समाचारमा बालबालिका

दस वर्षमै विवाह

गौर–चन्द्रनिगाहपुर खण्डको धमौरा चोक नजिक डोम समुदायको सानो बस्ती छ । मंगलबार बस्तीको पूर्व कुनामा रहेको झुपडी कुर्न बसेका १३ वर्षीय बालक भेट्टिए । उनी विवाहित हुन् । सुन्दा अचम्म लाग्न सक्छ । जीवन साथीका बारेमा उनलाई केही थाहा छैन । अभिभावकले दस वर्षकै उमेरमा उनी बेहुला बने । बालबिवाह गराइदिएपछि उनको बैवाहिक जीवन अन्जानमै सुरु भएको छ । बृन्दावन नगरपालिका ७ स्थित डोमबस्तिका सुरज मलीको दस बर्षको कलिलो उमेरमै बिवाह भएको हो । जिल्लाको पिपरा बजार स्थित राजेन्द्र मली (डोम) को घर २०७२ फागुनको दोश्रो साता बेहुला बनेर सुरज पुगे । डोम समुदायको रीतिरिवाजअनुसार ७ वर्षीया नाबालिका ममता मलीसित उनको विवाह सम्पन्न भयो । दुलही लिएर सुरज घर आए । अर्को दिन अभिभावकले उनलाई आफ्नै घर पुर्‍याइदिए । नाबालक उमेरमा छोराको बिवाह गरिदिएको बुवा दिपेन्द्र मली बताउँछन् । ३ वर्ष पहिले नै छोराको सादी ९विवाह० गरिदिएँ, उनले भने, ‘त्यतिखेर बालबिवाहबारे थाहा थिएन । जे हुनु भइसक्यो । अब उमेर पुगेपछि बुहारी भित्र्याउँछु । छोराको बिहेमा उनले साइकल, नगद १० हजार र भाँडाकुँडा, लत्ताकपडा दाइजो पनि लिएका छन् । उनका दुई छोरा र दुई छोरी छन् । बाँसको टाटी र अन्य सामान बनाएर जीविका चलाउँदै आएका दीपेन्द्र अव उप्रान्त ३ छोरा, छोरीको उमेर पुगेपछि मात्र विवाह गरिदिने बताउँछन् । तराईमा कथित तल्लो जातिको रुपमा चिनिने डोम समुदायका बालबालिकाको बिहेका लागि अभिभावक सानै उमेरमा हतारिने गरेको पाइन्छ । उमेर नपुग्दै छोरीको विवाह गरिदिएमा दाइजो कम लाग्ने, बिहेको झन्झट सकिने र रजस्वला भएपछि गर्दा पापको बोझ बोक्नुपर्ने जस्ता अन्धविश्वास छ । यही कारणले सानै उमेरमा विवाह गरिदिने गरेको उनीहरू बताउँछन् । सामान्य परिवारको भए पनि केटा पक्ष भने बैन्ड बाजा र नर्तकीसहित केटीको घर पुग्छन् । दिपेन्द्रले आफ्नो छोराको बिबाह यसरी गरे । परिपक्व उमेरमा दोङ्गा अर्थात गौना गरेर घर पठाइने चलनले नाबालिका आमाबुबाकै घर बस्ने गर्छन् । सुरजले बिहे गरेको ममता अहिले आमा बुवासित छिन । उनको उमेर १० वर्ष पुगेको छ । बासको सामग्री बनाउने र सरसफाइको काम गर्ने डोम जातिका अधिकांश छोराछोरीको बाल्यकालमा बिहे हुने गरेको छ । पछिल्लो समय बिभिन्न संघ संस्थाले बालबिवाहविरुद्ध अभियान चलाउन थालेपछि कमी आएको छ । सानैमै विवाह गरिदिएकाले श्रीमतीको नामसमेत थाहा नभएको सुरजले बताए । कसैले श्रीमतीको नाम सोधे भने मुसुक्क हाँसेर लजालु पाराले जवाफ फर्काउँछन् । भन्छन्, ‘मलाई थाहा छैन । सानैमा बिवाह भयो ।’ उनको मन्जुरी बेगर बुवा दिपेन्द्रले बिवाह गरिदिएको गुनासो छ । डोम परिवारमा उनी बालबिवाहको सिकार बने । ‘अब ठुलो भएपछि श्रीमतीलाई घर ल्याउँछु,’ उनले भने, ‘अहिले सानै छु । जीवनबारे केही थाहा छैन । उनले एक कक्षापछि पढेका छैनन् । अभिभावकले नै विद्यालय नपठाएको उनको गुनासो छ । धमौरा चोकबाट केही भित्र सडकको दुबै पेटीमा डोम समुदायको बसोबास छ । उक्त बस्तीका अधिकांश छोराको सानै उमेरमा विवाह भएको पाइन्छ । स्थानीय सञ्जय मलीको पनि उमेर नपुगी विवाह भएको थियो । उनको उमेर अहिले २० वर्ष पुगेको छ । उनको १४ वर्षकै उमेरमा विवाह भएको हो । जिल्लामा विभिन्न संघ संस्थाले बालविवाहविरुद्ध अभियान चलाए पनि पूर्ण रुपले रोकिएको छैन ।

प्रदेश सांसद धनलाल ठोकरले गरिब र दलित समुदायम बालविवाहले प्रश्रय पाएको बताउँछन् । अशिक्षा र गरिबी बालविवाहको कारण पनि हो,’ उनले भने, ‘डोम समुदायमा यस्तो समस्या देखिएको छ । यसलाई बिस्तारै हटाउने तिर पहल गर्नु जरुरी छ । मधेसमा बसोबास गर्ने डोम सबैभन्दा अपहेलित तथा बहिस्कृत जातिका रुपमा पर्छ । पौराणिक कथाअनुसार महादेव र पार्वतीले ठुलो भोजको आयोजना गरी सबै जातजातिलाई निम्तो दिए । डोम समुदायका पुर्खा सुफल भगत भोजमा ढिलो आएका हुनाले अरुले खाएर बाँकी रहेको खानेकुरा खाएपछि समाजमा उनलाई जुटक खाई (जुठो खाने) भन्न थालिए । त्यही बेलादेखि समाजमा यो जातिलाई हेला र दुव्र्यवहार गरी पानी नचल्ने र अछुत बनाइएको भनाइ छ । डोम समुदायको कुल संख्या ८ हजार ९ सय ३२ छ । पुरुषको संख्या ४ हजार ६ सय ३१ छन । महिला ४ हजार ३ सय छन् । तराईका १२ जिल्लामा यो जातिको बसोबास छ । तथ्यांकअनुसार डोमको साक्षरता प्रतिशत ९.९ रहेको देखाइएको छ । यो समुदायका अधिकांश बालबालिकाले अहिले पनि प्राथमिक शिक्षा पाउन सकेको छैन । सानै उमेरमा विवाह गरिदिने र विद्यालय पढ्न नपठाउने चलन व्याप्त छ । उनीहरूको मुख्य पेसा बासको समान बनाउने हो । सामाजिक विभेदका कारण उनीहरू दास्रो दर्जाको नागरिकको रुपमा जिउन बाध्य छन् । नगरपालिका प्रमुख रामस्नेही रायले नगर क्षेत्रभित्रका दलित बस्तीमा हुने बालबिबाह रोक्न हरेक कदम चाल्ने बताउँछन् । ‘हामीले यस्तो समुदायलाई सम्झाउने र उमेर नपुगी विवाह नगर्न भनेर अनुरोध गर्छौं,’ उनले भने, ‘पहिले जे भयो भयो अब सानै उमेरमा विवाह हुन दिँदैनौं । नेपालको कुल जनसंख्याको १३ प्रतिशत भाग ओगटेका दलितहरू अधिकांश भूमिहीन ,सुकुम्बासी रहेको अध्ययनले देखाएको छ । उनीहरू दुई छाक टार्न अन्य गैरदलित समुदायमा आश्रित हुने गरेको पाइन्छ । दलितहरू गाउँ घरभन्दा पर ऐलानी पर्ती, सडक छेउ, नदीको किनार, पोखरीको डिल तथा फोहोर थुपार्ने ठाउँमा बसोबास गराइएको हुन्छ । सार्वजानिक स्थल, धारा, पानीपधेरा, बाटोघाटो लगायत ठाउँमा समेत उनीहरू विभेदको सिकार हुने गरेको पाइन्छ । डोम समुदाय विकास केन्द्र रौतहटका पूर्वअध्यक्ष विजय मलीले डोम समुदायको संख्या कम भएकोले सानै उमेरमा बालविवाह हुने गरेको बताए । ‘सानैमा बिहे हँुदा दाइजो कम लाग्छ । जवान हुँदा केटा केटी पाउने नपाउने भन्ने पनि सोचाइ छ, उनले भने, अर्को समस्या भनेको गरिबी र शिक्षाको कमी हो ।

२०७५ पुस १२ गते ९:५९ मा प्रकाशित