समाचारमा बालबालिका

विवाहको रहरले पढाइ चौपट

पूर्वी रोल्पाकी शारदा ९ कक्षामा पढ्दापढ्दै गर्भवती भइन्। १५ वर्ष नपुग्दै गर्भवती भएकी उनले पढाइ छोडेर बिहे गरिन्। विवाह नगरी यौन सम्पर्क गर्दा बच्चा जन्मिँदैन भन्ने सुनेकी उनले अस्थायी साधनबारे थाहा हुँदाहुँदै पनि आवश्यकताको महसुस गरिनन्। ‘बिहे नहुँदै गर्भ बस्छ भन्ने थाहा भएन। थाहा पाएको भए यस्तो हुँदैनथ्यो,’ शारदाले पढ्ने इच्छा हुँदाहुँदै बिट मार्नुपरेकोमा चित्त दुखाएकी छिन्, ‘एउटा रहरले अर्को रहर सकियो।’ शारदा जस्ता यौनशिक्षाबारे थाहै नपाएका किशोरीबारे कुनै सरकार र तहले चासो नै दिएका छैनन्। स्वास्थ्यकर्मी भने विवाहअगाडिकोे यौन सम्पर्कले गर्भ रहन्छ भन्ने जानकारी नपाएका किशोरकिशोरी छन् भनेर मान्ने पक्षमा छैनन्। ‘अस्थायी साधनबारे थाहै नपाएको त होइन। बरु युवा अवस्थाको शारीरिक आकर्षणले बालविवाह बढेको छ। किशोरकिशोरीलाई अस्थायी साधनको जानकारी हुन्छ तर उपयोग गर्न असहज मान्छन्। सेवा लिन लाज मान्छन्,’ जिल्ला अस्पतालकी स्टाफ नर्स मीना कवर भन्छिन्, ‘सबै ठाउँमा सेवाको पहुँच पनि गतिलोे छैन।’किशोरकिशोरीले गर्भनिरोधका अस्थायी साधनको प्रयोगमा असहज मान्ने गरेको भए पनि गर्भपतनमा भने चासो दिने गरेका छन्। कवर भन्छिन्, अस्थायी साधन प्रयोग नगरे पनि गर्भपतन गर्न भने आउँछन्। अविवाहितको गर्भपतन गर्ने संख्या पनि बढेको छ। अविवाहित किशोरी अस्थायी साधनका लागि कहिल्यै आउँदैनन् बरु गर्भपतनका लागि आउँछन्।’ उता प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरकी डा। प्रकृति भट्टराई भन्छिन्, अन्यत्रभन्दा रोल्पामा भागी विवाह बढी हुने गरेको देखिन्छ। यहाँका किशोरीमा पढाइ छोड्ने चलन बढी छ। त्यसपछिको विकल्प बिहे हुन्छ। डा. भट्टराईका अनुसार बिहे नगर्नेहरू गर्भपतनको बाटो समाउँछन्। रोल्पामा विवाह गर्ने उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षमा जिल्ला अस्पताल रोल्पामा सुत्केरी भएका चार सय ३१ मध्ये एक सय ७ जना २० वर्षमुनिका छन्। तीमध्ये १४ किशोरीको सुत्केरीको समयमा जटिलता देखिएपछि अप्रेसन गर्नु परेको थियो। जिल्ला अस्पतालमा कार्यरत चिकित्सक किशोरीहरू आमा बनेको देखेर दिक्क बनेका छन्। ‘रोल्पामा बालविवाहको चलन घटेको छैन। सामाजिक र सांस्कृतिक चलन नफेरिएकाले पनि यस्तो भएको हुनसक्छ,’ जिल्ला अस्पतालका डा। अनिल केसी भन्छन्, ‘सानैमा बच्चा जन्माउँदा पाठेघर परिपक्व भएको हुँदैन। सुत्केरी हुन गाह्रो हुन्छ। पछि उमेर बढ्दै जाँदा पाठेघरको समस्या देखिने सम्भावना रहन्छ।’

असुरक्षित गर्भपतन गराउँदै किशोरी

किशोर अवस्थामै गर्भधारण गर्ने किशोरी निजी स्वास्थ्य संस्थाको शोषणमा पर्ने गरेका छन्। जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा ‘मेडिकल एबोर्सन’ अर्थात् औषधिको प्रयोगबाट गरिने ९ हप्तासम्मको अनिच्छित गर्भपतनको निःशुल्क सुविधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको क्लिनिकल अर्थात् उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको निःशुल्क सेवा पनि छ। तर यहाँका किशोरीले असुरक्षित गर्भपतन गराइरहेका छन्। असुरक्षित गर्भपतन गराउँदा आर्थिक हिसाबले महँगो पर्ने मात्र नभएर ज्यानकै जोखिमसमेत रहने भए पनि उनीहरू अझै सरकारी संस्थाको निःशुल्क र भरपर्दो सेवा लिँदैनन्। निजी अस्पताल र मेडिकलमा कुनै जाँचबिना गैरकानुनी रूपले औषधिको कारोबार भइरहन्छ। जिल्ला अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ५९ बिरामीलाई रगत चढाउनु परेकोमा १६ जना असुरक्षित गर्भपतनपछि भएको अत्यधिक रक्तस्रावका कारण रगत दिनुपरेको थियो।परिवार नियोजनका साधनबारे पर्याप्त जानकारी नहुनु र सामाजिक डरत्रासले असुरक्षित गर्भपतन बढेको हो। गत आर्थिक वर्षमा रोल्पाका विभिन्न स्वास्थ्य संस्थामा ७ सय ६५ जनाले सुरक्षित गर्भपतन गराएको आधिकारिक तथ्यांक भए पनि असुरक्षित गर्भपतन गराउनेको संख्या त्योभन्दा ठूलो छ।निजी अस्पताल वा मेडिकलमा गएर औषधि खाएपछि रगत बगाउँदै जिल्ला अस्पताल आउने गरेको स्टाफ नर्स मीना कवर बताउँछिन्। सुलिचौर प्राथमिक केन्द्रका डा.प्रकृति भट्टराईका अनुसार पूर्वी रोल्पामा पनि असुरक्षित गर्भपतनले बिगबिगि मच्चाएको छ।नेपालको संविधान, २०७२ ले महिलाको हकअन्तर्गत प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ भनेर व्यवस्थासमेत गरेको छ। तर गाउँमा आएको भनिएको स्थानीय सरकारले गर्भपतनबारे जानकारीमूलक कार्यक्रम र परिवार नियोजनसम्बन्धी चेतना बढाउने गतिलो कार्यक्रम नै ल्याएका छैनन्।

२०७६ कात्तिक ७ गते ८:०२ मा प्रकाशित