,’ उनले भनिन्, ‘त्यतिबेला होस नपुर्‍याउँदा अहिले पछुतो भएको छ ।’उनका पति ३ वर्षअघि अर्की महिलालाई लिएर भारतको दिल्ली हिँडेका हुन् । कृष्णाले त्यही खबर पनि आफन्तबाटै पाएकी हुन् । तर तोपबहादुरले भने हालसम्म कुनै सम्पर्क गरेका छैनन् । त्यतिबेला उनकी छोरी भर्खर जन्मेकी थिइन् । विद्यालय जान थालेकी छोरीको पढाइ खर्चदेखि रेखदेखमा उनलाई निकै समस्या भएको छ ।आम्भोजकै तारा सुनार पनि भर्खर २३ वर्ष पुगिन् । उनले पनि घर छाडेर माइतीमै बसेको डेढ वर्ष पुग्यो । दिनहुँको यातना र विभिन्न समस्याले उनी घर छाडेर माइतीमा बस्न थालेकी हुन् । ‘अब त्यो कुरा नगरेकै राम्रो,’ उनले भनिन्, ‘विवाह गर्दा होस् नपुर्‍याउँदा अहिले दुस्ख पाइयो ।’कृष्णा र तारा दुवै यतिबेला सिलाइ–कटाइको काम गरिरहेका छन् । यहाँको एक गैर–सरकारी संस्थाको सहयोगमा उनीहरूले तालिमसँगै सिलाई मेसिन सहयोग पाएपछि आफैंले काम सुरु गरेका हुन् । सिलाइ–कटाइबाट थोरै भए पनि आम्दानी भइरहेको उनीहरू बताउँछन् । त्यही आम्दानीबाट घर खर्च चलाइरहेको उनीहरूको भनाइ छ । महाकाली नगरपालिकामा कम उमेरमै विवाह गर्ने र छिट्टै सम्बन्ध बिग्रेर अलपत्र पर्नेको संख्या उल्लेख्य छ । अधिकांश विपन्न समुदायको बसोबास रहेको उक्त क्षेत्रमा जनचेतनाको स्तर निकै कम भएकाले पनि स्कुल पढ्दापढ्दै विवाह गर्नेहरूको संख्या धेरै छ । विवाह भएको एकरदुई वर्षमै पारिवारिक सम्बन्ध बिग्रेर उनीहरू अलपत्र भई दुस्ख पाउने गरेका छन् । विवाह गरी पुरुषहरू रोजगारीका लागि भारत जाने गर्छन् । उनीहरू लामो समयदेखि घर नफर्किने र उतै विवाह गरी बस्ने गरेका घटनाहरू पनि प्रशस्त छन्। किशोर–किशोरी परिपक्व नहुँदै आफनै निर्णयमा विवाह गर्ने र पछि घर परिवारको दबाबले महिलाहरूमाथि हिंसा हुने गरेको हो। ‘किशोरावस्थामै विवाह गर्ने र पछि हिंसामा परेर अलपत्र भएका महिला धेरै छन्,’ महाकाली नगरपालिकाकी बर्खा चन्दले भनिन्,पढ्दा–पढ्दै विवाह गर्ने र पछि पछुताउने गरेका छन्।

२०७६ मङ्सिर ११ गते १:०६ मा प्रकाशित