समाचारमा बालबालिका

कलिला काँधमा इँटाको भारी

पढ्ने उमेरका बालबालिका विद्यालय जान छाडेर जोखिमपूर्ण श्रममा होमिएका छन् । नेपालगन्जमा सञ्चालित अधिकांश इँटा उद्योगमा बालबालिकालाई काममा लगाइएको छ । ८ देखि १५ वर्षसम्मका बाल मजदुरमध्ये केही भारतीय छन् । नेपालगन्ज उपमहानगरपालिकाले बालश्रममुक्त क्षेत्र घोषणाका लागि गरेको अनुगमनमा इँटा उद्योगमा बालमजदुरी देखिएको हो । बिहान ५ देखि साँझ ८ बजेसम्म काम लगाइने बालबालिकालाई मासिक ३ हजारदेखि १० हजार रुपैयाँसम्म पारिश्रमिक दिइने गरेको छ। नेपालगन्ज १३ मा रहेको अमन इँटा उद्योगमा २० बाल मजदुर छन् । तीमध्ये अधिकांश भारतीय हुन् । उनीहरू आमाबुबासँगै आएका हुन् । उदयपुरस्थित इँटा उद्योगमा पनि थुप्रै बाल मजदुर रहेको अनुगमनकर्ताले बताएका छन् । १२ घण्टाभन्दा बढी समय काममा खटाइएकाले बालबालिकाको शारीरिक अवस्था कमजोर रहेको उनीहरुले जनाए। जिल्लाभरि सञ्चालित इँटा उद्योगमा बाल मजदुर छन् ।

कानुनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । कामदारका ठेकेदार रहमद अलीले नेपालमा काम खोज्दै आएका भारतीयले उद्योगमा काम गर्दै आएको बताए । उनका अनुसार अभिभावकसँग रहेका बालबालिका पनि उनीहरूसँगै काममा लाग्ने गरेका छन् । बुग्गी चलाउने र इँटा बोक्नेको पारिश्रमिक फरकफरक हुने गरेको अलीको भनाइ छ । महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाहले नेपालगन्ज उपमहानगरले बालश्रमिकको अवस्था अनुगमन गरिरहेको जानकारी दिइन् । उनका अनुसार अनुगमनपछि बालबालिकाको उद्धार गरिनेछ । ‘नेपाली बालबालिकालाई उद्धार गरी अभिभावकको जिम्मा लगाउँछौं । भारतीय बालबालिका छन् भने त्यहाँका सरकारी अधिकारीलाई बुझाउँछौं,’ उनले भनिन्, ‘अभिभावक नभएका बालबालिकालाई बालगृहमा राख्ने व्यवस्था मिलाउँछौं । नेपालगन्ज–१३ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले जनशक्ति अभाव भएकाले उद्योग सञ्चालकले बालबालिकालाई प्रयोग गरेको बताए । बढीजसो आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका उद्योग ल्याइन्छन् । ‘बाल मजदुरको प्रयोग बढी नै भइरहेकाले न्यूनीकरण गर्न लागेका छौं,’ उनले भने ।

 २०७४ फागुन १६ गते ७:०१ मा प्रकाशित