समाचारमा बालबालिका

खोटाङमा बढ्यो बालविवाह

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी कक्षा ९ मा अध्ययनरत १७ वर्षीया फूलमाया भुजेल (परिवर्तित नाम) को फागुन २६ गते विवाह भयो। विद्यार्थीबाटै विरोध आएपछि छात्राको पढाइलाई निरन्तरता दिने र उमेर नपुगेसम्म बच्चा नजन्माउने सर्तमा वैवाहिक कार्यक्रम अघि बढेको थियो। दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले भने, ‘अभिभावकले पढाइलाई निरन्तरता दिने, तत्काल बच्चा नजन्माउने लगायतका सर्त मान्ने भएपछि विवाह नरोकिएको हो। यसपालिको शैक्षिक सत्र सुरु भएयता फूलमायासहित महेन्द्रदोय मावि याम्खामा अध्ययनरत चार छात्रा र एक छात्र विवाह बन्धनमा बाँधिएका छन्। चेतनाको कमीले कलिलै उमेरमा विवाह गर्नेमा तीन छात्रा कक्षा ८, एक छात्रा कक्षा ९ र एक छात्र कक्षा १० का विद्यार्थी हुन्। यस वर्ष दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण माविका १० छात्रा र शान्ति माविका २ छात्राले विवाह गरेका छन्। कृष्ण माविका कक्षा ७ का एक, कक्षा ८ का ३, कक्षा ९ का ५ र कक्षा १० की एक छात्रा विवाह बन्धनमा बाँधिएका हुन्। सानै उमेरमा विवाह गर्नेमा १४ वर्षदेखि १९ वर्ष उमेरका छन् । कम उमेरमा विवाह गर्दा निम्तिने शारीरिक जोखिमको विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन भइरहँदा पनि दूरदराजका गाउँमा बालविवाहको दर बढेको पाइएको छ। अभिभावकविहीन बनेका, परिवारमा बढी स्वतन्त्रता पाएका वा बढी कडाइ गरिएका, सोझासीधा अभिभावक भएका, पढाइमा कमजोर हुनु, परीक्षामा अनुतीर्ण हुनु, मोबाइल फोनको दुरुपयोगलगायतका कारण किशोरकिशोरीले चाँडै विवाह गर्ने गरेका छन् । जिल्लाका अधिकांश विद्यालयमा अध्ययन गरिरहेका किशोरकिशोरी उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेका छन् । पछिल्लो समय अभिभावक बालविवाहका विपक्षमा उभिन थाले पनि किशोरकिशोरीले आफूखुसी भागेर विवाह गर्ने गरेको महिला प्रजनन अधिकार कार्यक्रम सञ्चालन गरिरहेको वातावरणीय कृषि तथा विकास केन्द्र (केड) खोटाङका कार्यक्रम अधिकृत लोचन श्रेष्ठले बताए।‘सचेतनामूलक कार्यक्रम भएकै ठाउँमा पनि बालविवाह पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन, त्यसभन्दा बाहिरका ठाउँको अवस्था झन् विकराल छ,’श्रेष्ठले भने, ‘पहिला अभिभावकले बालविवाह गराउँथे, अहिले आफै गरिरहेका छन्। यसले शारीरिक र आर्थिक क्षति पु¥याइरहेको छ।

विद्यालयबाहिरका किशोरकिशोरीको विवाहदर झन् बढी हुनसक्ने अनुमान गरिएको छ। कम उमेरमा गरिने विवाहको बेफाइदाका विषयमा अभिभावक तथा किशोरकिशोरीलाई स्पस्ट बनाउन सके कम उमेरमा हुने विवाहलाई न्यूनीकरण गर्न सकिने श्रेष्ठको भनाइ छ। दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित कालिका बालविकास माविमा कक्षा ८ र ९ मा अध्ययनरत ४ छात्राले यसै शैक्षिक सत्रमा विवाह गरेका छन्। यस्तै, केपीलासगढी गाउँपालिका–६ दिप्सुङस्थित रेणु माविमा माध्यमिक तहमा अध्ययतरत एक छात्र र पाँच छात्रासहित ६ जनाको विवाह भएको छ। महिला प्रजनन अधिकारका विषयमा कार्यक्रम सञ्चालन भइरहेको टेम्मा, याम्खा, ऐसेलुखर्क र दिप्सुङबाहेक जिल्लाका अन्य वडाको अवस्था उस्तै नाजुक छ। पढ्दापढ्दै विवाह बन्धनमा बाँधिने अधिकांश छात्ररछात्राले बीचैमा कक्षा छाड्ने गरेको कृष्ण मावि टेम्माका प्रधानाध्यापक खेम मगरले बताए । घरायसी कामलाई समय दिनुपर्ने र बालबच्चा जन्मिएपछि मन हुँदाहुँदै पनि किशोरकिशोरी पढाइ छाड्न बाध्य बनेको पाइएको छ। ‘हाम्रो विद्यालयका विवाह गर्नेमध्ये दुई छात्राले मात्र अन्तिम परिक्षा दिएका छन्,’ प्रअ मगरले भने, यौन शिक्षाका विषयमा कुरा गर्नेलाई छाडा भन्छ। तर, त्यही यौन शिक्षाको कमीका कारण छात्रछात्राले उमेर नपुग्दै विवाह गरेका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालयले हालै १५ वडामा गरेको सर्वेक्षणमा पनि ३० प्रतिशत किशोरकिशोरीको २० वर्ष नपुग्दै विवाह हुने गरेको तथ्या फेला परेको छ।  अभिभावकविहीन बनेका, परिवारमा बढी स्वतन्त्रता पाएका वा बढी कडाइ गरिएका, अभिभावक सोझासीधा हुनु, पढाइमा कमजोर हुनु, परीक्षामा अनुतीर्ण हुनु, मोबाइल फोनको दुरुपयोगलगायतका कारण किशोरकिशोरीले चाँडै विवाह गरेको जिल्ला स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कम उमेरमा गरिने विवाहले महिलाको शारीरिक कमजोरी हुने र गरिबी निम्त्याइरहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए।  यसका साथै उमेर नपुग्दै विवाह गर्दा पाठेघरबाट रगत बग्ने, बच्चा जन्माउन गा¥हो हुने र पाठेघर खस्ने खतरा हुने डा.केसीले बताए।

 २०७४ चैत्र १३ गते ७:१६ मा प्रकाशित