कलिलैमा आमा बन्छन् चेपाङका चेली
चितवनको राप्ती नगरपालिका-१२ धनवाङ गैरीकी रक्षा चेपाङ भर्खर १७ वर्षमा लागिन्। कक्षा ६ मा पढ्दापढ्दै गतवर्ष मंसिरमा उनले प्रेमविवाह गरिन्।अहिले उनी गर्भवती छिन्। तर, उनलाई गर्भवती हुँदा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषयमा जानकारी छैन। अहिले उनलाई के गर्ने र कसो गर्ने भन्ने चिन्ता छ। किनकि चेतना अभावले गर्दा उनले आफ्नो स्वास्थ्यमा ख्याल गर्न सकिरहेकी छैनन्। राप्ती १३ तापाङकी कविता चेपाङ बल्ल १९ वर्षकी भइन्।तर, उनको दुई छोरी छन्। चौदिन माइत भएकी उनको एकदिन घरमा फूपू माइत आएको बेला फूपूसँगै आएको केटासँग चिनजान हुन पुग्यो। त्यसको करिब छ महिनापछि उनले त्यही केटासँग आफूखुसी विहे गरिन्, त्यो पनि १५ वर्षको कलिलै उमेरमा।झोला बोकेर स्कुल क्याम्पस जाने उमेरमा अहिले उनी दुईतिर दुई सन्तान झुण्ड्याएर हिँड्न बाध्य छिन्। सामान्य खेतीपातीकै भरमा घर धान्दै आएकाले बुबा आमालाई बढी दुःख भयो भनेर सानै उमेरमा बिहे गरेको बताउँछिन् कविता। दुई सन्तान हुर्काउनै मुस्किल परिरहेको बेलामा उनको पेटमा अर्को पनि शिशु हुर्किइरहेको छ।
सानैमा विवाह गरे पनि गर्भ रोक्ने सामान्य ज्ञानसमेत नहुँदा २० वर्ष नपुग्दै तीन सन्तानको आमा बन्दैछिन् उनी। रेउती गाउँकी उर्मिला चेपाङ पनि बल्ल २० वर्षकी भइन्। १४ वर्षमै विवाह गरेकी उनले १५ वर्षमा छोरी जन्माइन्। कक्षा ४ सम्म पढेकी उनको काखमा ४ वर्षको छोरो छ भने यही साउनमा अर्को बच्चालाई धर्तीमा पाइला टेकाउँदैछिन्। घरको आर्थिक स्थिति कमजोर भएपछि बुबा आमाकै सल्लाहमा विवाह गरेकी उनलाई अहिले बालबच्चाको लालनपालनमा समस्या भएको छ। तर, उनको मनमा पछुतो भने लागेको छैन। उनी ढुक्क भएर भन्छिन्, सबै यसैगरी चलिरहेकै छन्, त्यही भएर सानै उमेरमा विवाह गरे पनि मलाई कुनै पछुतो छैन। विपन्न चेपाङ समुदायमा बालविवाहको समस्या व्याप्त छ। विवाहपछि वर्षेनि बच्चा जन्माउने यो समुदायको संस्कृति जस्तै बनेको छ। चेतना भएर पनि त्यसलाई लागू नगरिदिँदा यो समस्या हरेक वर्ष दोहोरिने गरेको लोथर स्वास्थ्य चोकीकी इञ्चार्ज शुष्मा बस्यालले बताइन्।गाउँगाउँमा पुगेर जनचेतना फैलाए पनि कार्यान्वयन नगरिदिँदा समस्या जस्ताको त्यस्तै छ भएको उनले बताइन्। नेपालको कानुनी प्रावधान अनुसार २० वर्ष नपुग्दै विवाह गर्न नपाइने प्रावधान छ। तर, यो समुदायको लागि नेपालको कानुनले अहिलेसम्म छुनसम्म पनि सकेको छैन। जसले गर्दा १४ वर्षमा विवाह गरेर १५ वर्षमा आमा बन्ने परम्परा अझै पनि कम हुन सकेको छैन। ुजनचेतना फैलाउनको लागि सरकारले हरेक वर्ष विभिन्न खालका कार्यक्रम ल्याए पनि व्यक्ति स्वयम् सक्षम नभएसम्म समस्या समाधान गर्न गाह्रै छ,ु राप्ती १२ का वडाअध्यक्ष अर्जुन प्रजा भन्छन्, ुदिनभरी गाउँमा यही विषयमा कार्यक्रम गरिन्छ भोलि बिहान भागेर विवाह गरेको खबर सुन्छु। सबैभन्दा ठूलो समस्या शिक्षाको अभावले गर्दा बालविवाह रोक्न नसकिएको उनले बताए। विद्यालय टाढा र भएको विद्यालयमा पनि शैक्षिक गुणस्तर कमजोर हुँदा बालबालिकाले स्कुल पढ्ने उमेरमै विवाह गर्ने परम्पराजस्तै बनेको उनको भनाइ छ। सरकारले चेपाङ समुदायको स्तरवृद्धिका लागि शैक्षिक क्षेत्रमै लगानी बढाउनुपर्ने उनी बताउँछन्। गामबेँसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माका अनुसार सरकारले आवासीय सुविधासहितको विद्यालय स्थापना नगरेसम्म चेपाङ बालबालिकाले उचित शिक्षा पाउन सक्दैनन्। साँझ बिहानको छाक टार्न घरमा एक गेडो अन्न छैन। अनि केटाकेटी दिनभर भोकै विद्यालय जान कसरी सक्छन् र रुु सरकारप्रति प्रश्न तेस्र्याउँदै भने, जबसम्म चेपाङ बालबालिकाको पेट भरिँदैन। तबसम्म शिक्षाले दिमाग भराउन सकिँदैन।
२०७५ असार २६ गते ३:५४ मा प्रकाशित