भागी विवाहले हराउँदै बालिका
पछिल्लो ६ महिनामा बाँकेमा १ सय ५९ महिला हराएका छन्। जिल्ला प्रहरीमा परेका उजुरीअनुसार हराउनेमध्ये ५२ बालिका र १ सय ७ जना महिला छन्। ‘हराएको उजुरी पर्नेमा अधिकांश भागेर बिहे गर्नेहरू छन्। २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुन भएकाले भागेर जान्छन्। अभिभावकले छोरी हराएको उजुरी दिन्छन्’, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली भन्छन्, ‘हराउनेहरू २० वर्ष पूरा भएपछि घर फर्किन्छन्। कतिपय त सन्तानसहित पनि आएका हुन्छन्।’बाँके बाल विवाह धेरै हुने जिल्लामा पर्छ। भारत पुगेर कलिलैमा बिहे गर्ने गरेको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशन भएको थियो। अभिभावकको सहमतिबिना सन्तानले भागेर भारत पुगी बिहे गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। ‘सहमति नहुँदा छोरी हराएको सूचना आउँछ। बिहे गर्ने उमेर पनि पुगेको हुँदैन। २० वर्ष पुगेपछि घर फर्किन्छन्। त्यस बेलासम्म परिवार पनि सहमत भइसकेका हुन्छन्’, जिल्ला प्रहरी प्रमुख ओली अनुभव सुनाउँछन्, ‘बिहे गर्दाको उमेर हेरेर कारबाही प्रक्रिया गर्ने भएकाले छोरी भेटिँदा पनि कति अभिभावकले प्रहरीलाई खबरै गर्दैनन्। कतिले फलानो कम्पनीमा काम गरिरहेको भनेर पनि जानकारी दिन्छन्।’बाल विवाहमा प्रहरीले कडाइ गरेको छ। गाउँ–गाउँमा खुलेका बाल र किशोरी क्लबले पनि प्रहरी गुहार्न थालेका छन्। गत वर्ष बाँके प्रहरीले जानकी गाउँपालिकाको गनापुर, नेपालगन्ज उपमहानगरपालिकाको वसुदेवपुरलगायत स्थानमा क्लबको सहयोगमा ३५ वटा बिहे रोकेको थियो। यो वर्ष भने एउटा पनि बिहे फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।माइती नेपाल नेपालगन्जमा सन् २०१९ मा ८ सय ६९ जना हराएको उजुरी परेको छ। तीमध्ये १८ वर्षमुनिका २ सय ३९ जना छन्। अधिकांश बिहे गरेर गएको हुन सक्ने कार्यालयका संयोजक केशव कोइराला बताउँछन्। सीमाबाटै र भारतका विभिन्न स्थानबाट उद्धारका आधारमा अधिकांश बिहे गरेर गएको पाइएको थियो। भारतमा बेखबिखनको जोखिम हुने उनी बताउँछन्।भारतबाट उद्धार गरिएकामध्ये तीन जना केटा साथीले बेचेको फेला परेका थिए। ‘नपढेकालाई बिहे गरेर र पढेकाहरूलाई राम्रो जागिरको प्रलोभनमा भारतमा बेचेको पाइएको थियो’, उनी भन्छन्, ‘किशोरीहरू लहलहैमा बिहे गरेर अभिभावकविहीन अवस्थामा भारतमा जाँदा बेचिने हुने खतरा हुन्छ।’माइती नेपालका अनुसार सीमाबाट एक वर्ष अवधिमा ३ सय ४७ जना बालबालिकालाई उद्धार गरिएको थियो। संयोजक कोइराला उनीहरू जोखिमपूर्ण यात्रामा रहेकाले उद्धार गरिएको बताउँछन्। ‘उनीहरूमध्ये अधिकांशले भागेर बिहे गरेका पनि थिए’, उनी भन्छन्, ‘कतिले त साथीको लहलहैमा पनि लागेर आएको बताएका थिए।’ सन् २०१९ मा जमुनाहा नाकाबाट मात्रै एकै समूहमा २१ जनासम्मलाई उद्धार गरिएको थियो। उनीहरू अधिकांशको उमेर १४ देखि १८ वर्ष थियो। सल्यान, रूकुम घर भएका थिए।नेपालगन्ज नगर किशोरी सञ्जालकी अध्यक्ष पूजा वर्मा सूचना–प्रविधिको दुरुपयोगका कारण उमेर नपुग्दै प्रेमविवाह भइरहेको बताउँछिन्। ‘हाम्रै दुई जना साथीहरूले प्रेमविवाह गरे’, उनी भन्छिन्, ‘अभिभावकले अपहरण र बलात्कारको मुद्दा दायर गरे। अहिले केटा थुनामा छ।’२०६८ को जनगणनाअनुसार बाँकेमा ६६.०८ प्रतिशत बाल विवाह हुने गरेको पाइएको थियो। त्यसमा किशोर ४९.२६ र किशोरी ८०.२ प्रतिशत थिए।सामाजिक सचेतन सरोकार मञ्च ९स्याक० बाँकेले आठै स्थानीय तहसँगको सहकार्यमा बाल विवाह रोकथाम परियोजना सञ्चालन गरेको छ। परियोजनाले सन् २०१९ मा गरेको प्रारम्भिक सर्वेक्षणमा ८०.७९ प्रतिशत किशोरी र ६०.९२ प्रतिशत किशोरको विवाह हुने गरेको भेटिएको प्रबन्धक जगदीश थापा सुनाउँछन्। ‘सर्वेक्षणले नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारी गाउँपालिकामा त किशोरी विवाह प्रतिशत ८३.१६ भएको देखिएको छ’, उनी भन्छन्।।
२०७६ माघ ५ गते १०:०२ मा प्रकाशित