समाचारमा बालबालिका

बालविवाह बदर गर्ने अभियान शुरु

कानूनले तोकेको उमेर नपुग्दै भएको बालविवाहलाई तमानखोला गाउँपालिकाले बदर गरेको छ । गाउँपालिकाले गत वैशाखदेखि नै बालविवाह विरुद्धको अभियान थालेको हो । अभियानअन्तर्गत खुङ्खानी, बोङ्खानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका १० वटा बालविवाहलाई गाउँपालिकाले बदर गरेका हुन् । सकभर हुनै दिन्नौँ, भइहाले बदर गर्छौं’, गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने । गाउँपालिकाको न्यायिक समितिमार्फत दुवै पक्षको समझदारी जुटाएर विवाह बदर गर्ने गरिएको छ । परामर्श, छलफल र सचेतनापछि विवाह तोड्न केटाकेटी पनि राजी हुन थालेका छन् । गाउँपालिकाले टोल, बस्तीमा पुगेर बालविवाह विरुद्धका वृत्तचित्र, नाटकसमेत प्रदर्शन गर्ने गरेको छ । घरघरमै पुगेर अभिभावक र बालबालिकालाई सँगै राखेर परामर्श दिने गरिएको छ । सचेतना बढाउँदा बालविवाह रोक्न सहज भएको अध्यक्ष बुढाले बताए । गाउँपालिकाले १६ देखि १९ वर्ष उमेर समूहभित्र भएका बालविवाहलाई बदर गरेको हो । बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई कानूनले बालविवाह भनिएको छ । तमानखोला गाउँपालिकाका अधिकांश वडामा बालविवाह सामाजिक समस्याका रुपमा छ । कम उमेरमै भागेर विवाह गर्ने पुरानो प्रवृत्ति अहिले पनि रहेको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक मानसरी शेरचनले बताए । गाउँपालिकाले गत वर्ष बनाएको बालविवाहसम्बन्धी वृत्तचित्रले पनि गाउँमा सचेतना बढाउन ठूलो सघाउ पु¥याएको छ । वृत्तचित्रमा बालविवाहबाट समस्या झेलेका व्यक्तिका कथा र त्यसले समाजमा पार्ने असरलाई जीवन्त ढङ्गले उठान गरिएको छ । बालविवाह गरी छुट्टिन नमान्ने जोडीलाई अधिकारकर्मी र स्वास्थ्यकर्मीले परामर्शसमेत दिने गरेका छन् । व्यक्तिगत, पारिवारिक, सामाजिक जीवन र स्वास्थ्यमा पुग्ने असरका बारेमा सचेत पारेपछि बालविवाह बदर गर्न अभिभावक र बालबालिका सहमत बन्न थालेका हुन् । विद्यालय उमरेका किशोर किशोरीले प्रदर्शन गर्ने बालविवाहसम्बन्धी सचेतनामूलक नाटकले पनि बालविवाह न्यूनीकरणमा ठूलो टेवा पुगेको बताइएको छ । गरिबी, बेरोजगारी, अशिक्षा, सचेतना अभावजस्ता कारणले जिल्लाका दुर्गम गाउँमा बालविवाह हुने दर बढी छ । 

२०७५ भदौ २० गते प्रकाशित