समाचारमा बालबालिका

बालविवाह रोकिएन

कतिपय किशोरकिशोरीले मोबाइल, फेसबुकमार्फत प्रेम प्रस्ताव राख्ने र विवाह गर्ने बढेको सरोकारवालाले बताएका छन् । स्वास्थ्य संस्थामा किशोरी अवस्थामै आमा बनेर आउने तथ्यांकले बालविवाह बढेको सजिलै अनुमान गर्न सकिने टीकापुर नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए । उनले भने, यो वर्ष ५ सय ९६ जना गर्भ जाँचका लागि आएकामा ८९ जना २० वर्षमुनिका छन्। त्यस्तै, २ सय ९८ जना सुरक्षित गर्भपतनका लागि आएकामा१२ जना २० वर्ष मुनिका छन् ।परिवार नियोजनको साधन प्रयोग गर्ने मध्ये ४ प्रतिशत २० वर्षमुनिका रहेको उनले बताए । अभिभावकको दबाबका कारण बालविवाहमा कमी आए पनि फोन र सामाजिक सञ्जालका कारण बालविवाहमा किशोरकिशोरी आकषिर्त भएको पाइएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले पछिल्लो समय महिलाका पक्षमा कानुन आए पनि यसको कार्यान्वयन हुन नसकेको बताए । उनले भने, यसको बारेमा जानकारी पनि सर्वसाधारणलाई छैन । अर्कोतिर कानुन कार्यान्वयन गर्दा महिला नै बढी पीडामा पर्ने अवस्था पनि छ । बालविवाहका मुद्दा इलाका प्रहरी कार्यालयमा नआए पनि २ वटा उमेर नपुगी मन्दिरमा भइरहेको विवाह आफूले रोकेको उनले बताए । उनका भने, एक केटाले जुन केटीलाई मन पराउँथ्यो । उसको विवाह हुन थालेपछि मन पराउने केटाले उमेर नपुगी विवाह गर्न थालेको भनेर खबर गर्‍यो र विवाह रोक्यौं ।रहरैरहरले विवाह गरेका एउटा जोडी टीकापुरको जनजागृति माविमा अध्यनरत रहेको शिक्षिका उर्मिला रावलले बताइन् । उनले भनिन्, ९ र १० कक्षामा अध्यनरतले विवाह गरेका छन् । उनीहरू स्कुल आइरहेका छन् । आमाबुवाले पनि उनीहरूले पढाउने भनेका छन् । कलिलै उमेरमा विवाह गरेर आमा बनेकाहरूमा अनेक स्वास्थ्य समस्या आउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख बलबहादुर रावलले भने, किशोरी अवस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यानमा खतरा हुन्छ । बच्चालाई कुपोषण हुने महिलाको पाठेघर खस्ने समस्या हुन्छ ।बालविवाहका मुद्दा प्रहरी कार्यालयमा दर्ता नभए पनि कैलालीमा आत्महत्याको दर बढेको तथ्यांक छ । आत्महत्या गर्नेमा किशोरीको संख्या बढी छ । कम उमेरमा विवाहका कारण भविष्य बिग्रियो भनेर कतिपयले आत्महत्या गरेको पाइएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

२०७६ जेठ ६ गते १०:११ मा प्रकाशित