समाचारमा बालबालिका

बर्दघाट रोकिएन बाल विवाह :१४ वर्षमै विहे, १५ वर्षमा आमा

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ बाँसखोलाकी पुनम गाहा १६ वर्षकी भइन्। उनकी एक डेढ वर्षकी छोरी छन्। उनका श्रीमान केशर पनि बल्ल २१ वर्षका भए। उनको नत कुनै जागिर छ नत कुनै आम्दानीको श्रोत। बुवाआमासँगै भएकाले पनि अहिलेसम्म उनले पारिवारिक जिम्मेवारी लिनुपरेको छैन। बालमैत्री घोषणा भैसकेको सुनवल नगरपालिकाकी पुनम र बाँसखोलाका केशरको विहे हुँदा पुनम १४ वर्षकी थिइन्। अहिले उनी आमा बने पनि उनमा बालापन भने अझै हट्न सकेको छैन। केशरकी दिदी तिलमायाले पनि १५ वर्षको उमेरमा ईसाक खाम्चासँग विहे गरिन्। उनी १७ वर्षकी भइन्। उनको पनि एक वर्षको छोरा छ। बुवाआमा भइसके पनि उनीले आफ्नो र आफ्ना बालबच्चाको भविष्यबारे योजना बनाएकै छैनन्। बनाउन पनि कसरी रु उनीहरुमा अझै बालापनको लतले छोडेकै छैन। उनीहरु मात्र होइनन् बाँसखोलामा रहेका अधिकांश घरमा कम उमेरहरु विवाहमा बन्धनमा बाँधिसकेका छन्। यहाँ रहेको मगर समुदायमा प्रायः भागी विवाहको प्रचलन रहेकाले पनि कम उमेरमै विवाह हुने गरेको स्थानीयहरु बताउँछन्। कम उमेरमै विहे गरे पनि उनीहरुका अभिभावकहरुले कुनै विरोध गर्दैनन्। बरु चलन नै यस्तै हो भन्ने गरेका छन्। कानुन अनुसार केटा र केटी दुवैको २० वर्ष नपुग्दै गरिने विबाह बालविबाह मानिने र दण्डनीय मानिन्छ। तर, यहाँ न कानुनले रोकेको पाइएको छ न सरोकारवालाले बालविवाह कम गर्न अभियान नै चलाएका छन्।  बाँसखोलामा २०२८ सालदेखि बस्ती बस्न सुरु भएको हो। पाल्लाबाट बसाइँ सरेर बाँसखोलामा जंगल फडानी गरेर १२ ÷ १३ घर बस्ती बसालेका गगानसिं थापा अहिले ८८ वर्षका भए। उनीले आफ्ना पुराना दिन सम्झिँदै भने, ‘मैले २००२ सालमा  विहे गरेँ, जतिबेला म १३ वर्षको मात्र थिएँ। उतिखेर कम उमेरमा विहे हुन्थ्यो चलनै उस्तै थियो।’ उक्त गाउँमा अहिले पनि करिब सात दशकअघिकै जस्तो अवस्था छ। यहाँका बालबालिका १४ वर्षकै उमेरमा विहे गर्छन् अनी १५ वर्षको उमेरमा बाबुआमा बनिसकेका हुन्छन्।  यस गाउँमा ४५ घर छन्। तीमध्ये दुई मल्ल, एक घर नेपाली र अरु सबै मगर जातिको घर रहेका छन्। यहाँ एसइई उत्तीर्ण गर्ने दुईजना किशोरी मात्र छन्। लेमकुमारी घर्ती त्यस गाउँमा एसइई उत्तीर्ण गर्ने पहिलो हुन्। त्यसपछि यानीसरा राईले उत्तीर्ण गरिन्। उनीहरुले पढाइलाई निरन्तरता दिन भने सकेनन्। आर्थिक अवस्था कमजोर भएकाले पढाइलाई अगाडि बढाउन नसकेको लेमकुमारीले बताइन्।  गाउँमा भएको जनमुखी आधारभूत विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुने गर्दछ। कक्षा ५ भन्दा माथि अध्ययन गर्नका लागि करिब डेढ घण्टाको जंगलको बाटो पैदल हिंडेर बर्दघाट–१० अलाहवलमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा पुग्नुपर्छ कि वडा नम्बर ९ भुताहामा रहेको राजा महात्मा पूर्णभद्र माध्यामिक विद्यालयमा पुग्नुपर्ने हुन्छ। हिउँदमा बालबालिकाहरु विद्यालय आउने जाने गरे पनि वर्षातमा भने खोला आउने बाढीका कारण आउने नसक्ने जनमुखी आधारभूत विद्यालयकी प्रधानाध्यापक रत्ना सुवेदीले बताइन्।  गाउँका अधिकांश बालबालिका विद्यालय उमेरमै पढ्न छोड्ने र विहे गर्ने भएकाले पनि बालविवाहको दर उच्च भएको सुवेदीको भनाइ छ।  वडाध्यक्ष दया दर्लामीका अनुसार भौगोलिक हिसाबले विकट भएकैले त्यहाँ विकासले गति लिन सकेको छैन। अब विस्तारै योजनामा प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको भनाइ छ। नगरपालिकाले २०७७ चैत ३० भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको नगर प्रमुख धिरज शर्मा बस्यालले बताए। बाल विवाह रोकथामका लागि त्यस्ता बस्तीहरुमा सचेतनाका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ। गत वर्ष अभिनेतृ रेखा थापालाई ल्याएर बालबालिका र अभिभावकहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरेको र यस वर्ष पनि बालविबाहको जोखिम रहेका क्षेत्रमा सचेतनाका कार्यक्रम गर्ने र स्थानीय स्तरमा बाल क्लब गठन गरी बालक्लबमार्फत पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख बस्यालले बताए।

२०७६ फागुन १४ गते प्रकाशित