समाचारमा बालबालिका

बाल सञ्जाल र प्रहरीको सक्रियतामा बालविवाह रोकिए

बाल सञ्जाल र प्रहरीको सक्रियतामा प्युठानमा एक सातामा चार बालविवाह रोकिएका छन् । उमेर नपुगेका, तर विवाह गर्न लागेका जोडीको विवाह रोकिएको हो । ऐरावती गाउँपालिका–४ छापका १९ वर्षीय किशोर र मल्लरानी गाउँपालिका–५ घोरथापकी १७ वर्षीया किशोरीबीच हुन लागेको बालविवाह बाल सञ्जालको सक्रियतामा रोकिएको छ । स्थानीयले बाल सञ्जालका प्रतिनिधिलाई खबर गरेपछि प्रहरीको सुझाबअनुसार किशोर–किशोरीका अभिभावकले विवाह रोकेका हुन् । ऐरावती गाउँपालिका–४ धुवाङका २४ वर्षीय युवक र सोही वडा तिग्रापातलकी १७ वर्षीय किशोरीबीच हुन लागेको विवाह पनि प्रहरीले रोकेको छ । बालविवाह हुन लागेको थाहा पाएपछि कैरन प्रहरी चौकीबाट गएका प्रहरीले बालविवाहलाई रोकेको जिल्ला बाल सञ्जाल प्युठानले जनाएको छ । स्वर्गद्वारी नगरपालिका–४ गोठीवाङमा पनि यसै साता बालविवाह रोकिएको छ । यस ठाउँमा १७ वर्षीय किशोर र सोही नगरपालिका–९सिम्लेकी १७ वर्षीया किशोरीबीच विवाह हुन लागेको थियो ।प्रहरी र बाल सञ्जालकै सक्रियतामा माण्डवी गाउँपालिका–५ जुजुनेटामा पनि बालविवाह रोकिएको छ । बालविवाह हुन लागेको थाहा पाएपछि प्रहरी सम्बन्धित घरमा पुगेर विवाह रोकेको हो । जुजुनेटाका २१ वर्षीय युवक र प्युठान नगरपालिका–१ की १८ वर्षीया किशोरीबीच हुन लागेको विवाह पनि प्रहरीले रोकेको जिल्ला बाल सञ्जाल प्युठानकी अध्यक्ष मीना सुनारले बताइन् । नेपालको कानुनबमोजिम २० वर्ष नपुगी कसैले पनि विवाह गरे÷गराएमा तीन वर्ष कैद र ३० हजार जरिवाना हुने प्रावधान छ । यस्तो व्यवस्था हुँदाहुँदै पनि प्युठानका गाउँ–गाउँमा बालविवाह हुने क्रम रोकिएको छैन । साबिक जिल्ला बालकल्याण समितिका अनुसार ०७२ को तथ्यांकअनुसार जिल्लामा ४५ प्रतिशत बालविवाह भएको थियो । जिल्ला बाल सञ्जाल प्युठान, बालकल्याण समिति, प्रशासन,प्रहरी, कालिका विकास केन्द्र तथा सेभ द चिल्डे«न, स्थानीय तह, बाल क्लब तथा बाल सञ्जालहरू तथा स्थानीय जनप्रतिनिधिको सहायतामा बालविवाह रोक्ने काम भइरहेका छन् । ०७२ यता जिल्लामा बालविवाह घट्दो क्रममा छ । विगत दुई वर्षको अवधिमा जिल्लामा ५८ जोडीको बालविवाह रोकिएका छन् ।

२०७६ मङ्सिर २ गते ११:३३ मा प्रकाशित