समाचारमा बालबालिका

कलिलै उमेरमा आमा

मकवानपुरको दुर्गम क्षेत्रमा मात्र होइन, हेटौंडा उपमहानगरपालिकाभित्र पनि किशोरी अवस्थामा नै आमा बनेका छन् । हेटौंडा अस्पतालमा चालु आवको ९ महिनामा २० वर्षमुनिका २ सय किशोरी आमा बनेका छन् । साउनदेखि चैत महिनासम्म हेटौंडा अस्पतालमा १८ सय ४१ सुत्केरी भएका छन । तीमध्ये २० वर्षमुनिका २ सय एक सुत्केरी भएको अस्पतालले जनाएको छ । हेटौंडा अस्पतालका अनुसार सबैभन्दा कम उमेर १७ वर्षमा ३ किशोरी आमा बनेका छन् । १७ वर्षभन्दा कम उमेरका आमा बनेको तथ्यांक अस्पतालमा छैन । चालु आवमा उपमहानगरपालिकाभित्र ९ महिनाको अवधिमा २० वर्षमुनिका २ सय ६५ किशोरीले पहिलो पटक आफ्नो गर्भ जाँच गराउका थिए । चार पटक गर्भ जाँच गराउनेको संख्या २ सय १० छ । गत आवमा हेटौंडा उपमहानगरपालिकाभित्र २० वर्षभन्दा कम उमेरका ५ सय २७ किशोरी गर्भवती भएका थिए । तीमध्ये १ सय ७९ गर्भवतीले मात्र चार पटक गर्भ जाँच गराएका थिए । यो तथ्यांकले बालविवाहसँगै कम उमेरमै गर्भवती हुँदा गर्भवती र गर्भमा रहेको शिशुको जोखिमलाई सहज ढंगले बुझ्न सकिन्छ,’ हेटौंडा अस्पतालका डा। प्रवीण श्रेष्ठले भने, ‘बालविवाहका कारण गर्भवती महिला र शिशु उच्च जोखिममा परेका छन् ।’२० वर्षभन्दा माथिका १ हजार ६ सय ६७ महिलाले चालू वर्षको ९ महिनामा पहिलो पटक गर्भ जाँच गराएका छन् । जसमध्ये १ हजार ८७ गर्भवतीले ४ पटक गर्भ जाँच गरे । गत आवमा व २० वर्षभन्दा बढी उमेर समूहका २ हजार ७ सय २८ महिलाले पहिलो पटक गर्भ जाँच गरेका थिए । जसमध्ये ४ पटकसम्म १ हजार ३ सय ८९ गर्भवतीले गर्भ जाँच गराए । गर्भावस्थाका बारेमा पहिलो पटक परीक्षण गर्नेको संख्या उल्लेख्य भए पनि स्वास्थ्यका दृष्टिले ४ पटक गर्भ जाँच गराउने महिलाको संख्या भने निक्क कम छ । ४ पटक गर्भ जाँच गराउने गर्भवतीलाई सरकारले प्रोत्साहन स्वरूप यातायात खर्चसमेत प्रदान गरेको छ । नियमित गर्भजाँच गर्ने क्रममा गर्भमा रहेको भ्रूणको अवस्था, गर्भवती महिलाको अवस्थाका बारेमा जाँच गरिन्छ । गर्भवतीलाई सुइँ लगाउने, औषधि खुवाउने र पोषणसम्बन्धी अभिमुखीकरणसमेत दिने गरिएको छ ।

बालविवाह दण्डनीय
संविधानको धारा ३९ को उपधारा ९५० ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हकको स्थापित गरेको छ । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैको लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय हुने व्यवस्था छ । यी सबै ऐन, कानुन, नीति, कार्यविधिको व्यवस्था भए तापनि बालविवाह कम हुन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा उपमहानगरभित्र पनि विकट र साविकका ६ गाविस मिसिएर हेटौंडा उपमहानगरपालिका बनेको भन्दै त्यस्ता विकट स्थानमा शिक्षा र चेतनाको कमीका कारण बालविवाह कायमै रहेको बताए । हेटौंडा उपमहानगरभित्र चालु आवको ९ महिनामा २० वर्षभन्दा कम उमेरका २४ गर्भवतीले औषधिका माध्यमबाट गर्भपतन गराएका छन् । शल्यक्रिया गरी ३५ जनाले गर्भपतन गराए । गत आवमा २० वर्षमुनिका ९६ जनाले औषधिको प्रयोग गरी गर्भपतन गराएका थिए १ सय २६ जनाले शल्यक्रिया गरी गर्भपतन गराएका थिए ।यस आवको ९ महिनाको अवधिमा २० वर्षभन्दा माथिका १ सय ८८ गर्भवतीले औषधि विधिद्वारा र २ सय १ गर्भवतीले शल्यक्रियाद्वारा गर्भपतन गराएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले बताए । हेटौंडा पमहानगरपालिका १९ वडामा विभाजित छ । उपमहानगरपालिकाभित्र विकट ग्रामीण बस्ती छ । मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ, कैलाश गाउँपालिका र पूर्वी क्षेत्रमा पर्ने बकैया र वाग्मती गाउँपालिकामा कलिलै उमेरमा आमा बन्नेहरूको संख्या बाक्लो छ । ‘जहाँ बालविवाह व्याप्त छ, त्यहाँ कलिलै उमेरमा आमा बन्नेहरूको संख्या बाक्लो हुन्छ,’ प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले भने, ‘बालविवाहलाई नियन्त्रण गर्न नसकेसम्म किशोरी अवस्थामा आमा बन्नेहरूको संख्या घटदैन ।’ प्रदेश ३ सरकारले २०७८ सालसम्म प्रदेशलाई बालविवाह मुक्त बनाउने लक्ष्य लिएको छ।

२०७६ जेठ १५ गते ७:३० मा प्रकाशित