समाचारमा बालबालिका

बालविवाह गर्नेलाई एक महिना कैद र दश हजार जरिवाना

उमेर नपुगेकी बालिकासँग विवाह गरेको आरोपमा दैलेखमा एक जनालाई दैलेख जिल्ला अदालतले एक महिना कैद र दश हजार जरिवाना गरेको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई मंगलबार सजाय सुनाइएको अदालतका प्रवक्ता नायव सुब्बा विनोद आचार्यले जानकारी दिनुभयो । नौमूले गाउँपालिका–८ चौराठाकी १५ वर्षीया परिवर्तित नाम भावना रानालाई विवाह गरेको पुष्टि भएकोले त्यो सजाय भएको बताइएको छ ।  त्यसै मुद्दाको सन्दर्भमा बालिकालाई विवाह गराउन फकाएको आरोपमा नारायण नगरपालिका–११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई पनि प्रति यक्ति एक–एक हजार रुपैंयाँ जरिवाना भएको प्रवक्ता आचार्यले बताउनुभयो । गएको असोज २८ गते राति आमा बुबा घरमा नभएको मौकामा फकाएर गरेको भन्दै विवाह गराइएकी भनिएकी भावना रानालाई फिर्ता लिएर आमाले कात्तिक २ गते प्रहरीमा जाहेरी दिएको आधारमा जिल्ला सरकारी वकील कार्यालयले कात्तिक २२ गते दैलेख जिल्ला अदालतमा बालविवाह मुद्दा चलाएको थियो । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको फैसलामा अदालतमा पेश भएको प्रमाण आधारमा बालविवाह गरेको ठहर गर्दै बालिका आमाबुबासँग गइसकेकोले विवाहको मान्यता कायम नरहने उल्लेख छ ।  २०६८ को जनगणनाको तथ्यांक अनुसार जनसंख्याको अनुपातमा बालविवाह धेरै हुने जिल्लामा दैलेख तेश्रो स्थानमा छ । प्रतिशतका हिसावले ३२ दशमलव २५ प्रतिशत भए पनि बालविवाहको मुद्दा अदालतसम्म आइपुगेको यो दोश्रो मुद्दा यो । पाँच वर्षअघि परेको बालविवाह सम्वन्धी पहिलो मुद्दा पीडित बालिका नै होष्टाइल भएपछि मुद्दा खारेज भएको थियो । 

२०७४ फागुन २२ गते ८:०५ मा प्रकाशित