समाचारमा बालबालिका

दाङमा बालविवाह गराउने पक्राउ, विराटनगरमा बालिकाको शव भेटियो

प्रहरीले ललाइफकाई बाल विवाह गराएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार गत माघ १० गते घोराही मामा घरमा जाँदा १६ बर्षिया बालिकाको घोराहीका २२ वर्षीया गणेश चौधरीसँग विवाह गरिदिएको आरोपमा कमली चौधरी र विवाह गर्ने गणेश चौधरी पक्राउ परेका हुन् । चौधरीले विभिन्न प्रलोभन देखाइ जबर्जस्ती विवाह गरिदिएको आरोपमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी नायब उपरीक्षक घर्तीले बालिकाको विवाह गर्ने गराउने दुवै जनालाई बालविवाह अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । यसैबीच विराटनगर– ८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दासको शव फेला परेको छ । उहाँको शव सिंघिया खोलामा नग्न अवस्थामा फेला परेको हो । दास शनिबार साँझदेखि हराइरहेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । मृतककी आमा मन्नी देवीले छोरी छिमेकीको घरमा टेलिभिजन हेर्न जान्छु भनेर निस्किएलगत्तै बेपत्ता भएको बताइन् ।  प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटनाबारे अनुसन्धान थालिएको बताए ।

२०७५ माघ १३ गते प्रकाशित