समाचारमा बालबालिका

पानी ढुवानीमा बालक प्रयोग

प्रदेश २ को मन्त्री क्वाटरमा खानेपानीको जार बोकेर तीन बालक टेम्पोमा पुगे । उनीहरू मन्त्रीको गेटमा पुग्दा सुरक्षाकर्मीले समेत राकेनन् । सडकमा लाइसेन्स चेक गर्ने प्रहरी उनीहरूको लाइसेन्स र उमेर पनि सोध्दैनन् । प्रदेश २ मन्त्रीको आवासमा पानी पुर्‍याउने र खाली जार फिर्ता ल्याउन खानेपानी कम्पनीले बालक खटाएका छन् । टेम्पोमा पानी लिएर सामाजिक विकास मन्त्रीको निवास अगाडि रजौलका तीन बालक भेटिए । उनीहरूको उमेर १० देखि १२ वर्ष उमेर हाराहारीको छ । कक्षा ७ मा पढने अभिनास पानी उद्योग बन्द भएको बेला मात्र पढ्न विद्यालय जान्छन् । पानी उद्योगबाट मन्त्री निवाससम्म पानी पुर्‍याउने र जार फर्काएर ल्याउने उनीहरूको दैनिकी छ । जनकपुरको घर र कार्यालयमा खानेपानी पुर्‍याउने काममा पनि बालकको प्रयोग बढी छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को परिच्छेद–२ मा बालकलाई काममा लगाउन निषेध गरिएको र कसैले पनि १४ वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकका रूपमा काममा लगाउनु पाउँदैन । बालश्रम ऐन, २०५६ को परिच्छेद ३ को ७ नं. मा कुनै पनि प्रतिष्ठानले बालकलाई श्रमिकका रूपमा काममा लगाउनुअघि त्यस्तो बालकले श्रमिकका रूपमा काम गर्न सक्ने योग्यताको प्रमाणपत्र लिनुपर्नेछ उल्लेख छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को परिच्छेद–५ मा कसैले दफा ३ को उपदफा ९१० विपरीत काम गरेमा निजलाई तीन महिनासम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । तर, प्रदेश २ का मन्त्री निवासमा बालश्रम ९निषेध र नियमित गर्ने० ऐन विपरीत पानी उद्योगले बालमजदुरलाई खानेपानी पुर्‍याउन काममा लगाएको छ ।

जनकपुर जिरोमाइलका ७ वर्षीय र उनका साथी कक्षा २ का विद्यार्थी हुन् । तर, उनीहरू विद्यालय जाँदैनन् । बिहान उठनासाथ सडक र फोहोरमा फालिएको कवाडी सामान बटुल्छन् । तीनै जनाको आफूभन्दा भारी तौलको ठेला–रिक्सा पेल्दै फोहोरबाट प्लास्टिक, फलाम र बिक्री हुन सक्ने धातु संकलनमा जुट्छन् । खाली खुट्टा फोहोरबाट कवाडीका सामान निकाल्न जाँदा खुट्टा काटिन्छ । तर, उनीहरू त्यो जोखिम सधैं मोल्छन् । प्लास्टिकको ब्यान्डेज बाँधेर रिक्सा ठेल्दै कवाडी सामान संकलन गरी बेचेर गुजारा चलाउँछन् । उनीहरूलाई पढनुपर्छ भन्ने मनमा छ । तर, विद्यालय पढन गए खाने के भन्ने चिन्ता छ । जनकपुरकै रामानन्द चोकको पिलरनजिक चाउचाउ खाँदै भेटिएका बालकहरूले भने, ‘बिहान कवाडी सामान बेचेर चाउचाउ र साँझ च्युरा–मासु खाएर बचेको पैसा आमाबुवालाई दिन्छु । बिक्री नभएको कवाडीका सामान बुवाकै कवाडीमा दिन्छु । बिहानको जाडोमा पातलो फोहोर सर्ट, पाइन्ट र खाली खुट्टाले ठेला कुदाउने तीनै जना दिनमा एक हजारसम्मको आम्दानी गरी बाँडफाँड गर्छन् । दिनभर दुःख गरेर कमाएको पैसा खाएर सकिने गरेको अमितले बताए ।

होटलमा पनि बालमजदुर
जनकपुरका होटलहरूमा पनि बालकको प्रयोग बढ्दो छ ।होटलको सरसफाइ, खाना, नास्ता पस्किन र भाँडा मस्काउन बालकको प्रयोग गरिएको छ । बिहान होटेल खुलेदेखि राति पसल बन्द नहुन्जेलसम्म बालमजदुर थकाइ समेत मार्न पाउँदैनन् । बालकहरूको होटेलमा काम गर्नु रहर नभएको बताउँछन् । जनकपुरको होटेल, चियापसल, खाजा पसल, ग्यारेज, अन्य पसल, कलकारखाना, निजी घरमा बालबालिकको प्रयोग बढ्दो छ । गरिब परिवारमा खान लगाउन र बस्ने समस्या भएपछि आमाबुवाले नै यस्ता काममा बालकहरूलाई लगाउने गरेको पाइन्छ । खान र बस्न दिएपछि कम पारिश्रमिकमा दिनभरि काम गर्ने भएकाले होटल सञ्चालकले बालबालिकाहरूलाई होटेलमा काम लगाउने गरेका छन् ।रातदिन काम गर्दा पनि बालकहरूले ५ हजारसम्म तलव पाउँछन् । होटेलमा काम गर्ने बालकका समस्या र परिवारको अवस्था कहालीलाग्दो छ ।जनकपुर उपमहानगरपालिकामा होटेलमा काम गरिरहेको बालबालिकाको संख्या यकिन हुन नसकेको सामाजिक शाखा प्रमुख गणेश प्रसादयादवले बताए।

२०७५ फागुन १७ गते १०:५५ मा प्रकाशित