समाचारमा बालबालिका

बाल विवाहक रोक्दै आमा समूह

कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँका महिलाहरू बाल विवाहविरुद्धको अभियानमा सक्रिय भएका छन्। आमा समूहका उनीहरू एकजुट भएर अभियानमा लागेका हुन्। गाउँपालिकाको तथ्यांक अनुसार वर्षेनी गाउँमा एक दर्जन बढी बालविवाह हुने गरेका छन्। एकसय ४८ परिवारका आमाहरूले पाँच वटा समूह गठन गरी बाल विवाहविरुद्धको कार्ययोजना निर्माण गरेका छन्। घर–घरमा पुगेर सचेतना अभियान चलाइरहेको नर्बु समूहकी अध्यक्ष छिरिङ च्यामा लामाले बताइन्। ‘सानै उमेरमा हुने विवाहले पढाइ रोकिँदा उनीहरूको भविष्य नै अन्धकारमा पुगेको छ’ उनले भनिन्, ‘विवाह गर्ने बित्तिकै बच्चा जन्माउँछन्, परिपक्व नहुँदा कतिपय सुत्केरी हुन नसकी मृत्युको मुखमा पनि पुगेका छन्।’ विवाह भएको केही समयमा नै सम्बन्ध बिच्छेद, घरेलु हिंसा बढ्न थालेपछि यस्तो विकृति रोक्न समूहमा कार्ययोजना बनाइएको उनको भनाइ छ। वार्षिक योजना बनाएर सचेतना जगाउने र हुन लागेका विवाहलाई कानुनी दायरामासमेत पु¥याउने गरेका छन्। गाउँको बिचमा माध्यमिक विद्यालय भए पनि बालविवाह गरेका अधिकांश बालिकाहरू स्कुल छाड्ने गरेका छन्। उनीहरूलाई पुनः विद्यालयमा फर्काउन आमाहरू घरदैलो अभियानमा जाने गरेका छन्। महिलाहरूले सञ्चालन गरेको सहयोगका कारण केही बालिका अध्ययन गर्न विद्यालयमा फर्किएको बुद्ध मावि माँग्रीका निमित्त प्रधानाध्यापक डिलेन्द्र शाहीले बताए। दलित समुदायको बढी बसोबास रहेको गाउँमा बालविवाह पनि यही समुदायमै छ। बैठकमा बालविवाहको असर, कानुनी सजाय, भविष्य निर्माणमा पुग्ने बाधाका विषयमा छलफल गरी किशोर किशोरीलाई सम्झाउने गरेका छन्। माँग्री गाउँमा अन्यत्र भन्दा धेरै बालविवाह हुने भएका कारण आमा समूहको अभियानलाई गाउँपालिकाले सहयोग गर्ने मुगुम कार्माराङ गाउँपालिका उपाध्यक्ष छिरिङ तामाङले बताइन्।

२०७६ जेठ १४ गते ९:०५ मा प्रकाशित