समाचारमा बालबालिका

उमेर नपुगी मन्दिरमा विवाह गर्न आएका जोडीको विवाह रोक्दै पुजारी

पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले बताए । उनका अनुसार विवाहको सिजन हुने असोजमा १८, मङ्सिरमा छ र माघमा चार गरी २८ बालविवाह रोकिएको हो । मन्दिरका पुजारी भट्टराईका अनुसार अहिले मन्दिरमा विवाह गर्न आउने जोडीको नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा राखिएको जन्ममिति हेरेर मात्रै विवाह गर्ने गरिन्छ । नगरपालिकाले हामीलाई अभिमुखीकरण तालीम दिएपछि बालविवाहलाई रोक्दै आएका छौँ”, उनले भने, “हामीले विवाह गर्ने जोडी आएपछि दुवै जनाको अनिवार्य नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा भएको जन्ममिति हेर्ने गरेका छौँ । बीस वर्ष पूरा नगरेका जोडीको विवाह नगराउने गरेको उनको भनाइ छ । हामीले २० वर्ष पूरा नगरेका जोडीलाई अहिले लगन छैन, भनेर फर्काउने गरेका छौँ”, उनले भने, उनीहरुको लगन २० वर्ष पूरा भएपछि मात्रै छ भन्ने गरेका छौँ । कतिपय जोडी तथा अभिभावकले विवाह गराइदिन दबाबसमेत दिने गरे पनि आफूहरुले उमेर नपुगेकालाई लगन नभएको भन्दै विवाह रोक्दै आएको उनको भनाइ छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने उद्देश्यले बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई प्रत्येक वर्षमा दुई पटक अभिमुखीकरण तालीम दिने गरिएको तुलसीपुर उपमहानगर स्तरीय बाल संरक्षण समितिका संयोजक नवराज लामिछानेले बताए।तुलसीपुर उपमहानगरपालिका र नवजागरण महिला तथा बालबालिका केन्द्र (न्यूसिपिसी)को सहकार्यमा नियमित अनुगमन र अभिमुखीकरण तालीमले गर्दा अहिले पुजारीले पनि बालविवाह रोक्दै आएका छन् । मन्दिरमा बालविवाह रोकेपनि गाउँघरमै बालविवाह गर्नेहरुको सङ्ख्यामा भने कमी आउन नसकेको न्यूसिपिसीका कार्यक्रम संयोजक भीम खत्रीले बताए ।

२०७५ फागुन ५ गते प्रकाशित