समाचारमा बालबालिका

बालविवाहविरुद्ध घुर्नी

चौध वर्षको उमेरमै उनको विवाह भयो । माइतीघर सप्तरी हरिपुरबाट घलेटोल अन्माएर पठाउँदा उनलाई दुलही बनेको हेक्कै भएन । अर्काको घरमा कलिलै उमेरमा जब बुहार्तन सहनुपर्‍यो, बल्ल थाहा भयो विवाह भनेको के रहेछ भन्ने । जनवन (ज्याला मजदुरी) मा खटिनु, घरधन्दा अनि पति, सासु, जेठाजुको खटपटनमा बस्नुपर्दा निरक्षर उनलाई समस्या भयो । लहान नगरपालिका–१३ घलेटोलकी घुर्नी मण्डल खत्वे १५ वर्षको उमेरमै आमा बनिन् । छोरी मञ्जुलाई लहान अस्पतालमा जन्माउँदाको पीडा उनी अहिले पनि भुल्न सक्दिनन् । छोरी जन्मिएसँगै छारे रोगले पनि उनलाई गाज्यो । तीन वर्षपछि छोरा कौशल जन्माइन् । तिनै घुर्नी मण्डल अहिले आफ्नो क्षेत्रमा बालविवाहविरुद्धको अभियानमा खटिएकी छन् । मधेसी समाज, घरको बुहार्तन र गरिबीको कारण चाहेर पनि पहिला उनी स्वतन्त्र रुपमा हिँडडुल गर्न सक्दिनथिइन् । तर, जब उनी आफ्नै गाउँमा गठित महिला अधिकार मञ्चको सदस्य बनिन्, त्यसपछि बालविवाहविरुद्ध सक्रिय हुन थालिन् । ‘सुरुमा दलित जनकल्याण युवा क्लबद्वारा सञ्चालित रिफ्लेक्ट कक्षामा सहभागी भएँ,’ उनले भनिन् ‘त्यहाँ अक्षर चिन्न र महिला अधिकार, बालविवाहका बारेमा जानकारी भएपछि साहस बढ्यो ।’ आफ्नो दुस्खपूर्ण विगतले पनि महिला अधिकारका लागि लड्ने प्रेरणा मिलेको उनले बताइन् ।उनकै पहलमा महिला टोलीले ७ वटा बालविवाह रोक्न सफल भइसकेको छ । सुरुमा एक्लै अभियानमा सक्रिय घुर्नीसँगै रिक्मा विक, कुमारी मण्डल, राजो, सुनिता, कौशिल्या, रतन, देवकुमारी मण्डल लगायत १६ महिला सहभागी छन् । ‘सुरुमा घरको सासु, जेठाजु र पति रामलखनले तालिम, भेलामा जान रोक्थे, तर विस्तारै सम्झाउँदै गएपछि कुरा बुझ्न थाले । अहिले गाउँ टोलदेखि बाहिरी जिल्लाहरू जानु पर्दा समेत कसैले रोक्दैनन् ।’ उनले आफ्नी छोरी मञ्जुको विवाह पनि २२ वर्षको उमेरमा गरिदिएको बताइन् । बालविवाह रोक्दा अभिभावक रिसाए पनि छोरीचेली खुसी भएको देखेर चित्त बुझाउने गरेको उनले सुनाइन् ।महिला टोलीले गाउँ–गाँउमा संयुक्त लालपुर्जा सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत चलाएको छ । सम्पत्तिमा पतिपत्नी दुवैको अधिकार हुनुपर्ने भन्दै टोलीले २० जोडीको संयुक्त लालपुर्जा बनाउन सफल भएको घुर्नीले बताइन् । उनी अहिले जिल्ला महिला अधिकार मञ्च, सिरहाको सदस्य छिन् । 

चार बालविवाह रोकिए
प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानलाई सघाउँदै सिरहा प्रहरीले कानुनविपरीत हुन लागेका बालविवाह रोक्न थालेको छ ।फागुन १८ मा कल्याणपुर नगरपालिका–१ का सुरेन्द्र मण्डलकी १८ वर्षीय छोरीको विवाह प्रहरीले रोक्यो । माघ २९ मा मिर्चैया नगरपालिका–१ का १८ वर्षीय सुरेश कुमार महरालाई पनि विवाह नगर्न भनियो ।प्रहरीले बालविवाहको घटना न्यूनीकरण गर्न भन्दै सुरेशका अभिभावकलाई सचेत गराई विवाह रोकेको थियो । प्रहरी सक्रियतामा पछिल्लो दुई महिनामा सिरहाका कर्जन्हा, मिर्चैया र कल्याणपुर नगरपालिका क्षेत्रमा हुन लागेका चारवटा बालविवाह रोकिएका छन् ।बालविवाह रोकिनेमा कर्जन्हा नगरपालिका–६, बेतहाका रिझन मुखियाकी १५ वर्षीया छोरी रन्जु र मिर्चैया–५ का बोहरा मण्डलकी छोरीसमेत छिन् । रन्जुको धनुषा यदुकुहा नगरपालिका सिमराढीका अजय मुखियासँग विवाह हुन लागेको थियो । २० वर्ष उमेर नपुगी विवाह भइरहेको स्थानीयबाट जानकारी पाएपछि विवाह गर्न रोक लगाएको प्रहरीले जनाएको छ । सिरहा प्रहरीले माघ र फागुनमा मात्र सातवटा बालविवाह रोकेको छ । प्रहरीले दुलाहा–दुलहीका अभिभावकलाई बालविवाह कानुनी रुपमा अपराध भएको र गराए कानुनी कारबाही हुने भन्दै सचेत गराएपछि विवाह रोक्न उनीहरू सहमत भएका थिए ।२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा सिरहामा १, महोत्तरीमा ३, बारा, रौतहट र धनुषामा १/१ वटा बालविवाहका घटना भएका थिए । त्यसैगरी आव २०७४/०७५ मा पर्सामा ४, सप्तरीमा २, महोत्तरी, धनुषा र सिरहामा १/१ गरी ७ बालविवाह भए । यो क्रम बढेर गत आवमा ती जिल्लामा २७ बालविवाहका घटना भए । जसमध्ये सबैभन्दा बढी सिरहामा १०, धनुषामा ६, महोत्तरीमा ४, बारा, सप्तरीमा २र२, पर्सा, रौतहट, सर्लाहीमा १र१ वटा बालविवाह भए । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले केटाकेटीको विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । २० वर्ष नपुगी विवाह गरेमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सोही ऐनले मन्जुरीविना विवाह गरे वा गराएमा विवाह स्वत स् बदर हुने र त्यस्तो विवाह गर्ने र गराउनेलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

२०७६ फागुन २२ गते ९:३६ मा प्रकाशित