समाचारमा बालबालिका

बालविवाह रोक्न किशोरीहरुको संघर्ष

कलिलो अनुहार, उमेरले भर्खरै १५ मा टेक्दै गरेकी किशोरी । मनमा केही गर्छु भन्ने आँट । तर जन्मिदै बिहेको लागि केटा तयार । हुर्कन नपाउँदै पटक पटक बिहेको कुरा । बिहे गर्न परिवारले मिति तय गर्छ, तर उनी सानै उमेरमा विवाह गर्न तयार छैनन् ।  बिहे रोक्न परिवारभित्रै संघर्ष गर्नुपरेको छ । अघिल्लो वर्ष माघमा झण्डै उनको बिहे भैसकेको थियो । तर उनी हुनै लागेको आफ्नो बिहे रोक्न सफल भइन् । १५ वर्षीया नुरसना खातुन मामाघरमा बस्छिन् । घर भने भारत हो । रौतहटको परोहा नगरपालिका ७ नरकटियामा मामाघरमै जन्मेकी उनलाई सानै हुँदा गाउँकै केटासँग बिहे गरिदिने परिवारले बाचा गरिसकेका रहेछन् ।  मामाघर नजिकै रहेको अर्को घरमा नुरसनाको बिहे गर्ने हजुरआमाले बचन दिएकी थिइन् । केटाकी आमाले छोरा ठूलो भइसकेको भन्दै छिटो बिहे गर्न दबाब दिन्छिन् । काम गर्दा, विद्यालय जाँदा केटाको परिवारसँग नुरसनाको भेट हुन्छ । भेट हुनेबित्तिकै उनीहरुले बुहारी छिटो घर आउनुपर्‍यो भनेर जिस्क्याउँछन् ।एक पटक बिहे रोकिसकेकी नुरसनालाई अझै बिहेको कुरा गर्न परिवारले छोडेको छैन । नुरसनालाई पढेर ठुलो मान्छे बन्नु छ । डाक्टर बनेर गरीबहरुको सेवा गर्ने धोको छ । अहिले उनी नरकटियाको मरदरसा जामिया सल्फियमा कक्षा ५ मा पढ्छिन् । मदरसामा कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ । ६ कक्षा पढ्न अर्को गाउँमा रहेको विद्यालयमा जानुपर्छ । तर हजुरआमा भने योभन्दा धेरै पढाउने पक्षमा हुनुहुन्न ।नुरसना मदरसामा जेहेन्दार र इमान्दार विद्यार्थीमध्ये पर्छिन् ।  कक्षामा सबैभन्दा राम्रो नम्बर ल्याएर पास भैरहेकी छिन् । मदरसाका शिक्षकहरुले धेरै पढ्नुपर्छ, तिम्रो पढाइ राम्रो छ भन्दा उनलाई अझै धेरै पढ्न मन लाग्छ ।तर घरमा पढाइभन्दा घरको काम सिक्न दबाब छ । बिहे गरिसकेपछि शिक्षा भन्दा काम चाहिने भन्दै काम सिक्न सबैभन्दा बढी हजुरआमाले कर गर्नुहुन्छ । उनले भनिन्, ‘मेरो पढ्ने रहर छ, तर परिवारले अब नपढाउने भन्छन्, डाक्टर बन्ने मेरो लक्ष्य त्यस्तै रहने भयो ।’नुरसनाको जस्तै व्यथा छ १८ वर्षीया दुर्गा शर्माको पनि । नुरसनाको गाउँसँगै जोडिएको रौतहटको ईशनाथ नगरपालिका ४ मठियाकी दुर्गाले पनि आफ्नो बिहे आफैं रोकेकी छन् । त्यो पनि दुई पटक । २०७५ साउन ४ गते र दोस्रो २०७६ असार १३ गते तय भएको आफ्नै बिहे रोक्न उनी सफल भएकी हुन् ।हुर्केकी छोरीलाई घर राख्न हुँदैन भन्दै उनलाई परिवारले १५ वर्षकै उमेरमा बिहे गराइदिन खोजेका थिए । तर, दुर्गालाई सानै उमेरमा बिहे गर्न मन थिएन । कक्षा ६ मा पढ्दै गर्दा परिवारले विद्यालय छुटाइदिए । विद्यालय जान नदिएपछि दुर्गा घरको काम गर्न थालिन् । साँझ बिहान खाना पकाउने, बारीको काम गर्नु उनकोे दैनिकी बन्यो । आफ्नो बिहे रोक्न दुर्गालाई पनि नुरसनाको जस्तै परिवारभित्र संघर्ष गर्नुपर्‍यो । बिहे रोकिसकेपछि भने दुर्गाका आमाबुवा खुसी छन् । दुर्गालाई अहिले नुरसनाको जस्तो बिहे गर्न दबाब छैन । अहिले उनी फेरि विद्यालय जान थालेकी छन् । दुर्गा गाउँमै रहेको जनता माविमा कक्षा कक्षा ८ मा पढ्छिन् । 

बालविवाह रोक्न संघर्ष

नुरसना र दुर्गाको गाउँमा महिला हिंसा र बालविवाह अन्त्यको लागि अभियान चलिरहेको छ । सामुदायिक छलफल केन्द्रमार्फत हुने यो अभियानमा उनीहरु पनि सहभागी भए । २०७३ सालको चैतदेखि अभियानमा सहभागी भएपछि उनीहरुले बालविवाह, यसको असर र कानुनी प्रावधानबारे थाहा पाए । त्यसपछि उनीहरुले घरमा आफूहरुको विवाह गरिदिन लागेकोबारे छलफलमा सहभागीहरुलाई बताए । छलफल केन्द्रका किशोरी, सहजकर्ता उनीहरुकै घरमा पुगेर परिवारलाई सम्झाए ।सुरुमा सम्झाउन खोज्दा परिवारका मान्छे निकै रिसाए । उनीहरुले वडाध्यक्ष, प्रहरीलाई खबर गरे । किशोरी, प्रहरी र वडाध्यक्षले घरमा गएर सम्झाउँदा अन्ततः अभिभावकहरु कुरा सुन्न तयार भए । आफ्नो विवाह रोक्न सफल नुरसना र दुर्गा अहिले आफूजस्तै अरु किशोरीलाई सानैमा बिहे गर्न हुँदैन भन्दै सचेतना जगाउने काम गर्छन् । उनीहरुका अभिभावकहरुलाई पनि आफ्ना छोराछोरीलाई सानैमा बिहे गराउन हुँदैन, पढाउनुपर्छ भन्दै सम्झाउने गर्छन् ।

बल्ल बुझे अभिभावकले

नुरसना र दुर्गाले आफ्नो बिहे रोकेर अरुलाई सम्झाउँन जाँदा अभिभावक खुसी भएका छन् । पहिले बिहे नगर्दा रिसाएका गाउँलेहरु पनि अहिले उनीहरुको उदाहरण दिंदै कुरा प्रशंसा गर्ने गर्छन् ।मठियाका नाजुक बेगम भन्नुहुन्छ, ‘नुरसना र दुर्गाले गरिरहेको काम प्रशंसनीय छ । उनीहरुको आँटले अरु किशोरीहरुको आत्मबल बढेको छ ।’ उहाँले अझै पनि सानै उमेरमा छोराछोरीको बिहे गराइदिने चलन रहेको भन्दै यसका लागि किशोर किशोरीले नै आवाज उठाउनुपर्ने बताउनुभयो ।अहिले दुर्गाका आमाबुवा पनि दुर्गाले बिहे रोकेकोमा खुसी छन् । ‘१२, १३ वर्षमै छोरीको बिहे गराउँदै आएका हामीलाई के राम्रो के नराम्रो थाहा थिएन । हामीलाई त जवान भइसकेकी छोरीलाई किन घरमा राख्नु भन्ने सोच्थ्यौँ तर, यो राम्रो हैन रहेछ भन्ने बुझ्यौं’ दुर्गाकी आमा अनितादेवीले भन्नुभयो ।’नुरसनाका मामा शेख हजरत अली पनि भाञ्जीले गरेको काममा खुसी हुनुहन्छ । बालविवाह गर्दा के समस्या हुन्छ भन्ने थाहा नहुँदा बिहे गरिदिन लागको भन्दै उहाँले अब नुरसनाको बिहे २० वर्षपछि मात्र गराइदिने बताउनुभयो ।

१ सय ८७ बालविवाह

रौतहटको इशनाथ र परौहा नगरपालिकामा १ सय ८७ वटा बालविवाह रोकिएका छन् । तीन वर्षको अवधिमा किशोरी र बाल क्लव तथा धार्मिक गुरु लगायतको सक्रियतामा बालविवाह रोकिएको हो । परिवारकै सहमतिमा बालविवाह गराइदिने चलन भएकाले अभिभावकरुलाई चेतना जगाउन आवश्यक रहेको अभियानकर्मीहरु बताउँछन् ।

उजुरी पर्दैनन् स् डीएसपी कार्की

दिनहुँजसो बालविवाह हुने रौतहटमा उजुरी भने आउने नगरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्की बताउनुहुन्छ । पछिल्लो समय काम गरिरहेका केही संस्थाहरुको पहलमा मौखिक उजुरी आए पनि अरु उजुरी नआउने उहाँको भनाई छ ।बालविवाह रोक्न प्रहरीको टोली स्कुल- स्कुल र घरदैलोमै पुगेर जनचेतना जगाउन थालेको छ।

२०७६ पुष २१ गते २:२९ मा प्रकाशित