समाचारमा बालबालिका

उमेर नपुगि भागी विवाह गर्दा मुद्दा

प्रेम सम्बन्ध भएपछि १६ वर्षीया किशोरीलाई भगाएका तुर्माखाँद गाउँपालिका ८ पुनेपाटाका २० वर्षीय गोपाल बिकलाई प्रहरीले अपहरण तथा जवरजस्ती करणी मुद्दा चलाएको छ । प्रेम भएपछि विवाह गर्ने उदेश्यले उनीहरु भागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । ‘दुवैबीच प्रेम रहेछ,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले भने, ‘दुवैजना विवाह गर्ने उद्देश्यले भागेको देखिएपनि कानूनले त्यो मान्दैन । विवाह गर्ने उमेर नपुगेकाले मुद्दा चलाएका हौं । केटाकेटी दुवै आफुखुसी विवाह गर्ने निर्णय गरी भागेर भारततर्फ जान लाग्दा डोटीको सिमा चौखुट्टेबाट उनीहरु पक्राउ परेका थिए । पक्राउ परेपछि केटी पक्षले अपहरण र जबरजस्ती करणी अभियोगमा जाहेरी शाहीले बताए । दुवैको राजीखुसी देखिएपनि कानुनी जटिलताले केटा नै दोषी देखिन्छ,’ उनले भने । ९ भदौ ०७५ मा जिल्लाको रामारोशन गाउँपालिकाका हर्कबहादुर साउँदले पनि विवाह गर्ने निधो गरेर केटी भगाएका थिए । केटीका आफन्तले दिएको उजुरीको आधारमा उनले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धि मुद्दा खेप्नुपर्‍यो । झन्डै नौ महिनापछि जिल्ला अदालत अछामले उनलाई सफाई दिएको थियो । उमेर नपुगी आफुखुशी विवाह गर्न नपाइने भएकाले उजुरी आएपछि बन्धक, अपहरण तथा बलात्कार गरेको अभियोगमा मुद्दा चलाउनुपर्ने बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । त्यस्तो घटनामा परेकाहरुलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने गरिएको उनले बताए।

२०७६ भदौ १८ गते २:१३ मा प्रकाशित