१६ वर्षमै श्रीमान गुमाएकी रोशनलाई न्याय मिल्यो
‘यो पैसाले बुवाआमाले मेरो बिहे गरिदिने होलान्, तर मलाई बिहे गर्न मन छैन,’ रोशन खातुनले छेवैमा रहेका बुवाले नसुन्ने गरी भन्नुभयो, ‘पहिलो बिहेमा त दाइजो माग्छन्, झन अब दोस्रो बिहेमा यो सबै पैसा सकिन्छ, मलाई राम्रो पनि हुन्न । साउदीमा दुई वर्षअघि बितेका पतिको नेशनल लाइफ इन्युसेन्सबाट बिमाको रकम पाएको चेक हातमा लिएपछि रोशनलाई अर्को चिन्ता थपिएको छ । बुवाआमाले फेरि बिहे गरिदिए भने के होला ? एकल महिलालाई भित्र्याउने मान्छे कस्ता होलान् ? उसले गर्ने व्यवहार कस्तो होला ? रोशनको मन यस्तै प्रश्नले भरिएको छ ।रोशनको पहिलो बिहेमा ६ लाख रुपैयाँ ऋण लाग्यो । ६ लाख खर्च गरेर गरेको बिहेले अनगिन्ती पीडा दियो । अब झन् के होला ? रोशनलाई छटपटी भएको छ, ‘मलाई बिहे गर्न मन छैन, दोस्रो पटक बिहे गरेको त हो नि भन्छन्, के राम्रो होला र ? रोशनको आमा बुवालाई भने अर्कै चिन्ता छ । १८ वर्ष मात्र लागेकी छोरीलाई जीवनभरी कसरी एक्लै जिउन दिने ? ससुराले रोशनलाई विदेशबाट शव ल्याएको थाहा दिएनन् । बुहारीलाई पत्तै नदिई सदगद गरे । अनि अविवाहित भएको कागज बनाएर सरकारी राहत बुहारीलाई नदिने चाल चले । तर रोशनका ससुरा ल्याकत मियाको यो प्रयास सफल भएन । करार अवधिभित्रै विदेशमा मृत्यु हुनेका परिवारले पाउने सरकारी राहत पाउन पनि उहाँले धेरै हण्डर सहनु पर्यो । १८ वर्ष मात्रै लागेकी रोशन न आफ्नो निर्णय आफैं गर्न सक्नुहुन्छ, न परिवारको कुरा नर्कान । मनमै गुम्सिएका छन् चाहनाहरु ।
बिहे गर्ने उमेर नहुँदै एकल महिला हुनुको पीडा
धनुषा साविकको भरतपुर गाविस २ की रोशन खातुन अहिले १८ वर्षकी हुनुभयो । १४ वर्षमा बिहे गरेकी रोशनले २ वर्ष नहुँदै पत् िगुमाउनु पर्यो । त्यो पनि कानुनी रुपमा बिहे हुन नपाउँदै । २०७२ साउनमा ६ लाख रुपैयाँ दाइजोसहित धनुषाकै सविकको भरतपुर गाविसका सबिर रायनसँग बिहे भएको थियो रोशनको । बिहे भएको केही समयमै पति साउदी गए । पति साउदी लागेपछि रोशनलाई पनि परिवारका सदस्यले घरबाट निकालिदिए । रोशन आमाबुवाको साथमा माइतीमै बस्नुहुन्थ्यो । पति सबिरले दिनहुँ फोन गर्थे । पति पत्नीबीच सम्बन्ध राम्रो थियो । ‘मलाई घर नजाउ बुवाआमा राम्रो छैन, त्यहीँ बस, म आएपछि घर बनाउँला, म दुई तीन वर्षमा सबै मिलाएर आउँछु भनेका थिए, तर अन्तिम पटक लास पनि देख्न पाइनँ,’ रोशन मसिनो स्वारमा बोल्नुभयो । २०७३ भदौमा रोशनका पतिले साउदीमा आत्महत्या गरेको खबर आयो । परिवारले घरबाट निकाले पनि पति फर्किने आशमा पर्खिरहेकी रोशनले पति बाकसमा फर्किएको सुन्नुपर्यो ।
जब ससुराले अविवाहित कागज बनाए
पतिको मृत्यु भएको खबरपछि रोशनले कुनै जानकारी पाउनुभएन । ससुराको डरले रोशन घरमा जान पनि सक्नुभएन । छोराको मृत्युको खबर सुनेको केही दिनपछि रोशनका ससुरा ल्याकत मिया कवारी काठमाण्डौ आए । केही कागजपत्रसहित छोराको शव झिकाउने काममा सघाउन अनुरोध गर्दै अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को कार्यालयमा पुगे । गाउँमा राँगाभैंसी किन्दै हिँड्ने, साइकलमा कराउँदै टोलटोल चाहार्ने ल्याकत मिया कवारीलाई आफ्नो कार्यालयमा देखेपछि पूर्णिमा हमालले चिनिहाल्नुभयो । ल्याकतले पनि पूर्णिमालाई चिने । सोधे, ‘तिमी त फलानोको छोरी हैन ? कुराकानीको सिलसिलामा ल्याकतले आफ्नो छोरा साउदीमा बितेको र शव झिकाउनका लागि आफू यहाँसम्म आएको बताए । पूर्णिमाले पनि प्रक्रिया बताउनुभयो ।‘साउदीबाट शव ल्याउन समय लाग्छ, शव ल्याएपछि बुहारीलाई पनि लिएर कागजपत्रसहित आउनु, क्षतिपूर्तिका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिन पर्छ,’ पूर्णिमाले भन्नुभयो । तर बुहारीको कुरा गर्नासाथ ल्याकतले पूर्णिमाको हातबाट कागजपत्र खोसे । ‘छोराले आत्महत्या पनि बुहारीकै कारणले गर्यो, पैसा त्यसलाई दिन पर्छ भने लास उतै किरा परोस्, म झिकाउँदिन भन्दै कागज पत्र खोसेर यहाँबाट हिँडे,’ त्यतिबेला ल्याकतको आवेग सुनाउनुभयो पूर्णिमाले । झण्डै चार महिनापछि ल्याकत फेरि पूर्णिमालाई भेट्न पीएनसीसी पुगे । पूर्णिमासँग नरम हुँदै कुरा गरे । छोराको शव झिकाउन सबै प्रक्रिया पूर्णिमाले नै गरिदिनुभयो । तेस्रो पटक पूर्णिमालाई भेट्न आउँदा ल्याकतले छोरा अविवाहित भएको कागज बनाएर आए । गाउँकै मान्छे भएकाले पूर्णिमालाई उहाँको छोराको बिहे भएको थाहा थियो । पूर्णिमाले सोधीखोजी गर्नुभयो । ल्याकतले ढाँटे ‘बुहारी पोइल गई ।’जे भए पनि विवाहित मान्छेको कागज कसरी अविवाहित बन्यो रु पूर्णिमालाई चित्त बुझेन ।पूर्णिमाले सचिवसँग सोधपुछ गर्नुभयो । सचिवले बिहे भएको कुनै आधार नभेटिएकाले कागज बनाइदिएको स्वीकार गरे । पूर्णिमाले सोधपुछ गरेर बुहारीलाई पनि ल्याउन पर्छ भनेपछि ल्याकत पहिलेझैं कागजपत्र बोकेर हिँडे । ल्याकत फर्किएपछि पूर्णिमा भने रोशनको खोजीमा लाग्नुभयो ।धनुषामा आप्रवासी कामदारको समस्या सुन्ने सूचना केन्द्र छ । त्यहाँको सूचना केन्द्रबाट ल्याकतको बुहारी पोइल गए वा नगएको बुझ्न पूर्णिमाले कर्मचारीलाई हरिहरपुर–१, दुर्गाटोल पठाउनुभयो । रोशन माइतमै हुनुहुन्थ्यो । दुई अक्षर नपढेकी रोशनलाई कहाँबाट के राहत पाइन्छ के थाहा रु सूचना केन्द्रकै कर्मचारीको सहयोगमा रोशन काठमाण्डौ आउनुभयो । केन्द्रबाटै रोशनले बिमा र सरकारबाट राहत रकम पाउने जानकारी पनि पाउनुभयो । क्षतिपूर्ति बुझ्न रोशन काठमाण्डौ त आउनुभयो । तर सबिरको पत्नी भएको कुनै सरकारी कागजात थिएन । ससुराले त छोरो अविवाहित भएको कागज बनाइसकेका थिए । रोशनको नागरिकता, विदेशमा मृत्यु भएको कागजात, स्थानीय निकायको सिफारिस, नाता प्रमाणित कागजात भएपछि मात्रै राहत रकम मिल्थ्यो । यी कागजात केही पनि थिएन रोशनसँग । साउदीबाट शवसँगै आएको सबै कागजात ससुरा ल्याकतले राखेका थिए । फोनमा सोध्दा उनले सबै कागजपत्र जलाइदिएको बताए ।रोशनसँग बिहे गर्दा त परको कुरा नागरिकतासम्म थिएन । ससुरा ल्याकतले सिफारिस गरे मात्रै नागरिकता बन्ने भयो । सिफारिस गर्न ल्याकत तयार भएनन् । धेरै प्रयासपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कागज बनाइदियो ।शव नेपाल आउँदाको कागजपत्र ल्याकतले नदिएपछि पूर्णिमाले विमानस्थलबाट लिनुभयो । अन्तिममा दुवै पक्ष क्षतिपूर्ति आधाआधा बाँड्नसम्म राजी देखिए । तर कुरो अड्क्यो त्यो कसले बुझ्ने भन्नेमा ।‘मलाई सबै पैसा चाहिन्न, आधी पैसा दिन्छु,’ रोशनको अडान थियो । ‘तँबाट किन पैसा बुझ्ने रु मेरो नाममा पैसा आउनुपर्छ । म तँलाई आधा दिन्छु,’ ल्याकतको ढिपी थियो, ‘मेरो छोराका क्षतिपूर्ति मेरै नाममा आउनुपर्छ ।’ अन्तिममा ल्याकतको केही चलेन । पूर्णिमाकै सहयोगमा गएको वर्ष २०७५ असारमा वैदेशिक रोजगार बोर्डबाट रोशनले तीन लाख रुपैयाँ पाउनुभयो । डेढ लाख रुपैयाँ ससुरा ल्याकतलाई दिनुभयो । झण्डै एक वर्षपछि बोर्डले दिएको चेकलाई नै आधार बनाएर बिमाको रकम पनि दियो इन्स्युरेन्सले । यही जेठ २४ गते इन्स्यूरेन्समार्फत रोशनले सात लाख ५० हजार रुपैयाँ पाउनुभयो । यो रकम भने उहाँले ससुरालाई दिनु पर्ने छैन । ‘बिमाको रकम त ससुरालाई दिनुपर्छ भन्ने छैन, रोशनले पैसा पाएको ल्याकतलाई थाहा पनि छैन, ’ पूर्णिमा भन्नुहुन्छ, ‘नेशनल लाइफ इन्स्युरेन्सले पनि सहयोग गर्यो, सबैको सहयोगले रोशनले ससुरासँगको लडाईं जितिन् ।’रोशन थोरै बोल्नुहुन्छ । टोलाइरहनुहुन्छ । १४ वर्षमै बिहे हुनु, अनि बिहे भएको दुई वर्ष पनि नपुग्दै सिउँदो पखालिनु १ पतिको मृत्युपछि पनि हजारौं अप्ठ्याराहरुसँग लड्नु पर्यो । अरु अप्ठ्याराका त के कुरा र, आफ्ना भन्नेहरु नै रोशनको जीवनमा अप्ठ्यारा बनिदिए । उमेर सानै छ । पढेलेखेको छैन । हातमा सीप पनि छैन । गरी खाउँ भन्दा के गर्ने पनि थाहा छैन । थाहा छैन, यो सबै पीडाको छाप रोशनको कलिलो मनस्थितीमा कसरी परेको छ ।बिहेले दुःख दिन्छ भन्ने छाप उहाँमा गडेको छ । त्यसैले कयौं दुःख सहेर हात परेको पैसाले फेरि बिहे गरेर उस्तै दुःख निम्त्याउन रोशनलाई मन छैन।
२०७६ जेठ २८ गते ३:५९ मा प्रकाशित