कलिलो थाप्लोमा दुःखको भारी
पाँच किलोभन्दा बढी विद्युतीय सजावट सामग्रीको भारी टाउकोमा बोकेर १३ वर्षीय अजय साह साथीसँग लहरै वैवाहिक कार्यक्रममा गइरहेका भेटिए। उनकै उमेर समूहका ६ जना अरू बालक पनि टाउकोमा भारी बोकेर धनुषाको जनकपुर उपमहानगरपालिकाको महावीर चोकमा बिहेको कार्यक्रममा सजावटका लागि गइरहेका थिए। एकबाट अर्को लाइटमा तार जोडेर सञ्चालन गरिने भएकाले यी बालक एकसाथ हिँड्नुपरेको हो। उनीहरूको शारीरिक उचाइ पनि लगभग एकनासकै देखिन्थ्यो। यसरी विद्युतीय सामग्री बोकेर बिहेमा सजावटका लागि जाने गरेको उनीहरू सुनाउँछन्।घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले यस्तो काम गर्दै आएको अजयले बताए। ‘हामीले तीन–चार घण्टाजति लाइट बोक्नुपर्छ, यसबापत साहुले अढाई सयदेखि ३ सय रुपैयाँसम्म दिने गर्छन्’, उनले भने, ‘यसरी कमाएको पैसाले पढाइको खर्च हुन्छ। परिवारलाई सहयोग गर्छौं। कतिपयले विद्यालय पोसाक र किताबको झोला बोकेरै साहुको निर्देशनबमोजिम वैवाहिक स्थलमा पुग्ने गर्छन्। बिहेका बेला झिलिमिली सजावट गर्न प्रयोग हुने विद्युतीय सामग्री बोकाउनका लागि १३ देखि १५ वर्षका बालकलाई काममा लगाउने गरेको पाइएको छ। बल्दै गरेको लाइट टाउकोमा राखेर जन्तीसँगै दुवैतर्फ लहरै हिँड्ने गरेका यी बालकको ज्यान जोखिममा हुने गर्दछ। सीधै करेन्ट प्रवाह हुने भएकाले उनीहरूको ज्यान जोखिममा रहेको जनाइएको छ। तर, बिहेको चटारोले गर्दा यस्तो काम गराउनेहरूले बालकको जीवनप्रति ध्यान नदिने गरेको अधिकारकर्मी उर्मिला यादव बताउँछिन्। उपमहानगरपालिकामा बिहे सिजनमा यसरी टाउकोमा लाइटको भारी बोकेर हिँड्दै गरेका बालबालिका देखिन्छन्। तर, यस्तो जोखिमपूर्ण कामबाट उनीहरूलाई टाढा राख्न न प्रदेश सरकारले कुनै चासो लिएको छ न त स्थानीय सरकारले नै। प्रदेशका मन्त्रीहरूले बाल मजदुरीको विरोध र सबै बालबालिकालाई शिक्षामा समान पहुँचको भाषण दिने गरे पनि कार्यान्वयन हुन सकेको देखिएको छैन।
२०७५ असार ३१ गते १०:५७ मा प्रकाशित