A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7pf9n859nqssc2cvdr01a01eqa4lc3mp): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रोकिएन बालविवाह

गत वैशाख तेस्रो साता बालविवाह गरिरहेको आरोपमा शारदा नगरपालिका–६ मधमकाँडाका १९ वर्षीय भूपेन्द्र केसी र उनका बाबु दलबहादुर खत्री एक बालिकासँगै पक्राउ परे । असार तेस्रो साता बालविवाहकै अभियोगमा शारदा नगरपालिका–४ पिपलनेटाकी विष्णुकुमारी बस्नेत, उनका छोरा योधन र पुरोहित अशोककुमार गौतमसहित एक किशोरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । यसले पछिल्लो समय बालविवाह गर्नेविरुद्ध प्रहरीको कारबाही आक्रामक हुन थालेको देखाउँछ । जिल्लामा बालविवाहविरुद्धका विभिन्न अभियानमा स्थानीय सरकारको पनि साथ छ । यति हुँदाहुँदै पनि बालविवाह भने रोकिएको छैन । जिल्लामा ६९ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्यांकमै छ । विवाहितका विषयमा तयार तथ्यांकअनुसार १० वर्षको उमेरमा १ सय १३, १० देखि १४ वर्षभित्र ७ हजार ९ सय ४१ र १५ देखि १९ वर्षको उमेर समूहमा ७२ हजार ३ सय ७८ जनाले विवाह गरेका छन् । विभिन्न संघसंस्था, विद्यालय, बाल क्लबलगायत पनि बालविवाहविरुद्धको अभियानमा छन् । केही विद्यालयले बालविवाह गरेकालाई पढ्न नै नआउनू भनेका पनि छन् । सामाजिक मान्यता, गरिबी, बेरोजगारी, देखासिकी, सञ्चार माध्यमको दुरुपयोग आदिका कारण बालविवाह नघटेको शारदा नगरपालिका–७ ओखरेनीका हर्कबहादुर रावतले बताए । ‘पहिले पहिले महिनावारी नहुँदै छोरीको विवाह गरिदिनुपर्छ भन्ने थियो, त्यो गलत संस्कार अझै पनि कतिले छाडेका छैनन्,’ उनले भने, ‘देखासिकी र घरपरिवारको दबाबले पनि सानै उमेरमा विवाह भइरहेको छ ।’ अभिभावकले बालबालिकालाई निगरानीमा नराख्दा पनि हुने आफूखुसी विवाहमा उमेर नपुगेकाहरू भेटिने उनको भनाइ छ । बालविवाहविरुद्ध विभिन्न अभियान चले पनि मूल कारण माथि सरकारको ध्यान जान नसकेको शिक्षासेवी अनन्तराम आत्रेयले बताए । ‘सूचनाप्रविधिको विकासले हामीलाई ज्ञानगुनका कुरा सिक्न सजिलो पार्नु पर्ने हो, तर दुरुपयोगले बालविवाहलाई प्रश्रय दिइरहेको छ,’ उनले भने, ‘अब नियन्त्रण पनि गाह्रो छ । केही न केही त गर्नैपर्छ ।’ अधिकांश अभिभावकले बालबालिकालाई आत्मनिर्भर बनाएर मात्र विवाह गराउने सोचाइमा भए पनि आफै भागेर विवाह गर्दा समस्या भएको उनी बताउँछन् । कानुनी सचेतनाको अभावका कारण गाउँमा विवाह बढी हुने गरेको उनले सुनाए । ‘थाहा पाउँदा प्रहरीले कारबाही गर्छ भनेर थाहा नपाउने छैनन्, बालविवाह घटेको छैन,’ उनले भने । सानै उमेरमा विवाह गर्दा बालबालिकाको स्वास्थ्य र शैक्षिक योग्यता प्रभावित भइरहेको निराजन माविका प्रधानाध्यापक धर्मबहादुर बुढा बताउँछन् । ‘बालविवाह गरे विद्यालयमा प्रवेश नदिइने भनेर हामीले नियम बनायौं,’ उनले भने, ‘केही विद्यार्थीले पढाइ छोडेरै विवाह गरे ।’ कानुनी कारबाही बढे बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने उनी बताउँछन् । ‘स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सकेनन्,’ उनी गुनासो गर्छन् । जिल्लामा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुनेको संख्या बढिरहेको जिल्ला अस्पताल प्रमुख डा। अर्जुन बुढाले बताए । ‘सानै उमेरमा विवाह गर्नै हुँदैन,’ उनले भने, ‘परिवक्व नभइ विहे गर्दा किशोरीको गर्दा गर्भ तुहिने, रक्तश्राव हुने, बच्चा जन्माउन गाह्रो हुने र ज्यानै जानेसम्मको अवस्था आउँछ ।’ अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी बनाउनुपर्ने बाध्यता त्यसैका कारण भइरहेको उनले बताए । ‘उमेरै नपुगी बिहे गर्ने धेरैजनाको पाठेघर खस्ने समस्या देखिएको छ,’ उनले भने, ‘अन्य गम्भीर स्वास्थ्य समस्या पनि देखिन थालेका छन् ।’ कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरेर बालविवाह नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ । बालविवाह गर्ने र गराउनेलाई कारबाही गर्दै आए पनि रोक्न सजिलो नभएको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडा बताउँछन् । घरायसी वातावरण, परम्परागत सस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोगले कम उमेरमा विवाह गर्ने क्रम बढेको उनले जानकारी दिए । ‘बालबालिकालाई प्रहरी हिरासतमा मिल्दैन । उनीहरूलाई सजाय दिन नमिल्ने भएपछि चेतावनीसहित छोड्छौं,’ उनले भने, ‘प्रहरी नियन्त्रणबाट मुक्त भएपछि फेरि बिहे गर्छन । रोक्नै गाह्रो भइसक्यो ।’शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी बालविवाह नियन्त्रण अभियानलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न सके नियन्त्रण गर्न धेरै समय नलाग्ने दाबी गर्छन् । उनका अनुसार बालविवाह नियन्त्रणकै अभियानका क्रममा ९४ जना पण्डितलाई कानुनी प्रावधानबारे प्रशिक्षण दिइएको छ । ‘जिल्लाका सबै ठाउँमा पण्डित राखेर विवाह गराउने चलन बढी छ,’ उनले भने, ‘अब जन्मदर्ता हेरेर मात्र विवाह गराउन वाचा गराइएको छ, यसले पनि केही हदसम्म बालविवाह न्यूनीकरण हुने अपेक्षा छ ।’सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बाल क्लब, विद्यालय र स्वास्थ्यचौकी लगायतलाई परिचालन गरी बालविवाह विरुद्धको अभियानमा सक्रिय बनाइएको बताए । ‘प्रयास गरिरहेकै छौं,’ उनले भने, ‘वर्षौंदेखि चलिआएको परम्परा एकैपटक रोक्न गाह्रो हुँदो रैछ ।’ अशिक्षा र स्वास्थ्यसम्बन्धी चेतना अभावका कारण बालविवाह न्यूनीकरण हुन नसकेको उनको ठम्याइ छ । महिला तथा बालबालिका शाखामार्फत बालविवाह न्यूनीकरण कार्यक्रमलाई एकद्वार गरिएको उनले जानकारी दिए ।

बढ्दै स्वास्थ्य समस्या
जिल्ला अस्पतालको तथ्यांकअनुसार गत वर्ष करिब चार सयको संख्यामा किशोरी आमाहरू सुत्केरी भए । २० वर्षमुनि उमेरका सुत्केरीमध्ये अधिकांशलाई कुनै न कुनै स्वास्थ्य समस्या देखिएको जिल्ला अस्पताल प्रमुख डा। बुढाले बताए । ‘कतिमा कुपोषणको समस्या त केहीमा रक्त अल्पताको,’ उनले भने, ‘उमेर नभै नपुगी गर्भवती भएका करिब ४० प्रतिशतलाई अस्पतालले नर्मल डेलिभरी गराउन सकेन ।’ प्रजनन् अंगको पूर्ण रूपमा विकास नभई सुत्केरी हुँदा अधिकांशमा पाठेघर खस्ने समस्या देखिएको उनले बताए । अस्पताल ल्याइएकामध्ये केहीलाई मानसिक समस्या पनि देखिएको छ । घरमै असुरक्षित तरिकाले सुत्केरी हुने किशोरी आमाको ज्यानै जोखिममा पर्नेगरेको डा। बुढाले सुनाए । ‘जटिल अवस्थामा मात्रै अस्पताल पुर्‍याए पनि हामीले धेरैको ज्यान जोगाएका छौं,’ उनले भने, ‘केही वर्षयता जिल्ला अस्पतालमै शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध भएपछि मातृ तथा शिशु मृत्युदर घट्दै गएको छ ।’जिल्ला अस्पतालमा दैनिक उपचारका लागि आउने करिब दुई दर्जन महिला कम उमेरमै विवाह गरेका कारण देखिने स्वास्थ्य समस्याबाट पीडित हुने गरेको पाइएको डा। बुढा बताउँछन् । जिल्ला अस्पतालमा दैनिक सयदेखि एक सय ५० जना बिरामी दैनिक उपचारका लागि आउँछन् ।

सम्बन्धविच्छेद बढ्यो
सम्बन्धविच्छेदका घटना बढेका छन् । सम्बन्धविच्छेदका लागि आउनेमध्ये आधाजसो उमेर नपुगी बिहे गरेकाहरू हुने गरेको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । गत वर्ष यस्ता २ सय ९ मुद्दा परे । अदालतका अनुसार ५२ पुरुष र एक सय ५७ महिलाले गत वर्षमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका थिए । सबैभन्दा बढी मुद्दा बालविवाहले निम्त्याएको अधिवक्ता निरज श्रेष्ठ बताउँछन् । ‘अदालतमा पर्ने मुद्दाको करिव ४५ प्रतिशत सम्बन्धविच्छेदकै हुन्छन् भने त्यसमध्ये ५० प्रतिशत मुद्दा बालविवाहका कारण सिर्जित समस्याका कारण दर्ता हुने गरेका हुन्,’ उनले भने, ‘नयाँ देवानी संहिताले पुरुषलाई पनि अधिकार दिएपछि महिला र पुरुषबीच सम्बन्धविच्छेदको प्रतिस्पर्धा चलेको छ ।’ सानै उमेरमा विवाह गर्ने र सामान्य कुरामा खटपट हुँदा पनि सम्बन्धविच्छेद गर्ने प्रवृत्ति बढेको पाइएको उनले बताए।

२०७६ मङ्सिर १७ गते १२:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: