समाचारमा बालबालिका

बालविवाह अन्त्य गरिने

मकवानपुरका स्थानीय तहले आइतबार प्रस्तुत गरेको आफ्नो नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणपश्चात् बालविवाहलाई नियन्त्रण गर्ने प्राथमिकता जनाएका छन् । असार १० गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन् । त्यसपछि समग्र बालबालिकाको हितलाई मध्यनजर राखेको छ । मकवानपुरको विकट कैलाश गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सडक निर्माणलाई उच्च प्राथमिकतामा राख्नुको साथै वालविवाहलाई अन्त्य गर्न कडाइ गरेको छ । गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकालाई बालविवाहमुक्त बनाउने कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकाले बालविवाहमा जनप्रतिनिधि, सरकारी कर्मचारी, प्रहरी र शिक्षकलाई सहभागी हुन रोक लगाएको छ । ‘बालविवाह नियन्त्रण नगरेसम्म महिला स्वस्थ नहुने र उनीहरूबाट जन्मेका सन्तान रोगी हुने भएकाले बालविवाह रोक्नैपर्छ,’ गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने, ‘बालविवाहपछि धेरै सन्तान पनि जन्माउने भएकाले छोराछोरीले दुस्ख पाउँछन् ।

गाउँपालिकामा व्यापक रूपमा बालविवाह हुने गर्छ । गाँजा खेती विस्थापित गर्न गाउँरगाउँमा सडक पुर्‍याउने लक्ष्य गाउँपालिकाको भएको मोक्तानले बताए । त्यसैगरी राक्सिराङ गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा बालविवाहलाई कडाइका साथ नियन्त्रण गर्ने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘बालविवाहले गाउँपालिकाले गर्ने विकास निर्माणलाई समेत चुनौती दिने गरेको छ, महिलाको समग्र विकासलाई बालविवाहले सदियौंदेखि अवरुद्ध बनाएको छ । चेपाङ बाहुल्य रहेका यी दुई गाउँपालिकाले मात्र होइन, मकवानपरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका पनि बालविवाहलाई नियन्त्रण गर्न सक्रिय देखिएको छ । त्यसैगरी, थाहा नगरपालिकाले १५ वर्षकी किशोरी र १६ वर्षको किशोरबीच भएको वालविवाह पनि अमान्य घोषित गरिदिएको छ । थाहा नगरपालिका ६ की किशोरी र थाहा २ का किशोरबीच ५ महिनाअघि भागी विवाह भएको थियो । विवाह भएको ५ महिनापछि किशोरी माइत गएकी थिइन् । किशोरीलाई माइती खलकले घर नपठाएपछि केटा पक्षका अभिभावकले नपा कार्यालयमा उजुरी हाल्न गएका थिए । नपा जनप्रतिनिधिहरूले किशोरीलाई माइतबाट घर ल्याउने होइन, बालविवाह कानुनी रूपमै अमान्य भएकाले विवाहलाई अनौपचारिक ढंगले सोमबार खारेज गरेका थिए । ‘थाहा नपाले आगामी आवको नीति तथा कार्यक्रममा नपालाई बालमैत्री नपा बनाउने योजनाअन्तर्गत बालविवाहलाई कडाइका साथ नियन्त्रण गर्ने नीति लिएका छौं,’ नपाका मेयर लवशेयर विष्टले बताए । यसैगरी पूर्व–पश्चिम राजमार्गमा पर्ने मनहरी गाउँपालिकाले पनि बालविवाह गर्ने प्रचलनलाई नियन्त्रण गर्ने योजना प्रस्तुत गरेको छ । हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, बकैया र वाग्मती गाउँपालिकाले ३ वर्षभित्र आफ्नो क्षेत्रलाई वालविवाहमुक्त बनाउने घोषणा गरेका छन् । बालविवाह पुर्णरुपमा नियन्त्रण गर्न सचेतना,कार्यक्रमसंगसंगै दवावमुलक र कानुनी वाटाहरू पनि अख्तियार गर्ने मकवानपुर गढी गापाका अध्यक्ष विदुर हुमागाईले वताए । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने कैलाश र राक्सिराङ गाउपालिकामा व्याप्त रुपमा वालविवाह हुने गरेको छ । अन्य ८ स्थानीय तहमा पनि वालविवाह गर्ने प्रचलन अझै कायम छ ।

२०७५ असार १९ गते ९:०७ मा प्रकाशित