समाचारमा बालबालिका

४० प्रतिशत कलिलैमा आमा

गत वर्ष पिपलकोटमा बच्चा जन्माउन नसक्दा १५ वर्षीया कृष्ण कसेराले ज्यान गुमाइन् । नवजात शिशुको समेत मृत्यु भयो । उनले १३ वर्षमा विवाह गरेकी थिइन् । पाँच महिनाअघि जिल्ला अस्पतालमा नारायण नगरपालिका ९ की १५ वर्षीया दीपा शाहीको शल्यक्रियामार्फत प्रसूति गराइयो । उनीहरू मात्र होइन, २० वर्षमुनिका अधिकांश गर्भवतीलाई बचाउन शल्यक्रियामार्फत प्रसूति गराउने गरिएको छ । जिल्ला स्वास्थ्यको पछिल्लो तथ्यांक हेर्ने हो भने बालविवाहको अवस्था भयानक देखिन्छ । आमा बन्ने उमेर २० वर्षमाथि भए पनि ४० प्रतिशतभन्दा बढी कलिला उमेरका किशोरी आमा हुने गरेको देखिएको छ । जिल्ला स्वास्थ्यका अनुसार चालु आवको तथ्यांकमा १३ वर्षमाथि र २० वर्षमुनिका ४० प्रतिशत आमा बनेका छन् । जिल्ला स्वास्थ्य प्रमुख डा। निरञ्जन पन्तका अनुसार उनीहरूमध्ये अधिकांशको अप्रेसनबाट प्रसूति गराइएको छ । उनका अनुसार कलिलै उमेरमा आमा बन्न तयार भए पनि जन्माउन नसक्दा आमा र शिशुको ज्यान बचाउन अप्रेसन गर्नुपर्ने अवस्था आएको हो । आफ्नै स्याहारसुसारमा ध्यान दिन नसक्ने कलिला बालिकारकिशोरी आमा बन्न तयार त हुन्छन्,’ उनले भने, ‘तर जन्माउन नसक्दा आमा र बच्चा दुवैको ज्यान जोगाउन अप्रेसन गर्नुपर्ने हुन्छ । केहीलाई गर्भवती अवस्थामा कतिपटक जाँच गर्ने भन्नेसमेत थाहा नहुने उनले अनुभव सुनाए । यही कारण मातृ मृत्युदर बढ्ने गरेको हो ।

अस्पतालमा आएका कतिपय गर्भवती आमा गर्भावस्थामा खानपान र स्याहारसुसारमा ध्यान नदिने अवस्थाका हुन्छन् जसले शिशुको स्वास्थ्यमा समेत असर पारिरहेको छ । दैलेखमा अहिले ६८ प्रतिशत २० वर्षमुनिका बालबालिकाले बिहे गरेको तथ्यांक सार्वजनिक भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) र नेपाल प्रहरीको सहकार्यमा गत वर्षमा मात्र एक हजार ९३ बालविवाह रोकिएको थियो । केन्द्रका अध्यक्ष हीरासिंह थापाका अनुसार अपरिपक्व उमेरमा विवाह गरेकाले बढ्दो उमेरसँगै केटा वा केटीले बहुविवाह गर्ने क्रम बढ्दै गएको छ । घरपरिवारको नियमित रेखदेख र शिक्षा स्वास्थ्यजस्ता कुरामा ध्यान दिनसके बालविवाह कम हुने र कलिलै उमेरमा आमा बन्ने संख्यामा कमी आउने नारायण नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख माधुरी न्यौपानेले बताइन् । उनका अनुसार बालबालिकालाई नियमित खेलकुद र पढाइप्रति आकर्षण गरे मात्र विवाहमा कम ध्यान जाने देखिन्छ । समाजको पुरातन सोचमा परिर्वतन ल्याए मात्र बालविवाहको घटनामा कमी आउने उनले जनाइन् ।

२०७५ माघ २८ गते ८:०९ मा प्रकाशित