समाचारमा बालबालिका

रोकिँदै बालविवाह

बूढीगंगा गाउँपालिका–२ का २१ वर्षीय अभिषेक चौधरी र वडा ७ डंग्राहा, धरहराकी १६ वर्षीया सविना खवासका अभिभावकबीच दुईको मागी विवाह गर्ने सहमति भयो । त्यसैअनुसार केही दिनअघि अभिशेक जन्ती लिएर सविनाको घर पुगे । जन्ती पुग्नेबित्तिकै बालअधिकार समितिका पदाधिकारी र प्रहरी प्रशासनका प्रतिनिधि देखा परे । उनीहरूलाई गाउँकै बालबालिकाले सुटुक्क बोलाएका थिए । केही बेर चलेको दुवै पक्षका अभिभावक र पदाधिकारीबीच छलफलपछि अभिशेक दुलही नलिई फर्किए । त्रिपक्षीय छलफलको निष्कर्ष थियो– सविनाको उमेर २० वर्ष पुगेपछि दुईको धुमधामले विवाह गरिदिने र त्यो विवाहमा समाजका सबै सहभागी हुने । यो गाउँमा दुलही नलिई फर्कने अभिशेक पहिलो होइनन् । डेढ वर्षको अवधिमा झण्डै ६ जना यसै गरी फर्केका छन् । वडा प्रमुख मुरारिलाल विश्वासका अनुसार २० वर्ष नपुगेकी दुलही लिन आउनेलाई जन्तीसहित रित्तै घर फर्काउने अभियान कडाइसाथ लागू गरिएको छ ।बुढीगंगा गाउँपालिका–७ मा विगतमा वाल विवाह नभएका घर भेट्न मुस्किल छ । अधिकांश युवकको २० वर्ष पुगेपछि बिवाह गरिएको छ । ‘छोरीहरूलाई भने १६–१७ वर्षमै अन्माइएको छ,’ विश्वासले भने, ‘कलिलैमा विवाह गर्दा केही वालीका बच्चा जन्माउन नसकेर मरेका छन । केहीको घरवार नै लथालिङग भएको छ । केही वालीका रोगले ग्रस्त वनेका छन ।’ त्यसैले डंग्राहामा बालविवाह अन्त्य गर्न डेढ वर्षदेखि अभियान नै सञ्चालन गरिएको उनले बताए । अभियानको अगुवाइ वडाले गरेको छ । वडालाई नारी विकास संघ र वडाका बालबालिका आबद्ध भएका पाँचवटा स्काई र तिनवटा रुपान्तरण क्लवले साथ दिएका छन ।क्लवमा वडाका दुईसय ६ जना वालवालीका आबद्ध छन् । स्काई क्लवका अध्यक्ष सुनिल सरदारका अनुसार क्लवका हरेक सदस्यको पहिलो कर्तब्य अभिभावकलाई २० वर्ष नपुगी छोरीको विवाह गर्न कानूनले नदिने बुझाउदै सरसफाईसम्बन्धी जनचेतना दिनु हो । वडामा १३ सय घरधुरी छन् । तीमध्ये ९० प्रतिशत खवास, थारु, चौधरी र सरदार छन् । वडाप्रमुख विश्वासका अनुसार डेढ वर्षअघि यहाँका करिब दुई सय जनाको वालविवाह भएको तथ्यांक छ ।डेढ वर्षयता डंग्राहामा एउटा पनि बालविवाह हुन नपाएको अभियानकी सहजकर्ता तथा नारी विकास संघकी फिल्ड कोअर्डिनेटर भावना ऋषीदेवले वताइन् । ‘मागी वाल विवाह हुनै दिएका छैनौं,उनले भनिन्, ‘भागेर गरेका वालविवाहलाई पनि रोकेका छौं ।उनका अनुसार डेढवर्षको अवधीमा आधा दर्जन भागी विवाह भएका थिए।

२०७६ मङ्सिर १२ गते ९:५६ मा प्रकाशित