समाचारमा बालबालिका

पढ्दापढ्दै बालविवाह

पढ्दापढ्दै विवाह गरेका जोडीले गाउँ छाडे । महालक्ष्मी नगरपालिका ८ का १५ वर्षीया विनिता थापा र १६ वर्षका अनिल मगरले गत महिना प्रेमविवाह गरेका हुन् । दुवैजना स्थानीय जनता माध्यमिक विद्यालय निगालेमा १० कक्षामा अध्ययनरत छात्रछात्रा हुन् । विवाह गरेपछि दुवैको पढाइ अघि बढ्ने अवस्था रहेन । विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापाका अनुसार एकापसमा विवाह गरेका जोडी केही दिन विद्यालय आए पनि पछिल्लो समय घर र पढाइ नै त्यागेर अन्यत्र गएका छन् । यसअघि पनि विद्यालयमा ८, ९ कक्षामा पढ्नेले विवाह गरे र पढाइ बीचैमा छाडेको उनले बताए । ‘अपरिपक्व उमेरमा विवाह गर्नेले बीचैमा पढाइ छोड्ने गरेका छन्,’ उनले भने, ‘पढाइ नछाड्न सम्झाइबुझाइ गरे पनि मान्दैनन् ।’ कम उमेरमा विवाह गरेमा जटिल स्वास्थ्य समस्या हुनेबारे सचेत गराए पनि घरपरिवारबाट समेत त्यसबारे चासो नदिँदा समस्या रहेको उनको तर्क छ । जिल्लाका यसप्रकार विद्यालय उमेरमै विवाह गर्नेको अवस्था उल्लेखनीय रहेको छ । विद्यालयको कक्षाकोठा पढाइ हुने थलोका रूपमा रहनुपर्नेमा फरक गतिविधि हुन थाले पनि न्युूनीकरणको ठोस प्रयास कतैबाट हुन सकेको छैन । सदरमुकाममा रहेको त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरतमध्ये केही विद्यार्थी विवाहित छन् ।

प्रत्येक ९, १० कक्षामा अध्ययन गर्ने केही छात्रछात्रा विवाहित हुने गरेको शिक्षक मुकुन्द अधिकारी बताउँछन् । विगतका वर्षभन्दा यसमा केही कमी आएको उनले बताए । प्रजनन स्वास्थ्यबारे छात्रछात्रामा चेतना दिइने गरिएको जनाए । घरपरिवारदेखि सामाजिक रूपमा समेत कम उमेरमा विवाह हुन नदिने प्रयासमा जुट्न सके न्यूनीकरण हुने उनको धारणा छ । महालक्ष्मी नगरपालिका ८ का वडाध्यक्ष रामबहादुर खडकाका अनुसार कतिपय १४ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले विद्यालय पढदै विवाह गर्ने गरेका छन् । छोराछोरी हुर्किसकेपछि बल्ल विवाह तथा जन्मदर्ता गर्न आउने गरेको खडकाले बताए । कतिपयको बच्चाको जन्म दर्ता गरेको मितिभन्दा पछि मात्र विवाह दर्ताको मिति हुने गरेको उनले बताए । विवाह गरे पनि २० वर्ष कमका जोडीको विवाह दर्ता नहुने भएकाले त्यस्ता जोडीको तथ्यांक लिन नसकिएको उनको भनाइ छ । प्रत्येक टोलबस्तीमा नै बालविवाह हुने गरे पनि त्यसलाई घरपरिवारले सामान्य रूपमा लिने गरेकाले उजागर हुन सक्दैन,’ उनले भने, ‘एकातर्फ प्रजनन स्वास्थ्य त जटिल हुने देखिन्छ त अर्कोतर्फ पढाइ पनि छोड्ने दर यसरी पनि बढेको छ ।’ सहिदभूमि गाउँपालिकामा पनि यो समस्या जटिल रूपमा रहेको छ । ९, १० कक्षा पढदै विवाह बन्धनमा बाँधिने जोडी प्रशस्तै पाइने गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । एसईई दिएर जोडी बाँधिने त सामान्य हुने उनको भनाइ छ । २० वर्ष कम उमेरका जोडीको विवाह दर्ता नहुने भएपछि यसको आधिकारिक विवरण नभएको उनले बताए । टोल विकास संस्था गठन गरेर बालविवाह न्यूनीकरणमा आफूहरू जुट्ने उनी बताउँछन् ।

१० हजारले गरे बालविवाह
जिल्लामा बालविवाह गर्नेको संख्या स्थानीय तहमा यकिन छैन । तर, सामुदायिक विकास मञ्च नेपाल नामको संस्थाले गरेको सर्वेक्षणअनुसार जिल्लामा ९ हजार ४ सय ४१ जना १५ देखि १९ वर्ष उमेरका जोडीले विवाह गरेको तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा विवाहितमध्ये १५ देखि २० वर्षमुनिका बालबालिका झन्डै १० हजार नजिक रहेको बालअधिकारकर्मी टिका लिंखाले बताए । जसमा, महालक्ष्मी नगरपालिकामा १ हजार ६ सय, पाख्रिबासमा १ हजार ३ सय ३७, छथरजोरपाटीमा १ हजार २ सय ३७, सहिदभूमि गाउँपालिकामा १ हजार ७४, धनकुटा नगरपालिकामा १ हजार ८ सय ५३, साँगुरीगढी गाउँपालिकामा १ हजार २ सय ९४ र चौबिसे गाउँपालिकामा १ हजार ४६ जना छन् ।तीमध्ये आधाजसो विद्यालय तहमा विवाहित छन् । ‘जिल्लामा यो तथ्यांक नियाल्दा बालविवाहको विकराल अवस्था हो,’ उनले भने, ‘स्थानीय तहदेखि बालबालिकाको क्षेत्रमा क्रियाशील सबै पक्षले न्यूनीकरणका लागि जुटिहाल्ने परिस्थिति आएको छ ।’ राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा १८ वर्ष मुनिको जनसंख्या कुल जनसंख्याको ३९ दशमलव ३ प्रतिशत रहेको छ । जिल्लामा बाल क्लब क्रियाशील छ । तर, बालविवाह न्यूनीकरणतर्फ आवश्यक रूपमा जुट्न नसकेको क्लबका अध्यक्ष सम्राट मानन्धर बताउँछन् । धनकुटा ९ मार्गमा एकपटक बालविवाह न्यूनीकरणकोबारे सचेतना कार्यक्रम गरेबाहेक अरू केही गर्न समय नमिलेको उनले बताए । जिल्लामा बालमैत्री स्थानीय शासनको घोषणा गर्ने तयारी गरिँदै छ तर यस्तो विकराल अवस्था न्यूनीकरण नगरी घोषणा गर्नुको औचित्य नहुने स्थानीय बताउँछन् ।

२०७६ साउन २३ गते ८:४८ मा प्रकाशित