समाचारमा बालबालिका

विवाह गर्ने उमेर नपुग्दै आमा

उत्तरी रामेछापको लिखुतामाकोसी गाउँपालिका–४ की २० वर्षीया किशोरीले २० वर्ष नपुग्दै बिहे गरिन् । कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडेकी उनले विवाह गरेको ४ वर्ष पुग्यो । उनको ३ वर्षको छोरा छ । अहिले पढाइ छोडेकोमा पछुताइरहेकी किशोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । ‘घरमा पढ भन्दाभन्दै नमानेर १६ वर्षको उमेरमै बिहे गरियो । हाम्रो गाउँतिर पढेर राम्रो गरेको पनि कोही छैन । सबै उस्तै त हो जस्तो लाग्ने ।’ उनले थपिन्, ‘पढेर के पो होलाजस्तो लाग्थ्यो । गाउँमा हामी जस्ता पढाइ छोडेर बिहे गरेका धेरै छन् ।’घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर सानैमा बिहे गरेकी सोही गाउँकी अर्की किशोरी पनि आउँदो फागुनमा २० वर्ष पुग्दै छिन् । १६ वर्ष नपुग्दै बिहे गरेकी उनका पति पनि साउदी गएका छन् । कक्षा ५ पढेर विद्यालय छोडेकी उनी पनि पढ्न नपाएकोमा पिरोल्लिइरहेकी छिन् । ‘पढेको भए राम्रो हुन्थ्यो होला । अहिले त बिहानै काम भन्यो हिँड्यो । हिजोआज त आफैसँग दिक्क लाग्छ,’ उनले सुनाइन्, ‘हाम्रो गाउँघरमा उहिलेदेखि नै सानैमा बिहे गर्ने चलन छ । हामीलाई सानोमा बिहे गर्नु हुँदैन भनेर कसैले सिकाएन ।’स्थानीय भन्छन्, ‘विगतदेखि आफ्नो गाउँलाई ‘चेतना स्तर उठेको समाज हो’ भनेर दर्जनौं भाषण गर्दै हिँड्ने नेताले कहिल्यै बालविवाह नगर्नू भनेर सिकाएनन् । बालविवाहजस्तो कुरीतिबारे राजनीतिक नेतृत्व सधैं मौन रह्यो । राजनीतिले जनताको आधारभूत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्यजस्ता विषय ओझेलमा परेका छन् । मौलिक हकका रूपमा संविधानमै लेखिए पनि जनप्रतिनिधिसमेत सामाजिक कुरीतिबारे खुलेर बोल्दैनन्।

रामेछापमा विवाह गर्ने उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या ठूलो रहेको एक तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गर्भजाँच गराउन आएका ६ सय ७३ मध्ये १ सय १२ जना २० वर्ष मुनिका रहेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा कार्यरत स्वास्थ्यकर्मी किशोरीहरू आमा बनेको देखेर दिक्क बनेका छन् । ‘रामेछापमा बालविवाहको चलन घटेको छैन । सामाजिक र सांस्कृतिक चालचलन नफेरिएर पनि यस्तो भएको हुन सक्छ,’ प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा। अशोक खनाल भन्छन्, ‘सानैमा बच्चा जन्माउँदा पाठेघर परिपक्व भएको हुँदैन । सुत्केरी हुन गाह्रो हुन्छ । पछि उमेर बढ्दै जाँदा पाठेघरको समस्या देखिने सम्भावना बढी रहन्छ ।’ढिलो विवाह गरे पछिको फाइदाबारे जानकारी नै नपाएका यहाँका किशोरी सानैमा बिहे गर्ने र बच्चा जन्माउनु सहज मान्छन् । परम्परागत चलन, जनचेतनाको कमी र बालविवाहबारे छलफल नचलाउनु बालविवाहको मुख्य कारण देखिएको छ । उमेर नपुग्दै समान उमेर समूहका किशोरकिशोरीले भागेर विवाह गर्ने पुरानो चलन आज पनि रामेछापका गाउँगाउँमा यथावत् छ । बालविवाह पछिको दुष्परिणामबारे पर्याप्त जानकारी प्रवाह हुन नसक्दा समस्या झनै बल्झिरहेको हो । प्राथमिक स्वास्थ्य केन्द्रकी नर्सिङ इन्चार्ज कमला श्रेष्ठका अनुसार स्वास्थ्य केन्द्रले आफ्नै भवन बनाएर मन्थली नगरपालिका–१ आकाशे सरेपछि सेवाको प्रभावकारिता भने बढेको छ । यो वर्षबाट शल्यक्रिया सेवा सुचारु भए पछि साउन र भदौमा भएका ८१ जना सुत्केरीमध्ये १३ जनाको सफल शल्यक्रिया गरिएको थियो । तर अझै पनि बालविवाह र त्यसपछि सानैमा गर्भधारण गर्ने चलनले हैरान बनाएको उनीहरू बताउँछन् ।

२०७६ असोज ६ गते १०:२६ मा प्रकाशित