समाचारमा बालबालिका

बालविवाह र बलात्कार अभियोगमा आठ वर्ष कैद

चौध वर्षीय किशोरीलाई जबरजस्ती विवाह गरी बलात्कार गरेको ठहर गर्दै सिन्धुली जिल्ला अदालतले मरिण गाउँपालिका–५ चौकीटारका २५ वर्षीय श्यामकुमार दमाईलाई आठ वर्ष तीन महिना कैद सजाय सुनाएको छ। अदालतको मंगलबारको फैसलाले दमाईलाई बालविवाह गरेवापत तीन महिना कैद तथा एक हजार रुपैयाँ जरिवाना र बलात्कार अभियोगमा आठ वर्ष कैदका साथै पाँच हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले उक्त फैसला गरेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दमाईकी जेठी श्रीमती २३ वर्षीय शान्ति दर्जीले २०७४ फागुनमा श्रीमानले अर्को विवाह गरेको भनि उजुरी दिएकी थिइन्। दमाईले उमेर नै नपुगेकी किशोरीलाई श्रीमती बनाएर घरमा भित्र्याएको र शारीरिक सम्बन्ध राखेको खुलेपछि उनलाई बालविवाह र बलात्कारमा मुद्दा चलाएको थियो। दमाईले ती किशोरीलाई २०७४ फागुन १५ गते घरमा भित्र्याएका थिए। दुई छोराछोरीसहित आफूलाई घरनिकाला गरेको जेठी श्रीमतीको उजुरीपछि दमाईलाई प्रहरीले २०७४ फागुनमै पक्राउ गरेको थियो।

२०७५ असार २० गते प्रकाशित