समाचारमा बालबालिका

सानै उमेरमा बिहे, सन्तान जन्मेपछि पछुतो

व्यासी स्वास्थ्य चौकीमा गर्भजाँच गर्न आएकी रञ्जा थापाले स्वास्थ्यकर्मीलाई आफ्नो विवरण टिपाइन् । उमेर १८ वर्ष पुग्दै गरेकी थापाका २ छोरा छन् । बझाङको छबीस पाथिभेरा गाउँपालिकाकी थापाले स्थानीय शान्ति मावि, चौघानपाटामा कक्षा पाँचमा पढ्दै गर्दा प्रेम विवाह गरेकी हुन् । विहे गर्दा उनको उमेर १३ वर्षमात्र थियो । छिमेकी गाउँकै १५ वर्षीय किशोरसँग विवाह गरेकी उनले १६ वर्षको उमेरमै दुई सन्तानलाई जन्म दिएकी थिइन् । सुरुको जत्काल बस्ता (पहिलोपटक सुत्केरी हुँदा)देखि कम्मर दुख्न सुरु भएको हो । निको भएको छैन,’ उनले स्वास्थ्यकर्मीसँग आफ्नो समस्या राख्दै भनिन्, ‘अचेल हातखुट्टा बाउँडिन्छन् । आँखा रमरम (तिर्मिराउने) हुन्छन् । बेलाबेला भनन रिंगटा लाग्छ । केही मिनेटसम्म चारैतिर अँध्यारो हुन्छ । केही देखिँदैन ।’ उनले प्रत्येकपटक आमा बन्दा नयाँ खालका स्वास्थ्य समस्या देखिन थालेको बताइन् । बालखैमा आमा बन्नु पर्दा उनको स्वास्थ्यमा एकपछि अर्को समस्या थपिएको पीडा त छँदैछ, अन्जानमै विहे गरेर पढाइ छुटेकोमा पछुतो पनि उत्तिकै छ । ‘बच्चा उमेरमै माया बस्यो । यस्तो होला भन्ने थाहा पाएकी भए त विहे नै गर्ने थिइनँ,’ उनले भनिन्, ‘घरकाले पढ् भनेर भन्दाभन्दै भागेर विहे गरेँ । अहिले धेरै पछुतो भएको छ ।’तल्कोट गाउँपालिका–४ की दुर्गा भण्डारीको कथा पनि थापासँगै मिल्दोजुल्दो छ । आठ कक्षा पढ्दै गर्दा ५ वर्षअघि उनले विवाह गरेकी हुन् । प्रेमपछि विवाह बन्धनमा बाँधिएकी उनको उमेर त्यतिबेला १४ वर्ष मात्रै थियो । उनका हाल दुई सन्तान भइसकेका छन् । किशोरावस्थामै आमा बनेकी उनले श्रीमान्‌को माया त पाएकी छन्, तर अरु सबै अवसर गुमाएकोमा भने पछुतो लाग्ने गरेको सुनाइन् । ‘सँगैका साथीहरू कोही जागिरे भए, कोही पढ्दै छन्, भविष्य बनाउँदैछन् । मैले भने बच्चा स्याहार्दै बस्नु परेको छ,’ उनले भनिन् । बालविवाह दर उच्च रहेको बझाङमा केही समयअघिसम्म अभिभावकले नै जबरजस्ती विहे गराइदिने चलन थियो । केही वर्षयता यसमा सुधार आएको छ । तर, कलिलैमा प्रेमविवाह गर्ने र आमा बन्नेको संख्या भने बढेको जिल्ला अस्पताल बझाङले जनाएको छ । सामान्यतया २० वर्षपछि मात्रै बच्चा जन्माउन परिपक्व हुने भएपनि २० वर्ष अगावै आमा बन्नेको संख्या कूल सुत्केरीको ६० प्रतिशत रहेको अस्पताल प्रमुख डा। सन्दीप ओखेडाले बताए । ‘जिल्लाको तथ्यांक चिन्ताजनक छ,’ उनले भने, ‘यति ठूलो संख्यामा किशोरीहरू गर्भवती हुनु भनेको स्वास्थ्य र सामाजिक दुबै दृष्टिकोणले राम्रो कुरा होइन ।’ उनले किशोरावस्थामा गर्भवती हुँदा महिलाको स्वास्थ्यमा विभिन्न समस्या देखिने र कतिपयको ज्यानै जानसक्ने खतरा हुने बताए । कलिलै उमेरमा वर्षेनी सन्तान जन्माएका कारण यहाँका धेरैजसो महिलामा पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुनेजस्ता समस्या देखिएको र विभिन्न यौनजन्य रोगको संक्रमणसमेत भएको भेटिएको उनले जानकारी दिए ।

सानै उमेरमा विवाह गरेका धेरैको स्वास्थ्य अवस्था नाजुक हुने र युवावस्था पुग्दासम्म कतिपयको घरबार नै बिग्रिएर विचल्लीमा पर्ने गरेका घटना सुनिँदै आएको छ । किशोरावस्थामा आर्कषणमा परेर प्रेम विवाह हुन्छ । उनीहरूको पढाइ छुट्छ,’ सुरक्षित महिला आवास गृहकी मनोविमर्शकर्ता सावित्री थापा भन्छिन्, ‘धेरैजसोका श्रीमान् उच्च शिक्षा पढ्न बाहिरी जिल्ला जान्छन् । उतैबाट पढेलेखेकी अर्की श्रीमती लिएर घर फर्किन्छन् । अनि घरकी श्रीमतीको विचल्ली हुन्छ ।’ भविष्यका बारेमा उचित निर्णय लिनसक्ने उमेर नहुँदै बालबालिकाले प्रेमविवाह गर्नुका पछाडि मोबाइल र इन्टरनेट पनि कारण रहेको कतिपयको बुझाइ छ । तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विस्ट भन्छन्, ‘बच्चाको जिद्धी टार्न नसकेर स्कुले केटाकेटीलाई मोबाइल किनिदिने अभिभावक पनि बालविवाह हुनुमा जिम्मेवार छन् ।’ मोबाइल र सामाजिक सञ्जालका अवगुणबारे जानकारी नहुँदा अभिभावकले छोराछोरीलाई सानै उमेरमा मोबाइल किनिदिने र यसले बालविवाह र अन्य विकृति बढाएको उनको भनाइ छ । बालविवाह र किशोरवस्थामै आमा बन्ने क्रम बढ्नुमा शिक्षा प्रणाली पनि उत्तिकै जिम्मेवार रहेको बताउँछन् लामातोला माविका शिक्षक झलक रोकाया । ‘विद्यालय शिक्षाको पाठ्यक्रममै यस्ता विषय समावेश हुनु पर्थ्यो,’ रोकायाले भने, ‘जीवन उपयोगी सीप सिकाउने खालका पाठ्यक्रम विकास नभएकोले बालबालिकाहरू विकृतिमा फसेका हुन् ।’ उनले पाठ्यक्रममा बालविवाह, छाउपडीजस्ता विषय अट्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

२०७६ माघ २१ गते १०:३४ मा प्रकाशित